• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

बागलुङ महोत्सवको तयारी तिब्र

बागलुङ । खस्कदै गरेको व्यापार बढाउने उद्देश्यले बागलुङकै सबैभन्दा ठूलो मेलाको रुपमा लिएको बागलुङ महोत्सव नजिकिदै गर्दा तयारीलाई तिब्र बनाइएको छ । बाङ्गेचौर खेल मैदानमा रमाइलो मेलाका सामाग्री झरी सकेका छन् भने बागलुङ बजार तुल व्यानरले झिलिमिलि बनाउन थालिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाएको छ ।

महोत्सवले बागलुङको व्यापारमा सघाउने लक्ष्य लिइएको छ । सात वटा महोत्सव बागलुङ बजारको मुटु धौलागिरी क्याम्पसमा गरिदै आइएको थियो भने यस पटकबाट बाङ्गेचौर खेल मैदानमा गर्न थालिएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । अध्यक्ष राजनकुमार शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास थालिएको बताउनुभयो । उहाँले महोत्सवमा यानीमाया, सोरठी जस्ता नृत्य देखाइने छ भने नेवारी समुदायका विभिन्न झाँकी प्रदर्शन गरिन बताउदै अहिले प्रचार प्रसालाई तिब्र बनाइएको बताउनुभयो । पर्यटनको प्रर्बद्धन, जिल्लाको विकास निर्माणमा महोत्सवले सघाउने शाक्यको भनाई छ । महोत्सवमा ८ लाख देखि १० लाख दर्शकले अवलोकन गर्ने र १० करोड माथीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवको मुनाफाबाट कोसेली घर व्यवसिथत गर्ने, सडक मानवमुत्तः नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रति टिकट रु.१० रुपैया सहयोग गर्ने, खेलकूदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य संघबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख जम्मा गर्ने लगायतका सामाजिक उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा झण्डै रु. एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर रु.५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिनुभयो । महोत्सवलाई बागलुङको व्यवसाय प्रबद्र्धनसंग जोडिने छ भने महोत्सवमा अउने पर्यटकलाई बागलुङ बजार नजिकका पर्यटकीय स्थल भ्रमणको व्यवस्था मिलाइनेछ ।
महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय भागो, गुन्द्रुक जस्ता उत्पादनको प्रचार–प्रसार गर्ने गतिविधि सञ्चालन हुनेछन् । त्यस बाहेक डिजिटल विज्ञापन, अंग्रेजी नयाँ वर्षको अवसरमा डिजे कन्सर्ट, सुन्तला प्रदर्शनी र स्थानीय खानाका परिकार प्रदर्शन गरिने योजना पनि संघले बनाएको छ ।

महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामाग्री प्रर्दशनी राखिने छ ।