बागलुङ । २०७६ सालमा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवा स्थित सुम्सा गाउँमा लिफ्ट मार्फत एक घर एक धारा पु¥याइयो ।
कालीगण्डकी नदी छेउको पानीलाई मोटरमार्फत सुम्सागाउँमा ल्याएर १३२ घरमा वितरण भएपछि स्थानीय दंग परे । घरमै खानेपानीको धारा आउदा खुसी बनेका सुम्साबासीको खुसी दुई वर्षपनि टिकेन । लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ । प्राविधिक गडबढी, बाढी पहिरो र चट्याङ्का कारण घरको धारामा पानी आउन नसकेको सुस्साबासीको भनाई छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीमा रहेको छ ।
लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दीगो नहुँदा घरको आगनमा धारा हुँदा समेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताउनुभयो । थापाका अनुसार आगनको धारामा असार यता खानेपानीको थोपा नझरेको दुखेसो पोख्नुभयो ।
“सुम्सामा खानेपानीको समस्या आजको हैन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम संकट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी नगरपालिकाको सहयोगमा गाउँमुनीको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो” थापाले भन्नुभयो “लिफ्ट योजनाको भरै हुनेरहेनछ, कहिले चट्याङले विद्युतका उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउछ, पाँच महिना भयो धारामा खानेपानी आउदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौ, समस्या पहिलोको जस्तै भयो ।”
२०७६ सालमा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागीतामा रु. ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटक–पटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाई आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीन पटक समस्या आइसकेको बताउनुभयो ।
उहाँले पहिरोले मुहानको संरचना बगाएपछि बनाएको भएपनि पछिल्लो समय पहिरोका कारण खानेपानीको पाइप बगाउदा पुन समस्या भएको बताउनुभयो । “आयोजना सम्पन्न नहुँदै आयोजनाको मुहान बाढीले बगायो, पुननिर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिरोले पाइप बगाएपछि खानेपानी आउन सकेको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दीगो नहुने रहेछ”–पुनले भन्नुभयो ।
आयोजनामा समस्या आएपछि नगरपालिकाले रु. चार लाख ६५ हजार खर्चेर मर्मत गरेर चलाएको भएपनि अहिले पुन समस्या भएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । उहाँले विद्युतको भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताउनुभयो । उहाँले बिद्युतमा एकरुपकता ल्याउन सवस्टेशन चाहिने बताउदै पहल भइरहेको बताउनुभयो ।
सुम्साबासीले मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाउदै आएका छन् । लाखौ खर्चेर बनाइएको योजना खेर जान नदिने नगरपालिकाको भनाई छ । नगरपालिकाले आयोजनाको दीगोपनाका लागि काम गर्ने नगर प्रमुख पुनले बताउनुभयो ।
