बागलुङ
लघु जलविद्युतको भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रशारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेको छ । वर्षौदेखि लुघ जल विद्युत आयोजनामार्फत विद्युत प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो ।
जिल्ला सदरमुकाम आसपासको क्षेत्रमा केन्द्रीय प्रशारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको उहाँको भनाइ छ ।
प्रमुख पौडेलका अनुसार रु १५ करोड, ९२ लाख ५२ हजार १७७ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिनुभयो । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युतको पहुँच पहुगेको भन्दै त्यस मध्य २९.९ प्रतिशत घरमा मात्रै लघु जलविद्युतको प्रयोग भइरहेको उहाँको भनाइ छ ।
“बागलुङ वितरण केन्द्रबाट अघिल्लो वर्षदेखि नै पश्चिम बागलुङलाई ‘फोकस’ गरेर लाइन विस्तार गरि रहेका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडको केही ठाउँमा बत्ती बाल्यौँ सफल भयौँ, लाइन विस्तार धेरै ठाउँमा भएको छ,” प्रमुख पौडेलले भन्नुभयो – “अब जिल्लाका सबै दूर दराजमा केन्द्रीय लाइन पु¥याउने काम भइरहेको छ, अझै पनि जिल्लामा करिब तीस प्रतिशतका हाराहारीमा जलविद्युतनै प्रयोग हुने गरेको छ ।”
केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका स्थानीय खुसी भएका छन् । केन्द्रीय लाइन जडान गरेपछि लघु जल विद्युत बिग्रिदा महिनौँसम्म अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले बताउनुभयो । केन्द्रीय लाइन जडान भएपछि बर्खाको समयमा धेरै पटक लाइन जाने गरेको उहाँको भनाइ छ । पछिल्लो एक महिनादेखि दैनिक दुईदेखि पाँच घण्टा लाइन जाने गरेको क्षेत्रीले गुनासो पोख्नुभयो ।
हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय तथा लघु जलविद्युतको लाइन पुगेको छ । तर निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर भने अन्धकारमै छ । राज्यले उपेक्षामा पार्दा सिंगो गाउँनै अन्धरकारमा बस्न बाध्य रहेको स्थानीय देवबहादुर विकले बताउनुभयो । गाउँमा लाइन नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन पुग्नु पर्ने उहाँले गुनासो पोख्नुभयो । जिल्लाभर ९८ वटाभन्दा बढी लघु जलविद्युत आयोजना आयोजना संचालनमा रहे पनि निसेलढोरमा लाइन पुग्न नसकेको हो ।
