• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

प्रकृतिसँग रम्ने स्थायी ठेगाना : ढोरपाटन

“पछिल्लो समय समाजिक सञ्जालको विकास सँगै प्रचार प्रसार बढेपछि टुरिजमको लागि उपयुक्त स्थान बनेको छ,तर पर्यटक आगम सँगै वातावरणमा नकरात्मक प्रभाव बढ्दै गएको छ,बाटोमा फोहोर बृद्धि भएको छ र त्यो कुरालाई मिनिमाइज गर्न यहाँको समुदायपनि जति सचेत हुनुपर्ने हो त्यो भैनसकेको अवस्था छ यसलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन गर्नु पर्छ ”

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु, जैविक विविधता र हिमाली संस्कृतिको अनुपम संगम हो ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पर्ने यो क्षेत्र पछिल्ला वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँको पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको छ । हिउदमा सुन्दर हिमाल र बर्खामा पाटनमा फूलेका रंगी विरगीं बुकीँफूल र विशाल फाँटनै यहाँको आकर्षण बन्ने गरेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण ढोरपाटन शिकार आरक्ष केवल घुम्ने ठाउँ मात्र होइन, प्रकृतिसँग आत्मीय सम्बन्ध गाँस्ने स्थायी ठेगाना पनि हो ।

हरियाली वन, विशाल बुकी पाटन, कलकल बग्ने उत्तरगंगा नदी , हिमशृङ्खलाको मनोरम दृश्य र शान्त वातावरणले ढोरपाटन पुग्ने जो–कोहीलाई प्रकृतिसँग नजिक बनाइदिन्छ । यही अनुपम सौन्दर्यका कारण ढोरपाटन केवल शिकार आरक्षमा सीमित छैन, बरु प्रकृतिप्रेमी, पदयात्री, फोटोग्राफर र अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ ।
विशेषगरी वर्षायामपछि हरियालीले ढाकिएका पाटन, शरदयामको खुला मौसम र हिउँदमा देखिने हिमाली दृश्यले यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीयहरू बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत ढोरपाटनको प्रचार–प्रसार बढेसँगै नयाँ पुस्ताका आन्तरिक पर्यटक पनि यहाँ पुग्न थालेका छन् । पछिल्लो समय ढोरपाटनमा चलचित्र तथा विभिन्न म्यूजिक भिडियो निमार्णको कारणले पनि यहाँका पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भाग ओगटेको छ ।

पर्यटनको चहलपहल बढेसँगै स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ । होटल, होमस्टे, यातायात, स्थानीय र उत्पादनको व्यापारमा वृद्धि भएको छ भने स्थानीयले रोजगारी र आम्दानीका नयाँ अवसर पनि बढेको स्थानीय होटल व्यवसायी शिवराज कँडेल बताउनुहुन्छ । तर पर्यटकको बढ्दो आकर्षणसँगै अर्को चुनौती पनि देखिन थालेको छ—फोहोर व्यवस्थापन । आरक्ष क्षेत्रभित्र र पदमार्ग आसपास प्लास्टिकका बोतल, चाउचाउका खोल, पेय पदार्थका क्यान तथा अन्य फोहोर छाड्ने प्रवृत्ति बढ्दा प्राकृतिक सौन्दर्यमाथि नै असर पर्न थालेको स्थानीयको गुनासो छ ।

स्थानीय रमिता पुनका अनुसार पछिल्ला वर्षमा ढोरपाटन पुग्ने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याए पनि फोहोर व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको उहाँ बताउनुहुन्छ । “प्रकृतिको आनन्द लिन आउनेहरूले प्रकृतिलाई नै जोगाउने जिम्मेवारी पनि बोक्नुपर्छ,“ उहाँको भनाइ छ । पर्यटक, स्थानीय समुदाय र सम्बन्धित निकायबीच समन्वय गरी प्रभावकारी फोहोर व्यवस्थापनको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँका अनुसार “पछिल्लो समय समाजिक सञ्जालको विकास सँगै प्रचार प्रसार बढेपछि टुरिजमको लागि उपयुक्त स्थान बनेको छ,तर पर्यटक आगम सँगै वातावरणमा नकरात्मक प्रभाव बढ्दै गएको छ,बाटोमा फोहोर बृद्धि भएको छ र त्यो कुरालाई मिनिमाइज गर्न यहाँको समुदायपनि जति सचेत हुनुपर्ने हो त्यो भैनसकेको अवस्था छ यसलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन गर्नु पर्छ ” साथै पुनले ढोरपाटन घुम्न आउने पर्यटनलाई अनुरोध गर्दै प्रकृतिको मायाँ गर्दै प्रकृति बचाउन र प्रकृतिको आनन्द लिन समेत आग्रह गर्नु भयो । यस्तै, स्थानीय पनि पर्यटनसँगै पूर्वाधार विकास, सरसफाइ र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिन्छन् । ढोरपाटन नगरपालिका कार्यवाहक नगरप्रमुख धन बहादुर कायत (कल्याण)का अनुसार ढोरपाटनको मौलिकता जोगाउन सके मात्र दीर्घकालीन पर्यटन विकास सम्भव रहेको बताउनु हुन्छ । ढोरपाटनलाई मौलिकता र प्रकृतिको सँगमस्थान बनाउन सके अझै पर्यटक आगमनमा बृद्धि हुने उहाँको भनाई छ ।

आरक्षसँग पनि संरक्षण र पर्यटनलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको स्थानीय सोम बहादुर विश्वकर्माले बताउनु भयो । स्थानीय टेकध्वज घर्तीमगरका अनुसार ढोरपाटनमा घोडा सफारी र हिउदको समयमा हिउँ र बर्खाको समयमा फूलसँग पर्यटक बढी आर्षित हुने गरेको बताउनु हुन्छ तर पर्यटकलाई स्तरीय वासस्थानको समस्या रहेको बताउनु हुन्छ ।

तर यसको सुन्दरता र जैविक विविधता भावी पुस्तासम्म जोगाइराख्न सबै पक्षले संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता झन् बढेर गएको छ ।