बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाबाट गलकोट तर्फ बग्ने ताराखोला नदि सुक्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जथाभावी डोजर प्रयोगबाट उत्खनन् र जलविद्युत थपिने क्रम बढ्दै जादा ताराखोला क्रमश सुक्दै गएको छ । अनियन्त्रित उत्खनन, अव्यवस्थित निर्माण र जलविद्युत् योजनाका कारण ताराखोला नदीको प्राकृतिक स्वरूप दिनदिनै कमजोर हुँदै गएको भन्दै स्थानीय युवाहरुले संरक्षणका लागि आवाज उठाएका छन् । उनिहरुले विज्ञप्ती जारी गर्दै नदी हाम्रो जीवनसंग जोडिएको भन्दै संरक्षणमा जोड दिएका छन् ।
पश्चिम नेपालका हरिया पहाडी भूभागबीच बग्ने ताराखोला–दरमखोला स्थानीय समुदायको जीवनयापन, कृषि, पशुपालन र दैनिक क्रियाकलापसँग गहिरो रूपमा जोडिएको स्रोत भएपनि केही वर्षयता ताराखोला नदी सुक्दै गएकाले जलचरमा समेत गंभिर संकट पैदा हुन थालेको भन्दै युवाहरुले विरोध जनाएका छन् ।
सयपत्री जलविद्युत् आयोजना संचालनमा आएपछि ताराखोला क्षेत्रमा पाँच नयाँ जलविद्युत् आयोजना थपिने तयारी भइरहेको छ । तीमध्ये एउटा सकिएको छ भने अन्य चारवटा निर्माणको चरणमा छन् । नेपालको कानुन अनुसार कुनै पनि हाइ्ड्रो सञ्चालन गर्दा वर्षभरि नदीमा कम्तीमा १० प्रतिशत न्यूनतम बहाव अनिवार्य रूपमा छोड्नैपर्ने भएपनि नदीमा पानी देखिनै छोडेको स्थानीय दर्पथा मगरले चिन्ता व्यक्त गर्नुभयो । जलविद्युत् विधेयक, परिच्छेद–८, दफा २७) लाई जलविद्युत उत्पादकले वेवास्था गरेको पाइएको उहाँको भनाई छ ।
ताराखोला सुक्दै गएपछि ताराखोलाको असला माछा समेत संकटमा पर्दै गएको छ ने त्यस क्षेत्रका वासिन्दाहरुको कृषि उपज र पशुपालन लगायतमा प्रत्यक्ष असर पार्दै आएको भन्दै स्थानीय संरक्षणकर्मी युवाहरुले ताराखोलालाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग गरेका छन् । युवाहरुले सामुहिक विज्ञप्ती जारी गर्दै जनजिवन सुरक्षित राख्न नदि जोगाउनुपर्नेमा जोड दिएका छन् । ताराखोला सुक्दै गएपछि ताराखोलाबाट बनेको दरकमखोलामा समेत असर पर्ने देखिएको छ ।
“हाम्रो भविष्य सुरक्षित राख्न प्राकृतिक स्रोतको संरक्षण आजैबाट सुरु गर्न आवश्यक छ, स्थानीय सरकारले अभिभावकको भूमिका निभाउँदै नदी क्षेत्रमा भइरहेको जथाभावी उत्खनन् तत्काल रोक्नुपर्छ” विज्ञप्तीमा भनिएको छ “ “नदीमा छाडिनुपर्ने न्यूनतम प्रवाह नदिँदा वातावरणीय समस्या झनै बढिरहेको छ, कानुन नमान्दा नदी सुक्नु, जल–वन्यजन्तुको जीवनचक्र टुट्नु, र मानिसको पानी पिउने अधिकारसमेत कमजोर बन्दै गएको छ ।” ठूला नदीका मुहानका रुपमा रहेका पहाडको खोचबाट बग्ने ताराखोला जस्ता नदीनै सुक्नथालेपछि प्राकृतिक प्राणीलमा गम्भिर असर पर्ने देखिएको संरक्षणकर्मी डा. गिरिस कँडेलले बताउनुभयो ।
ताराखोला–गल्कोट क्षेत्रका युवा पूर्ण श्रिस, डा. गिरिस कडेल, तारा थापा, जीवन केसी, प्रगति थापा, प्रकाश रोका मगर, दिल निशानी मगर, राजु कँडेल, जितु घर्ती, कमल घर्ती मगर, जीवन गौचन, बाबुराम सापकोटा, भीम श्रिस, प्रकाश निउरे, हरी मगर, राज कुमार सुवेदी, रामु सापकोटा लगायतले संयुक्त विज्ञप्तीमार्फत नदीभित्र डोजर नपस्न र प्राकृतिक स्रोतको अनियन्त्रित दोहन तत्काल रोकिनुपर्ने माग गर्दै विज्ञप्तीनै जारी गरेका छन् ।
संरक्षण अभियानका सक्रिय युवा डा. गिरिस कँडेलका अनुसार कि जलवायु परिवर्तन, प्राकृतिक उत्खनन र अनुगमन बिना गरिने जलविद्युत् विस्तारले ताराखोला–दरमखोलाको प्राकृतिक चक्र नै अव्यवस्थित बनाइरहेको बताउनुभयो । ताराखोला–दरमखोला स्थानीय बासिन्दाकै शब्दमा ‘लाईफलाइन’को रुपमा रहेको नदीलाई संरक्षण गर्नुपर्ने युवाको जोड छ । नदीको अनियन्त्रित दोहन रोक्न स्थानीय सरकार, सरोकारवाला निकाय, जनप्रतिनिधि र समुदाय सबै एकसाथ उत्रिनु पर्ने उनीहरूको आग्रह छ ।
