बागलुङ । बागलुङ भएर जाने मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषिको नयाँ कार्यक्रम ल्याइएको छ । बागलुङ भित्र रहेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर क्षेत्र आसपासमा कृषि, पशुपालनको उत्पादन बढाउदै बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले राजमार्ग केन्द्रित कार्यक्रम ल्याएका छन् । दुई कार्यालयले उक्त कार्यक्रमका लागि रु. ३५ लाख विनियोजन गरेका छन् ।
चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवद्धन कार्यक्रमका लागि रु. २० लाख बजेट विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रममा रु. २० लाख बजेट विनियोजन गरेको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले चालु आर्थिक वर्षमा ३८ वटा किसानका योजनामा रु. चार करोड ३० हजार रकम विनियोजन गरेमध्ये नयाँ कार्यक्रमको रुपमा लोकमार्ग र करिडोर केन्द्रत कृषि उत्पादन तथा प्रर्बद्धनात्मक कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेशवर सिलवालले जानकारी दिनुभयो । नयाँ कार्यक्रम सफल भएमा आगमी वर्ष बजेट बढेर आउने जनाउदै परिक्षणका लागि राजमार्ग केन्द्रित कार्यक्रम आएको बताउनुभयो ।
सिलवालका अनुसार चालु आर्थिक वर्षका लागि ज्ञान केन्द्रमार्फत रु. पाँच करोड ८६ लाख २ हजार बजेट विनियोजन भएको छ । जसमध्ये किसानको योजना, अनुदान तथा यन्त्रिकरणमा रु. तीन करोड ६० लाख ३० हजार, किसानकै कृषि पूर्वाधार तर्फ रु. ४० लाख र प्रशासनिक तर्फ रु.एक करोड ८५ लाख विनियोजन गरिएको छ ।
यस्तै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार करिडोरमा पशुपालनको वृद्धि र विकासमा उक्त रकम खर्चने योजना रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले राजमार्ग केन्द्रित कृषि र पशुपालनको कार्यक्रमका लागि निर्देशिका बनाइरहेको बताउदै कार्यक्रम सफल भएमा आगमी दिनमा बजेट वृद्धि हुने बताउनुभयो ।
केन्द्रले चालु आर्थिक वर्षमा पशुपन्छी तथा मत्स्य विकास, पशु प्रजनन्, पूर्ण खोप लगायतका कार्यक्रममा रु. ४ करोड २० लाख ८६ हजार बजेट विनियोजन गरेको छ ।
राजमार्ग छेउछाउमा कृषि र पशुपालनबाट उत्पादन भएको कृषि उपज तथा माछामासु, अण्डा र दूधको बजारीकरणमा सहज हुने अपेक्षा गण्डकी प्रदेश सरकारको रहेको छ ।
