बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस गर्दै आउनुभएका टेकनाथ शर्माले गृह जिल्लामै सेवा पाउदा आफूलाई राहत मिलेको बताउनुहुन्छ । उहाँले अस्पतालमा डायलाइसिस सेवा पाउदा खर्च र समयको बचत भएको बताउनुहुन्छ । अस्पतालले ६० जना मृगैला पीडितलाई नियमित डायलाइसिस सेवा दिइरहेको छ ।
गृह जिल्लामै डायलाइसिस गर्दा खर्च र समय दुबैको बचत भएको शर्माको भनाई छ । उहाँले डायलाइसिस सेवा निःशुल्क भएपछि राहत मिलेको बताउनुभयो । उहाँले धौलागिरी प्रादेशिक अस्पतालमा मृगौला रोगी बढी आउन थालेको बताउदै छ महिना भन्दा बढी पोखरामा डायलाइसिस गरेपछि मात्रै अस्पतालमा पालो आएको सुनाउनुभयो । उहाँले पोखरामा डायलाइसिस गरेर पालो आएपछि मात्रै गृह जिल्लामा सेवा पाइरहेको बताउनुभयो ।
“मृगौला रोगीको संख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सिमिति हुन्छ, अस्पतालमा पालो पर्खदै पोखरामा डायलाइसिस गरेपछि गृह जिल्लाको अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुबै बचेको छ, घरबाटै आउन जान सकिन्छ” शर्माले भन्नुभयो “आफू जस्ता २६ जना भन्दा बढी बिरामीले धौलागिरी अस्पतालमा डायलाइसिस गर्नका लागि पालो कुदै विभिन्न अस्पतालमा डायलाइसिस गराइराख्नुभएको छ, कतिपयले नीजि अस्पतालमा समेत रकम तिरेर डायलाइसिस गर्दै आउनुभएको छ, अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।”
अस्पताल भवन र आवश्यक उपकरण थप भएमा अझै धेरै बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाई छ । पछिल्लो समय बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा मृगौला रोगीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ । एक वर्ष अघि सम्म डायलाइसिसको पालो कुर्नुपर्ने बिरामी शुन्य रहेपनि अहिले धेरै बिरामी डायलाइसिस गर्न आउन खोजेर नाम टिपाउनुभएको छ ।
अस्पातालको डायलाइसिस कक्षमा बिरामीको चाप बढेको र अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको बताउदै जनशक्ति र भवन भएमा थप बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
अस्पतालले गत वर्षमात्रै डायलाइसिस सेवा विस्तार गरेपनि अहिले पुन बिरामीको संख्या बढेर विभिन्न अस्पतालमा डायलाइसिस गरेर २६ जनाले यस अस्पतालमा पालो पर्खिरहेका छन् । धौलागिरी अस्पतालमा मृगौलाका बिरामीलाई निःशुल्क उपचार दिनका लागि २०७५ सालमा दुई वटा मेशिनबाट शुरु भएको डायलाइसिस सेवा विस्तार गरी ११ मेशिन थपिएपछि मृगौला पीडितलाई राहत भएको हो । अहिले अस्पतालमा चार चरणमा ६० जना बिरामीले नियमित सेवा लिइराख्नुभएको छ । अस्पतालको डायलाइसिस सेवा विस्तारमा भौतिक संरचना अभाव देखिएको तिवारीको भनाई छ । बागलुङको बडिगाड आधारभूत अस्पतालमा डायलाइसिसका पाँच वटा उपकरण आएकाले सञ्चालनमा आयो भने जिल्लावासीलाई सहज हुने देखिन्छ ।
“गत वर्ष मृगौलारोगीहरुको प्रतिक्षा शुन्य थियो, तर रोगीको संख्या वृद्धि भइरहेको छ, अस्पतालमा भौतिक संरचनाको अभाव छ भने उपकरण बढाएर ११ पु¥याउदा समेत बिरामी थेग्न समस्या भइरहेको छ”– तिवारीले भन्नुभयो । डायलाइसिस कक्षमा मृगौलारोग विशेषज्ञको अभाव रहेको छ । तालिम प्राप्त स्टार्फ नर्सको भरमा डायलाइसिस सेवा प्रदान गरिरहेको र आवश्यक पर्दा जनरल फिजिशियनले सहयोग गरिरहेको अस्पतालको भनाई छ । अहिले ८ जना स्वास्थ्यकर्मी डायलाइसिस कक्षमा सेवा दिइरहेका छन् । अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि डायलाइसिस सेवाका लागि विशेषज्ञ चिकित्सक, उपकरण र भौतिक संरचनाको अभाव देखिन थालेको हो ।
