• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

  • २०८२ माघ २१, बुधबार

बागलुङ । बागलुङमा ठूलो संख्यामा अवैध हातहतियार बरामद गरिएको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले ठूलो मात्रमा अवैद्य हतियार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिवाङ मातहत बाट खटिएको ६२ थान अबैद रुपमा सञ्चालनमा रहेका हतियार बरामद गरेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन र चोरी शिकारी नियन्त्रण गर्न भरुवा बन्दुक खोजी गरी बरामद गरिएको हो । ढोरपाटन सिकार आरक्ष र विभिन्न सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको बागलुङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरिक्षक भारतीले जानकारी दिनुभयो ।

बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको पाइएको छ । इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था भएकाले भरुवा बन्दुक मानिसको पहुँच भन्दा टढा फेला परेकाले बन्दुकको मालिक पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

  • २०८२ माघ २१, बुधबार