बागलुङ । पछिल्लो समयका चर्चिच गायक प्रकाश दुतराजले नेपालमै पहिलो पटक लोकगीतको ब्यान्ड घोषणा गरेका छन् ।
‘दूतराज प्रकाश एन्ड लाइनअप’नाम दिएर दुतराजले आफ्नै गृहजिल्ला म्याग्दीको बेनीबजारमा शनिबार एक कार्यक्रममो आयोजना गर्दै समुहको घोषण गरेका हुन् ।
अन्य विधामा ब्याण्ड गठन गर्ने प्रवृत्ति भएपनि लोकसंगीत क्षेत्रमा भने यो पहिलो हो । ब्याण्डले पहिलो सांगीतिक प्रस्तुति समेत दियो । म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त समारोहमा दर्शकले झरीको पर्वाह नगरि घण्टौंसम्म दूतराजका प्रस्तुतिमा रमाइलो गरे ।

दूतराजलाई ब्याण्डका अन्य सदस्यले प्रस्तुतिमा साथ दिए । विगतमा ट्रयाकमा गाउँदै आएका उनले वाद्यवादनको लाइभ शोमार्फत दर्शकलाई सांगीतिक स्वादहरू चखाए ।
मंगला गाउँपालिका ५ अर्मनमा जन्मिएका र बेनीमा किशोरावस्था बिताएका दूतराज नेपाली लोकसंगीत क्षेत्रमा पछिल्लो छिमलका स्टार हुन् । ‘यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो’ उनले भने, ‘विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शक माझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरु गरेको छु ।’
कार्यक्रमको सुरुमै दुतराजले नेपालको मौलिक बाजालाई संसारभर प्रवर्धन गर्ने आफ्नो उद्देश्य रहेको बताए । उनले भने, ‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकोमा खुसी र उत्साही छु । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्ने मेरो उद्देश्य हो ।’

यो ब्याण्डमा वाद्यवादन र प्राविधिकसहित १२ जना सदस्य छन् । दूतराज लिड भोकलिस्ट हुन् । यसपछि ब्याण्डले मुलुकका विभिन्न थलोमा टूर गर्ने जनाएको छ ।
बेनीको कन्सर्टमा दूतराजले मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, बैनी झ्यालैमा लगायतका हिट गीतलाई मौलिक बाजाको लाइभ स्वादमा प्रस्तुत गरे ।
यसअघि भदौ १२ गते जनैपूर्णिमा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम भोटेकोशी बाढीका कारण स्थगित भएको थियो । आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भोटेकोशी बाढीमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको बताए । दूतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि छिमेकी जिल्ला बागलुङ र पर्वतबाट दर्शक पुगेका थिए ।
