• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday

लम्गाउँमा दसैं मेला सुरु

बागलुङ । ‘युवालाई अग्रता, समाज परिवर्तन हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बागलुङ नगरपालिका वडा नम्बर ६ लम्गाउँमा वडा दसैं मेला–२०८३ सुरु भएको छ । लम्गाउँ युवा क्लबको आयोजना तथा लम्गाउँ महिला समूहको सहआयोजनामा सुरु भएको मेलाको बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।

मेलाको उद्घाटन गर्दै वडा अध्यक्ष केसीले स्थानीय कला र संस्कृतिको सम्बद्र्धन तथा प्रवद्र्धनमा लम्गाउँ युवा क्लबको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।

मेलाको उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका वडा सभापति बालकृष्ण सापकोटा, लहरेपिपल स्वास्थ्य चौकीका प्रमुख विष्णु सापकोटा र पूर्व वडा अध्यक्ष डिलबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा आयोजक तथा स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो । स्थानीय आमा समूह र युवाहरूको समूहले झाँकी प्रस्तुत गर्नुभएको थियो ।

कात्तिक ५ गते सुरु भएको मेला ९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा भलिबल, महिला पुरुष रस्साकस्सी प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, महिला पुरुष छेलो प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता र घैँटो फुटाउने प्रतियोगिताको आयोजना गरिएको मेलाका संयोजक टेकबहादुर थापाले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम हुने समूहले ६५ हजार, द्वितीय हुने समूहले ४५ र तृतीय हुने समूहले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला, पुरुष रस्साकस्सी प्रतियोगितामा प्रथम हुनेले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी ४० वर्षभन्दा माथिको छेलो प्रतियोगितामा प्रथम हुनेले ३ हजार र खुल्ला महिला पुरुष छेलो प्रतियोगितामा प्रथम हुनेले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेले १८ हजार, द्वितीय हुनेले १२ रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुद प्रतियोगितासँगै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने छ । ६ गते खेलकुदसँगै स्थानीय कलाकार, ७ गते राष्ट्रिय कलाकार दिलु मगर, ८ गते स्थानीय एल.जी. ब्यान्डसहित राष्ट्रिय कलाकार ईश्वर सिंह र ९ गते राष्ट्रिय कलाकार सिम्रन परियार र भूमिका गिरीसहित स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुति रहने लम्गाउँ युवा क्लबका अध्यक्ष सानु थापाले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सानु थापाको अध्यक्षता, कार्यक्रम संयोजक टेकबहादुर थापाको स्वागत तथा पत्रकार सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।