• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

रेशमा एमालेको चुनाव हाँक्दै शारदा

  • २०८२ माघ १९, सोमबार

बागलुङ ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउने अभियानलाई प्रभावकारी सञ्चालन गर्न काठेखोला गाउँपालिका वडा नं. ७ रेश मा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । वडा कमिटिको विस्तारित वैठकले पार्टीका जिल्ला कमिटि सदस्य महिला नेता शारदा थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको हो । कमिटिको सहसंयोजकमा पार्टीका पूर्व वडा अध्यक्ष थम्मन बहादुर जि.सी. तथा सदस्य सचिवमा वर्तमान पार्टी वडा अध्यक्ष रामचन्द्र शर्मा रहनु भएको छ । निर्वाचन परिचालन कमिटिमा रेशबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार, जनसंगठनका पदाधिकारी तथा सदस्यहरु रहेका छन् ।

पार्टीको समग्र परिचालनको नेतृत्व जिल्ला कमिटि सदस्य शारदा थापाले गर्नु भएको छ, पार्टीको संगठनसंगै युवा र महिलाहरुलाई परिचालनमा समेत थापाको नेतृत्वदायी भूमिका रहदै आएको छ, पार्टीका वडा अध्यक्ष शर्माले भन्नुभयो,–‘रेशमा एमालेको साख जोगाउन र जनमत वृद्धि गर्नका लागि उहाँको नेतृत्वमा रहेको सिंगो टिम सक्रियताका साथ परिचालन गर्छौ ।’ २०४६ सालको परिवर्तनपछि अहिलेसम्म जनमतको हिसावले रेशमा एमालेले अगुवाई गर्दै आएको छ । बहुदल आगमनपछि २०४९ सालमा भएको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष, उपाध्यक्ष र ८ वटा वडा अध्यक्ष जितेको एमालेले २०५४ पनि पनि अध्यक्ष, उपाध्यक्ष र ८ वटा वडा अध्यक्ष सहित ८ वटै वडाका वडा सदस्यहरु जिताउन सफल भएको थियो । २०४९ मा नेपाली कांग्रेसले एउटा वडा जितेको थियो । २०५४ मा कांग्रेस र राप्रपाको गठबन्धनबाट राप्रपाले एउटा वडा अध्यक्ष र कांग्रेसले ४ जना सदस्य जितेको थियो ।

दुवै निर्वाचनमा गाविस अध्यक्षमा हरि बहादुर कार्की र उपाध्यक्षमा कविराज थापा निर्वाचित हुनु भएको थियो । रेशमा एमाले निर्माणमा नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गरेका तत्कालिन गाविस अध्यक्ष हरि बहादुर कार्कीको निधन भइसकेको छ । रेशमा शिक्षा क्षेत्रको विकासमा कार्कीको विशेष योगदान रहेको स्थानीयहरु बताउछन् । २०७४ र २०७९ को निर्वाचनमा वडाका सम्पूर्ण जनप्रतिनिधि जित्न सफल भएको एमालेले संसदीय तथा प्रदेश निर्वाचनमा समेत राम्रो मत पाउने गरेको छ । पछिल्ला दुवै स्थानीय तह निर्वाचनबाट प्रेम लामिछाने वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । रेशको विकासमा शुरुदेखि नै एमालेको भूमिका प्रभावकारी रहदै आएको र रेशका एमालेका नेता कार्यकर्ताहरु पार्टी निर्माण र संरक्षणमा निरन्तर लागेको हुनाले पनि एमालेको जनमत बढ्दै गएको पार्टीका वडा अध्यक्ष शर्माले बताउनुभयो । रेशमा एमालेको जिल्ला तथा केन्द्रमा देखिने गुट छैन, माथि जो जसलाई साथ समर्थन गरेपनि रेशका एमाले नेता कार्यकर्ता गाउँको सवालमा एक छन्, एमालेका पुराना एक नेताले भने,–‘पछिल्लो समय माथिल्लो कमिटिका केही नेताहरुले गुट जन्माउन खोज्दैछन्, तर पनि रेशमा एमाले एक ढिक्का भएर निर्वाचनमा होमिन्छ, माथिका गुटहरुको असर गाउँमा पर्न दिदैनौ ।’

एमालेले शिक्षा, स्वास्थ्य, सडक, विद्युतीकरण लगायत विकास निर्माणमा गरेको नेतृत्वदायी भूमिका र पार्टी निर्माणमा योगदान गर्ने पाका नेताहरु, युवा, महिला तथा कमिटिमा आवद्ध पदाधिकारी सदस्यहरुको सक्रियता र निरन्तरता रहदै आएको शर्माको भनाइ छ । यस पटक निर्वाचन परिचालनको अगुवाई महिलाले गर्नु भएको छ । पहिलो पटक निर्वाचनको कमाण्ड महिलाले सम्हाल्नु भएको हो, आगामी फागुन २१ को निर्वाचनमा अझै धेरै महिला र युवाहरु निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने अवस्था सिर्जना भएको वडा कमिटिका अध्यक्ष शर्माले बताउनुभयो । निर्वाचन परिचालन कमिटिले माघ २७ गते साविक रेश गाविसका ७ वटा टोलमा टोल भेला गर्ने निर्णय गरेको छ । टोलभेलासंगै नेकपा एमाले बागलुङ क्षेत्र नं. १ का उम्मेदवार हिरा बहादुर केसीसहितको टोलीले घरदैलो तथा भेटघाट कार्यक्रम तय गरेको शर्माको जानकारी दिनुभयो ।

  • २०८२ माघ १९, सोमबार