• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

समानुपातिक सांसदमा बागलुङबाट तीन महिला

  • २०८२ चैत्र १, आईतवार

बागलुङ । प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित बनेको छ ।
बागलुङका दुई निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार सुशिल खड्का र शोम शर्मा विजयी भएका थिए । समानुपातिक तर्फ समेत रास्वपा, नेकपा र कांग्रेसबाट एक/एक महिला थापिने निधो भइसकेको छ ।

समानुपातिक तर्फ बागलुङबाट रेनुका काउचा कांग्रेसले बुझाएको समानुपातिक सूचि, बलावती शर्मा नेकपाको समानुपातिक र रास्वपाबाट गंगा छन्तायलको नाम सिफारिस भएको हो । नेपाली कांग्रेसको महिला जनजाती कोटाबाट रेनुका काउचा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को महिला खस आर्यबाट बलावती शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महिला आदिवारी जनजाती तर्फबाट गंगा छन्त्यालको नाम निर्वाचन आयोगमा सिफारिस भएको छ ।
राजनीतिक दलले समानुपातिक बन्द सूचिमा राखेका नामका आधारमा निर्वाचन आयोगमा सिफारिस गरिएको हो । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाउदा बागलुङबाट काउचा सांसद बन्ने पक्का भएको हो ।

१५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने काँग्रेसको निर्णय भएको हो । अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको हो । आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको हो ।

यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

यस्तै रास्वपाले ५७ जनाको सूची आयोगमा बुझाउँदा ४८ जना महिला र ९ जना पुरुष परेका छन् जसमध्ये बागलुङबाट गंगा छन्त्याल पर्नुभएको छ । त्यस्तै क्लस्टर अनुसार खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना रहेका छन् । यस्तै खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना परेका छन् । आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना परेका छन् । त्यस्तै मधेसीबाट ६ महिला ३ पुरुष गरी ९ जना परेका छन् । दलितबाट ७ महिला १ पुरुष गरी ८ जना, थारुबाट २ महिला २ पुरुष गरी ४ जना परेका छन् भने मुस्लिमबाट ३ मात्र परेका छन् ।

निर्वाचन आयोगले स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन् ।

  • २०८२ चैत्र १, आईतवार