• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

‘धान्द्रुके बाजे’ले पाए ८३ वर्षमा पहिचान

बागलुङ । सानै उमेरमा बाँसका सामाग्री निर्माण गर्न बागलुङको भकुण्डे आउनुभएका एक वृद्धले जीवनको उत्तराद्र्धमा आएर पहिचान पाउनुभएको छ ।

नाम र जन्म ठाउँको टुङ्गो नलागेका ‘धान्द्रुके बाजे’ उपनामले चिनिले गरेको थिए । उहाँको बागलुङ नगरपालिकाको पहलमा ८३ वर्षको उमेरमा नागरिकता पाउनुभएको छ । उहाँले नागरिकता पाएपछि पहिलो पटक रु. ८ हजार वृद्धभत्ता समेत प्राप्त गरिसक्नुभएको बागलुङ नगरपालिकाको पञ्जिकरण शाखाले जनाएको छ ।

लामो समयदेखि बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएको, बोल्न नसक्ने र परिवार समेत सम्पर्कमा नआएका कारण अहिले सम्म पहिचान बिहिन भएर बस्नुपरेको जानकारी पछि नागरिकता दिलाउन थालिएको पहलले सार्थकता पाएको हो । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित भएपछि बागलुङ नगरपालिकाको कार्यापालिकाको निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासनक कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

“सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँको धान्द्रुके बाजे भनेर गाउलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकका नागरिकता लिनुभयो, पहिलो पटक २०८३ वर्षको उमेरमा आठ हजार बृद्धभत्ता प्राप्त गर्नुभएको छ” खड्काले भन्नुभयो “नगरपालिकाले कार्यपालिकाको निर्णयपछि जिल्ला प्रशासनले संरक्षक राखेर अन्दाजी उमेरका आधारमा नागरिकता दिइएको हो ।”

जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका वृद्धको जीवनको उत्तराद्र्धमा पुग्दा चन्द्र बहादुर थापाको नामाकरण र भकुण्डे नै बासस्थान मानेर नागरिकता दिइएको थियो । शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्धले पहिचान पाउनुभनेको अनागरिक भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको खड्काको भनाई छ । उहाँको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको थियो । लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लिएर बस्दै आएका उहाँलाई स्थानीयले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका थिए । सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाका सामग्री बनाएर पेट पाल्दै आएका उहाँको उमेर बढ्दै जाँदा पछिल्लो समय हिँडडुलमा समेत बाधा पुग्न थालेको देखिएको छ ।

स्पष्ट बोल्न नसक्ने उनी अहिले स्थानीय नरमाया थापाको घरमा आश्रय लिएर बसेका छन् । नरमायाकै संरक्षकत्वमा नागरिकता प्रदान गरिएको हो । “हाम्रो घरमा बस्न लागेको ४० वर्ष जति भयो, उहाँलाई धान्द्रुके बाजे भने पनि धान्द्रकुमा उहाँको कोही आफन्त पत्ता लागेको छैन, नागरिकता बनाउन यस अघि समेत पहल थालिएको थियो, तर यस पटक बागलुङ नगरपालिकाले नै समन्वय गरेपछि नागरिकता पाउनुभयो हामी पनि खुसी भएका छौं, धान्द्रुके बाजे अब चन्द्र बहादुर थापा हुनुभयो” थापाले भन्नुभयो “पहिला त निकै काम गर्नुहुन्थ्यो, अहिले अलि सक्नुहुन्न, बुढो भइसक्नुभयो, वृद्धभत्ताले उहाँको पालनपोषणमा सहयोग पुग्ला ।”

बुढेसकालमा सहाराविहीनको नामकरण भएपछि भकुण्डेबासी नै खुसी भएका छन् । भकुण्डेमा बस्दै आएका वृद्ध रेश, सिगाना र रायडाँडासम्म पुगेर चोयाका सामग्री बनाउने गरे पनि अहिले शारीरिक रूपमा कमजोर भइसकेका छन् । उहाँले जिवनको उत्तराद्र्धमा एउटा परिचय पाउनु भनेको राज्य भएको महसुस गर्नु भएको भन्दै स्थानीय नर बहादुर थापाले खुसी व्यक्त गर्नुभयो । उहाँले ८३ वर्षको उमेरमा न्वारन भएको बताउनुभयो । अभिभावक नभएकाको संरक्षक रहेर नागरिकता दिने व्यवस्थामा नगरपालिकाको कार्यापालिका निर्णयलाई आधिकारिकता मानेर नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।