बागलुङ । लामो समयदेखि संगठनात्मक एकीकरण प्रक्रियामा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङसहित देशभर जिल्ला तहको जिम्मेवारी बाँडफाँट गरेको छ । कार्यविभाजन अनुसार बागलुङ जिल्ला इन्चार्जको जिम्मेवारी कमल घिमिरेले पाउनुभएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत डेढ दर्जनभन्दा बढी वामपन्थी शक्ति मिलेर बनेको नेकपाले लामो समयपछि जिल्ला नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी कार्यविभाजनअनुसार बागलुङको सहइन्चार्जमा फमलाल निउरे र ज्ञामनाथ गैरे ‘अनिल’ चयन हुनुभएको छ । यस्तै जिल्ला संयोजकको जिम्मेवारी प्रकाश घर्तीले पाउँदा सहसंयोजकमा पिङ्गल गौतम चयन हुनुभएको छ ।
कार्यविभाजनले पार्टीभित्र पूर्व घटकबीच सन्तुलन मिलाउने प्रयास गरेको देखिएको छ । जिल्ला इन्चार्ज कमल घिमिरे र सहसंयोजक पिङ्गल गौतम साविक नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिबाट आउनुभएको हो । सहइन्चार्ज फमलाल निउरे, ज्ञामनाथ गैरे ‘अनिल’ तथा जिल्ला संयोजक प्रकाश घर्ती साविक नेकपा माओवादी केन्द्र पृष्ठभूमिका हुनुहुन्छ ।
केन्द्रीय कार्यालयले गण्डकी प्रदेशअन्तर्गत जिल्लागत जिम्मेवारी तोक्दै सहइन्चार्ज, संयोजक र सहसंयोजकको कार्यविभाजन सार्वजनिक गरेको हो । पार्टी एकीकरणपछि लामो समयसम्म जिल्ला तहमा नेतृत्व र जिम्मेवारी टुंगो नलागेको अवस्थामा गरिएको यो निर्णयलाई संगठन विस्तार र गतिविधि सञ्चालनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
पार्टीले जिल्ला तहमा जिम्मेवारी बाँडफाँटसँगै स्थानीय संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन, राजनीतिक प्रशिक्षण तथा जनसंगठन विस्तारलाई प्राथमिकतामा राख्ने संकेत गरेको नेताहरूको भनाइ छ ।
