बागलुङ । आजभन्दा ठ्याक्कै २५ वर्षअघि बागलुङका एक युवक र युवतीले समाजले कोरेको जातीय घेराभन्दा बाहिर निस्किएर ‘प्रेम’ रोजे । त्यो समय अन्तरजातीय विवाह केवल अस्वीकृत मात्र थिएन, सामाजिक अपराधजस्तै ठानिन्थ्यो । दलित युवाले गैरदलित युवतीसँग विवाह गर्नु भनेको गाउँ–समाज नै तरंगित हुने विषय थियो । परिवार, समाज, प्रशासन, आफन्त—सबै मिलेर सम्बन्ध छुटाउन लाग्ने समय थियो त्यतिबेला ।
तर प्रेम बहादुर परियार ‘सुजन’ र सरस्वती खड्काले डरभन्दा प्रेमलाई ठूलो माने । आज उनीहरु आफ्नो वैवाहिक जीवनको २५ औँ वर्षगाँठ मनाउँदैछन् । यो केवल दाम्पत्य सम्बन्धको उत्सव होइन, संघर्ष, विश्वास, त्याग र सफलताको एउटा प्रेरणादायी यात्राको उत्सव पनि हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका सुजन र बानपा–८ सिगानाकी सरस्वतीबीच २०५७ सालमा चिनजान भयो । सरस्वती एसएलसी परीक्षा दिन बजार आएकी थिइन् । सुजन त्यतिबेला सिलाइ काम गर्दै पढाइ गरिरहेका थिए । शुरुवातको सामान्य चिनजान, केही महिनामै आत्मीय सम्बन्धमा बदलियो ।
कुराकानी हुन थाल्यो, पत्र आदान प्रदान पनि भयो । “दोस्रो पत्रमै मैले विवाहको प्रस्ताव राखेको थिएँ,” सुजन मुस्कुराउँदै भन्छन्, “सरस्वतीले स्वीकार गरिन् । त्यसपछि हामीले जीवन सँगै बिताउने निर्णय गर्यौँ ।” तर त्यो निर्णय सहज थिएन ।
२०५८ साल जेठ ९ गते उनीहरु घरबाट भागेर पोखरा पुगे । पोखरामै सरस्वतीलाई माइती पक्षले छुटाएर लगे । तर प्रेम यति कमजोर थिएन कि एकदिनमै टुटोस् । अर्को दिन सरस्वती फेरि सुजनकहाँ आइन् । त्यसपछि उनीहरु बुटवल पुगे ।
जेठ १९ गते सुजनकी जेठी आमाले मन्दिरमा उनीहरुको विवाह गराइदिइन् । घर छोडेर हिडेको दिन, जेठ ९ गतेलाई उनीहरुले हरेक वर्ष विवाह उत्सवका रुपमा मनाउदै आएका छन् । हेर्दा हेर्दै २५ वर्ष पुगेछ, त्यो बेलालाई स्मरण गर्दै सरस्वती भन्छिन्, संघर्षको पहाड छिचोलेर अगाडि बढेका हौ, अब त छोरा छोरी पनि बुझ्ने र सहयोगी भएका छन् ।
विवाहपछि सुरु भयो वास्तविक संघर्ष । बुटवलको सुख्खानगरमा कोठा भाडामा लिएर बस्दा सुजन कालीगढको काम गर्थे । तर कामको पैसा नपाउने दिन पनि आए । “चामलमा नुन र खुर्सानी मिसाएर खाएको दिन अहिले पनि सम्झना आउँछ,” सुजन भन्छन् । त्यहाँको बसाइ धेरै टिकेन । उनीहरु बागलुङ फर्किए । तर बागलुङ फर्किएपछि पनि जीवन सहज भएन । जातकै कारण कोठा भाडा नपाइने, पसल राख्न समस्या हुने, पटक–पटक धम्की आउने अवस्थाबाट उनीहरु गुज्रिए । “पैसा तिर्न सक्ने भए पनि हामीलाई कोठा दिन धेरैजना तयार हुँदैन्थे,” उनी सम्झन्छन् ।
सुजनको घरतर्फ केही सहजता आए पनि सरस्वतीको माइतीले लामो समयसम्म सम्बन्ध स्वीकार गरेन । सरस्वतीलाई माइतीले बोलाउन १२ वर्ष लाग्यो । अहिले भने दुवैतर्फ आवतजावत राम्रो छ । समाजको संरचना नै यस्तो थियो कि, माइतीले बोलाइ हाले पनि समाजले माइतीलाई नै बहिष्कार गर्लान्् कि ? भन्ने अवस्थाका कारण पनि समस्या भएको उनीहरु बताउछन् ।
संघर्षबीच पनि केही मान्छेहरुले उनीहरुलाई साथ दिए । विवाहपछिको पहिलो तीजमा हुमा कुमारी जि.सी. (अञ्जु) ले सरस्वतीलाई दर खान बोलाएको क्षण उनीहरु अझै बिर्सन सक्दैनन् ।
“त्यो दिनदेखि उहाँले तीज–दशैंमा माइतीको भूमिका निभाइरहनुभएको छ,” सुजन भावुक हुन्छन् । अञ्जु दिदीले नै २०६० सालमा कोठा खोजि दिएर आफ्नै पसल सञ्चालन गर्न प्रेरित गर्नु भएको थियो, सुजनले थपे ।
समयसँगै उनीहरुले जीवनलाई व्यवस्थित बनाउन थाले । २०५९ सालमा छोरी र २०६१ सालमा छोरा जन्मिएपछि परिवार थप मजबुत बन्यो । सुजन सिलाइ–कालीगढको काममा लागिरहे भने सरस्वतीले केही समय कस्मेटिक पसल चलाइन् ।
२०६० साल भदौबाट दुईवटा मेसिनबाट सुरु भएको उनीहरुको सिलाइ व्यवसाय विस्तार हुँदै गयो । मेहनत, इमानदारी र ग्राहकको विश्वासले “जनप्रिय टेलर्स” बागलुङ बजार मात्र होइन, धौलागिरी क्षेत्रकै परिचित नाम बन्यो । अहिले उनीहरुले कपडा पसलसमेत सञ्चालन गरिरहेका छन् ।
बागलुङ बजारमा आफ्नै घर छ । आफ्नै व्यवस्थित व्यवसाय छ । कहिल्यै सहज नभएको जीवन आज सम्मानित बनेको छ । उनीहरु भन्छन्, “हामी काममै व्यस्त रह्यौँ । त्यसैले विवाह गरेर गल्ती गर्यौँ कि भन्ने महसुस नै भएन । हाम्रो ठूलो अपेक्षा थिएन, गुजारा गर्ने सोच मात्रै थियो ।”
उनीहरुको सम्बन्धको सबैभन्दा सुन्दर पक्ष भनेको आपसी समझदारी हो । “हाम्रो ठूलो झगडा र मतभेद कहिल्यै भएन,” सुजन भन्छन् । यद्यपि समाजको विभेद भने अझै पूर्ण रूपमा अन्त्य भएको छैन । छोराछोरीले प्रत्यक्ष विभेद नझेले पनि साथीका अभिभावकले “घरमा ल्याउन हुँदैन” भनेको सुनेको उनीहरु बताउँछन् ।
तर उनीहरुमा कसैप्रति गुनासोभन्दा बढी आत्मविश्वास छ । “अन्तरजातीय विवाह सफल बनाउन आत्मनिर्भर हुनुपर्छ,” उनीहरु भन्छन्, “घर–माइतीको भरमा होइन, आफैँ सक्षम भएर संघर्ष गर्न सक्नुपर्छ ।” अभिभावकलाई उनीहरुको आग्रह छ, “छोराछोरीले विवाह गर्न चाहे सके सहयोग गर्नुस्, नसके असहयोग नगर्नुस् ।”
समाजको विभेदप्रति उनीहरुको प्रश्न अझ गहिरो छ । “हामी कुकुर–बिरालोलाई घरभित्र राखेर माया गर्छौँ, पूजा गर्छौँ । तर मान्छेलाई भने जातका आधारमा हेला गर्छौँ । मान्छे–मान्छे एउटै हुन् भन्ने भावना विकास गर्न सके विभेद रहने थिएन ।” आज विवाहको २५ वर्ष पूरा हुँदा सुजन र सरस्वती आफूहरुको यात्राप्रति गर्व गर्छन् । २५ वर्षअघि समाजले प्रश्न उठाएको सम्बन्ध आज धेरैका लागि प्रेरणाको कथा बनेको छ । प्रेम जातभन्दा ठूलो हुन्छ, सम्बन्ध विश्वासले टिक्छ र संघर्षले जीवन बदल्छ भन्ने उदाहरण बनेका छन् उनीहरु ।
यो केवल एउटा दम्पतीको कथा होइन, समाज बदलिँदै गएको संकेत पनि हो ।
