बागलुङ । ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङले तीन दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गतेसम्म ९अक्टोबर ७ देखि ९० सञ्चालन हुने अभियान बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो ।
विपद्पछिको मनोसामाजिक सहारा, युवामा बढ्दो तनाव तथा डिजिटल कुलत नियन्त्रण र आत्महत्या रोकथामका लागि जिम्मेवार मिडिया रिपोर्टिङलगायत संवेदनशील विषयमा समुदायलाई सचेत र सक्षम बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत पहिलो दिन असोज २२ गते जलजला गाउँपालिका–८ फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा ‘मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) तथा मनोसामाजिक सुस्वास्थ्य सचेतना कार्यक्रम’ सञ्चालन गरिनेछ । हालै बाढीबाट प्रभावित क्षेत्रमा आयोजना हुने कार्यक्रममा विपद्का कारण बालबालिका तथा शिक्षकमा परेको मानसिक असर, डर र त्रासलाई सामान्यीकरण गर्दै पुनर्लाभका लागि सहयोग पु¥याउने विषयमा सहजीकरण गरिनेछ ।
दोस्रो दिन असोज २३ गते धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवाका लागि ‘तनाव व्यवस्थापन तथा डिजिटल कुलत सचेतना कार्यशाला’ आयोजना गरिनेछ । क्याम्पस जीवनमा हुने तनाव, परीक्षा तथा भविष्यप्रतिको चिन्ता व्यवस्थापनका साथै मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगिने व्यवहारिक उपायबारे जानकारी दिइनेछ । कार्यक्रममा ‘डिजिटल डिटक्स’ र ‘डिजिटल वेलबिइङ’ सम्बन्धी व्यवहारिक अभ्याससमेत गराइने आयोजकले जनाएको छ ।
तेस्रो दिन असोज २४ गते विश्व मानसिक स्वास्थ्य दिवस तथा अभियानको समापनका अवसरमा बागलुङका क्रियाशील पत्रकारसँग ‘आत्महत्या तथा आत्महानिसम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ र पत्रकारका लागि मनोवैज्ञानिक प्राथमिक उपचार’ विषयक अन्तरक्रियात्मक तालिम आयोजना गरिनेछ ।
आत्महत्याका घटनालाई सञ्चार माध्यमले रिपोर्ट गर्दा अपनाउनुपर्ने संवेदनशीलता, जिम्मेवार पत्रकारिता तथा पत्रकार स्वयंको मानसिक स्वास्थ्य व्यवस्थापनका विषयमा तालिम तथा छलफल गरिनेछ । सोही अवसरमा औपचारिक कार्यक्रमबीच तीन दिने अभियानको समापन गरिने आयोजकले जनाएको छ ।
खुसी मन बागलुङले मानसिक स्वास्थ्यका क्षेत्रमा निरन्तर सचेतना, परामर्श तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले तीन दिने अभियानमा सरोकारवाला, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।
