• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

रोचक बागलुङ एक : तेस्रो प्रयासमा केसी, इतिहास रच्ने दाउमा नयाँ उम्मेदवार

बागलुङ । बागलुङ क्षेत्र नम्बर एकको प्रतिनिधिसभा निर्वाचन रोचक बन्ने देखिएको छ । एक प्रतिनिधिसभा सदस्यका लागि ११ दलका ११ जना उम्मेदवार चुनावी दौडमा छन् । जसमध्ये तेस्रो प्रयासमा एमालेका नेता हिरा केसी छन् भने अन्य उम्मेदवार इतिहास रच्ने दाउमा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङ १ नम्बर निर्वाचन क्षेत्र जिल्ला सदरमुकाम समेत जोडिएकाले अझै यहाँको चुनाव पेचिलो बन्ने गरेको छ । आफ्नो विरासत जोगाउँने दाउरमा रहेका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चालाई नयाँ दल तथा उम्मेदवार चुनौतीका रुपमा आएका छन् । बागलुङमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेर चुनावमा होमिएको छ ।
बागलुङ क्षेत्र नम्बर एकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।

बागलुङ क्षेत्र नम्बर एकबाट एमालेका उम्मेदवार हिरा बहादुर केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उहाँ धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापती हुँदै एमाले बागलुङको दुई कार्यकाल पार्टी अध्यक्ष भइसक्नुभएको छ । केसीका प्रतिस्प्रर्धी नेपाली कांग्रेसका भिम श्रीस, रास्वपाका सुसिल खड्का र राजमोका कृष्ण अधिकारी पहिलोपटक चुनावमा होमिनुभएको छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापा मगरसंग एक हजार ४८० मतान्तरले पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रनु भएको छ । तेस्रो पटकमा संसद भवन छिर्ने रणनीतिमा केसी हुनुहुन्छ भने नयाँ उम्मेदवारहरु केसीलाई चुनौती दिइरहेका छन् । २०५० बाट विद्यार्थी राजनीतिबाट राजनीतिमा आउनुभएका केसी तेस्रो प्रयासमा अनुमोदन हुने आशामा हुनुहुन्छ ।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मुल राजनीतिमा आउनुभएका भिम श्रीस गगन थापाको नेतृत्वमा बनेको कांग्रेसले पहिलो पटक टिकट दिएर उम्मेदवार बनेका हुन् । श्रीस लोकप्रिय नेताको रुपमा कांग्रेसमा चिनिन्छन् ।

नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंका स्ववियू सभापति भएका थिए ।जिल्लाको राजनीतिमा कम देखिने श्रीस काठमाडौंमा बसेर राजनीतिमा क्रियाशिल रहदै आएका थिए । जैमिनी नगरपालिका–१० राङखानी निवासी श्रीस हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका हिरा बहादुर केसी धौलागिरी बहुमुखी क्याम्पस बागलुङका पूर्व स्ववियू सभापति हुन् । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी बागलुङमै बसेर लामो समयदेखि राजनीति गर्दै आउनु भएको छ । विद्यार्थी संगठनको जिल्ला, अञ्चल हुदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै २ कार्यकाल अध्यक्ष भएका केसी २०७० को दोेस्रो संधिवानसभा र २०७९ को गण्डकी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार रहेका थिए ।
यस्तै राष्ट्रिय जनमोर्चाको आधार इलाकाका समेत रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबाहादुर केसी सांसद हुनुहुन्थ्यो । केसीको विरासत धान्न राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले समेत सघाएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौंबाट राजनीति शुरु गर्नुभएको अधिकारी चित्रबहादुर केसीको निजी सचिवालयमा लामो समय काम गरिसक्नुभएको छ ।
पछिल्लो समय संगठन विस्तार अभियानलाई सक्रिय बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकामा इन्जिनियर पढेर फर्किएका युवा उद्यमी सुशिल खड्का चुनावी मैदानमा छन् । बागलुङ नगरपालिका–३ गुठी निवासी खड्का राजनीतिमा नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा उत्रेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य प्रतिस्प्रधामा आउनुभएनको छ । आचार्य बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा निवासी हुन् । आचार्य राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक र शाही गण्डकी प्रदेश समिति सदस्य छन् । यस्तै बागलुङ क्षेत्र नम्बर नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् । बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । ४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो ।