बागलुङ । निर्माण व्यवसायीले काममा ढिलाई गर्दा बागलुङको एक सडक दुई पटक म्याद थप्दा समेत कालोपत्र हुन सकेको छैन ।
ठेकेदारले सरसर्ती काम गरेको भए यतिबेला बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चिल्लो भइसक्दथ्यो । दुई वर्षमा काम सक्नेगरी सम्झौता भएको निर्माण व्यवसायीले तीन वर्ष बित्दा समेत सडक सम्पन्न गर्न नसकेको हो ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत पर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति कछुवा गतिमा अघि बढ्दा स्थानीयलाई समस्या भएको छ । पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्ने गरी २०७९ भदौंमा सम्झौता गरेको सडक २०८१ भदौमा हस्तान्तरण हुनुपर्ने भएपनि दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न हुन नसकेको हो ।
बागलुङको क्षेत्र नं २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडकको ८ किमि सडक कालोपत्रका लागि गरेको ठेक्का सम्झौता मिति दुई पटक थप गर्दा समेत जम्मा ७० प्रतिशत प्रगति भएको छ । ८ किमि सडक कालोपत्र गर्नुपर्नेमा बल्ल पाँच किमि सडकको पूर्वाधार सम्पन्न भएको छ । निर्माण व्यवसायीले काममा ढिलाई गरेकाले सडक समयमै नसकिएको स्थानीय ललिता थापाले बताउनुभयो । थापाका अनुसार ठेकेदारले सडक खनेर छोड्दा धुलाम्मे भएको उहाँको भनाई छ । दुई वर्षमा सक्ने काम साढे तिन वर्षमा आधा जस्तै देखिएको थापाको भनाई छ ।
२०८२ फागुन ५ गतेसम्म म्याद थप गेरको निर्माण व्यवसायीले पुन २०८३ मंसिर सम्म म्याद थप गरेर कामलाई थप लम्बाएको देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिनुभयो ।
सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/ लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको काम कछुवा गतिमा मात्रै अगाडी बढाउदा समस्या भएको छ । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन समेत गरेका थिए । त्यसयता निर्माण व्यवसायीले थोरै मजदुर र सिमित उपकरणमात्रै फिल्डमा खटाएको छ ।
“दुई वर्षमा सडक स्तरोन्नतिसंगै कालोपत्रको काम सम्पन्न गर्नुपर्ने थियो, २०८१ सालमै सकिने सडक बल्ल कछुवा गतिमा अघि बढेको छ” इन्जिनियर लामिछानेले भन्नुभयो “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तरगत दुईपटक ठेक्का म्याद थपेपछि निर्माण व्यवसायीले थोरै मजदुर सहित काममा लागेको छ, हामीले पटक–पटक कालोपत्रका लागि ताकेता गरेका छौं, कालोपत्र गर्दा एकसाथ प्रगति बढ्छ ।”
शुरुमा भुक्तानीको समस्या देखाउदै निर्माण व्यवसायीले समयमै काम गर्न आनाकानी गरेको देखिएपनि अहिले भुक्तानीको समस्या नभएको सडक डिभिजन कार्यालयको भनाई छ । एकैपटक ठेक्का लगाएको बागलुङ क्षेत्र नम्बर एकको सिगाना सडक कालोपत्र सम्पन्न भइ हस्तान्तरण भइसक्दा उक्त सडकको भने कालोपत्रको टुङ्गो नभएको बताइएको छ । सडकको २०७९ भदौमा रु. २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नती, ढालन र कालोपत्र सक्नेगरी सम्झौता भएको थियो ।
उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ । उक्त सडक झण्डै ४० किलोमिटर लामो रहेको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
