बागलुङ । बागलुङका क्रियाशिल पत्रकारहरुका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा शुरू भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो ।
उहाँले प्रविधिमा अब्बल पत्रकारनै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरुलाई पत्रकारितामा थप सघाउने बताउनुभयो ।
“शुरुमा मोबाइलबाट कसरी पत्रकारिता हुन्छ भन्ने गर्दथ्यौ, जमाना एआईको आइसक्यो, स्थलगत रुपमा नै समाचार दिन नसके अहिलेको जमनामा धेरै ढिला भइसक्छ” भण्डारीले भन्नुभयो “प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गण्डकीका सबै जिल्लामा पत्रकारिता तालिम सञ्चालनको शुरुवात बागलुङ जिल्लाबाट गरेको छ ।”
तालिममा पत्रकारि विकास कार्कीले फोटो, भिडियो कसरी खिच्ने र आधुनिक प्रविधिको जमानामा मोबाइलबाटै भिडियो सहितको समाचार कसरी पस्कने विषयमा तालिममा प्रशिक्षण गर्नुभएको छ ।
तालिममा बागलुङका ३५ जना पत्रकारहरुको सक्रिय सहभागिता रहेको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष राम थापा अबिरलको अध्यक्षता तथा सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको छ ।