• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बाढीपहिरोले बागलुङ कालिका मन्दिरमा छैन दर्शनार्थीको रौनक

“पहिले १६ श्राद्ध गर्ने भारत सम्मका भक्तजन मुक्तिनाथ जानेक्रममा दर्शन गरेपश्चात कालिकामा पनि दर्शन गरेर फर्कनुहुन्थ्यो ,सँगै अन्यपनि हुनुहुन्थ्यो तर अहिले देशमा बाढीपहिरोको कारण सहज सडक नहुँदा सुन्य जस्तो छ ” लेखापाल क्षेत्रीले भन्नुभयो ।

बागलुङ । हिन्दुु नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएसँगै देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा दर्शनार्थीको चहलपहल बढ्न थालेको छ । तर, बागलुङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल कालिका भगवती मन्दिरमा भने यस वर्ष विगतका दसैँमा जस्तो रौनक देखिएको छैन ।

आईतबार दसैँको पहिलो दिन घटस्थापना विगतको वर्षमा कालिका भगवति मन्दिर परिसरमा दर्शनार्थीको घुईचो लाग्ने गथ्यो तर आईतबार भने यो दृश्य देख्न पाईएन । बागलुङको प्रवेशद्धारको रुपमा रहेको कालीगण्डीमाथीको पुल गत असोज ११ गते आएको बाढीले क्षति पु¥याउनु तथा देशभर बाढीपहिरोको प्रकोपमा परको कारण दर्शनार्थीमा कमी आएको हो ।
बागलुङसहित आसपासका जिल्लामा गएको बाढीपहिरोले जनजीवन प्रभावित बनाउनुका साथै सडक तथा यातायातमा समेत अवरोध सिर्जना गरेपछि कालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनको चहलपहल कम देखिएको हो । कालिका भगवति मन्दिर व्यवस्थापन समितिका लेखापाल अर्जुन क्षेत्रीका अनुसार विगतमा १६ श्राद्ध गर्न भारत तथा देशका विभिन्न क्षेत्रबाट धार्मिक पर्यटक मुक्तिनाथ तथा कागवेनी पुग्ने पर्यटक कालिका सम्म आईपुग्ने तर यसवर्ष बाढीपहिरोले सडक तथा विभिन्न संरचनामा क्षति पुगेपछि भक्तजनमा कमी आएको हो ।
हरेक वर्ष बडा दसैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाआजा गर्ने, देवीको दर्शन गर्ने र भाकल पूरा गर्न आउने दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । दसैँको समयमा मन्दिर परिसरमा हुने भीडभाड, पूजाआजाको चहलपहल र भक्तजनको उपस्थितिले छुट्टै उत्साह थप्ने गरेको तर, यस वर्षको दसैँमा भने बाढीपहिरोको पीडा र आवागमनमा देखिएको कठिनाइको प्रभाव मन्दिर परिसरमा समेत देखिएको उहाँको भनाई छ । “पहिले १६ श्राद्ध गर्ने भारत सम्मका भक्तजन मुक्तिनाथ जानेक्रममा दर्शन गरेपश्चात कालिकामा पनि दर्शन गरेर फर्कनुहुन्थ्यो ,सँगै अन्यपनि हुनुहुन्थ्यो तर अहिले देशमा बाढीपहिरोको कारण सहज सडक नहुँदा सुन्य जस्तो छ ” लेखापाल क्षेत्रीले भन्नुभयो ।
विशेषगरी बागलुङका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लाबाट आउने दर्शनार्थीलाई सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ । प्राकृतिक विपत्तिका कारण कतिपय परिवार शोकमा छन् भने कतिपय विस्थापित भएर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् ।

बागलुङ कालिका मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई जिल्लाको पर्यटन तथा व्यापारिक गतिविधिसँग पनि जोडिएको छ । दसैँका बेला मन्दिरमा आउने दर्शनार्थीको चहलपहलले बजार क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने गरेको थियो । तर, यस वर्ष दर्शनार्थीको उपस्थिति अपेक्षाकृत कम हुँदा त्यसको प्रभाव स्थानीय व्यवसायमा समेत परेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन शाक्यले जानकारी दिनुभयो ।

उता मर्मतको चरणमा रहेको मालढुंगा पुल अन्तिम चरणमा रहेको छ । कुनै समस्या नआए । सोमबार साँझ सम्म सञ्चालनमा ल्याउन सकिने निर्माणको प्राविधिक समुहले जानकारी दिएको छ ।