गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) अनुसार लगातार २ वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । कार्यालयको असोज ७ गतेको निर्णय अनुसार गोरखाको अजिरकोट गाउँपालिका वडा नं.४ स्थित सिम्जुङ ग्रामिण विद्युत सहकारी संस्था लिमिटेड, तनहुको देवघाट गाउँपालिका वडा नं. २ स्थित बैदीशक्ति बचत तथा ऋण सहकारी संस्था लिमटेड र म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं. ४ स्थित मुदी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखरा नियमन क्षेत्र भित्रका यि ३ सहित १६ वटा सहकारी संस्थाको हालसम्म दर्ता खारेजी भएको छ । कार्यालयले गत वैशाखमा बागलुङको एक, कास्कीका ३, तनहुँका ३, लमजुङको एक र गोरखाका ५ गरी १३ सहकारी संस्थाको दर्ता खारेजी गरेको थियो । १६ वटा सहकारीको दर्ता खारेजी भएपछि गण्डकी प्रदेश सरकार अन्तरगत ९०१ वटा सहकारी संघ संस्था कायम हुन आएका छन् । तिम मध्ये ५८१ वटा सहकारी संघ सस्था कार्यालयमा अद्यावधिक रहेका छन् । बाँकी ३२० वटा सहकारी निष्क्रिय अवस्थामा रहेका छन् । निष्क्रिय रहेका सबै सहकारीहरुलाई अद्यावधिक हुन रजिष्ट्रार कार्यालयले सार्वजनिक सूचना मार्फत निर्देशन गरेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश अन्तरगतका १३ वटा सहकारी र २ वटा सहकारीका सेवा केन्द्रमा आर्थिक अपचलन भएकाले सम्बन्धित निकायमा अनुसन्धान र कार्वाहीका लागि सिफारिस गरिएको रजिष्ट्रार रिजालले बताउनुभयो । खारेज गरिएका सहकारीहरुलाई निष्क्रिय रहनुको कारण सहित सम्पर्कमा आउन सार्वजनिक सूचना, पत्राचार गरिएको, जिम्मेवार व्यक्तिहरु सम्पर्कमा नआएपछि संस्थाको स्थलगत अनुगमन गरेर संस्था सञ्चालन हुन नसक्ने अवस्था देखिएकोले खारेज गरिएको रिजालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सहकारी ऐनमा भएको व्यवस्था अनुसार लगातार दुइ वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेजी गर्न सकिनेछ भन्ने व्यवस्था अनुसार अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण पेश तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेका सहकारी संस्थाको खारेजी गर्ने प्रक्रिया अगाडि बढाइएको उहाले जानकारी दिनुभयो । रजिष्ट्रार कार्यालयले खारेज भएका सहकारी संस्थाले तिर्न बुझाउन पर्ने कुनै दायित्व रहे, भएमा संस्थाका सञ्चालक लगायत जिम्मेवार पदाधिकारी/व्यक्तिहरुले तिर्न बुझाउन समेत जानकारी गराएको छ । ‘सहकारी संस्थासंग कुनै लिनु दिनु पर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक, पदाधिकारीसंग सम्पर्क राख्नुहुन सम्बन्धित शेयर सदस्य लगायत सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ’ रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सहकारीमा समस्या आएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालकमा रहन्छ ? सञ्चालकहरु अन्तिम जवाफदेही भएकाले आफ्नो संस्थामा आउने हरेक समस्याको जिम्मेवारी लिनु पर्दछ ।
