बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाको तयारी थालिएको छ ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि अहिले सम्म गणना हुन सकेको थिएन । ढोरपाटन सिकार आरक्षमा हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी थालिएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिमप्राप्त गणक तथा स्थानीयको सहभागीता रहनेछ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेको सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने तयारी आरक्षको छ ।
“पहिलोपटक हिउँ चितुवाको अवस्था पत्ता लगाउन थालेका छौं, करिब १० जना गणकहरु ४५ दिनसम्म क्यामेरा राख्दै प्रत्यक्ष फोटो तथा भिडियो र चितुवाको पाइला र दिसा संकलन गरेपछि गणनाको रिपोर्ट तयार पारिने छ” सुवेदीले भन्नुभयो “क्यामेराले कैद गरेको फोटो र अन्य स्थलगत प्रमाणहरुका आधारमा हिउँ चितुवाको संख्या आरक्षमा कति रहेको भन्ने पत्ता लाग्दछ, आगमी वर्ष ढोरपाटनमा नाउर र झारलको समेत गणना गरिने छ ।”
ढोरपाटन सिकार आरक्षको चार हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको पाइएको छ ।
एक हजार ३२५ वर्ग कि.मि. क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । ४५ दिनमा गणना सकिने आरक्षले जनाएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ ।
रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँ चितुवाको जंगलमा भेटिएको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिन्ह तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको संख्या गणना गर्न सकिन्छ । स्थानीय पशु गोठाला लगायतले देखेको चितुवाको आधारमा समेत संख्या गणनामा सहयोग पुग्ने गरेको आरक्षको भनाई छ ।
अत्यन्त दुर्लभ र लुक्ने स्वभाव भएकाले हिउँ चितुवा गणना निकै कठिनरुपमा लिइने गरिएको आरक्षका रेन्जर सुवेदीले जानकारी दिनुभयो ।
