बागलुङ । मोडल अनिल पौडेलले बजारमा ल्याएको “कलकत्ते काइयो” ले सार्वजनिक भएको केही दिनमै लोकगीत चर्चा बटुलेको छ। गीतले अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ। लोकप्रिय गीत “माया आउने बस” को सफलतापछि सोही टिमले तयार पारेको यो नयाँ सिर्जना दर्शक–श्रोतालाई पुनः लोभ्याइरहेको छ।
सार्वजनिक भएको ७ दिनमै गीतले युट्युबमा दुई लाखभन्दा बढी भ्यूज पाइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ। गीतमा नेत्र अर्यालको शब्द, दिप्लभ खातीको संगीत तथा देवी घर्ती र दिप्लभ खातीको आवाज रहेकाे छ। गीतकाे भिडियोमा विनोद भण्डारीको निर्देशन रहेको छ भने अनिल पौडेल र जुना विश्वकर्माको अभिनय रहेकाे छ।
मोडल पौडेल र गायक खाती दुवै जना बागलुङको निसीखोला गाउँका हुन्। अनिल पेशाले सिभिल इन्जिनियर पनि हुन्। उनले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेका छन् भने, गायक खातीले पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन्।
गीत ‘अनिल पौडेल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। टिमले “माया आउने बस” मा पाएको दर्शकको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै, “कलकत्ते काइयो” मार्फत पुनः सोही प्रेमलाई निरन्तरता दिन सफल मोडल पौडेलले बताए । याे समाचार तयार पार्दासम्म गीतले युट्युबमा २ लाख ८२ हजार बढी भ्युज पाएकाे छ ।
