• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङ एमालेका ३६ नेताका २२ वडा : कस्तो छ विगतको अवस्था ?

  • २०८२ आश्विन २४, शुक्रबार

बागलुङ । राणाशासनको अन्त्यदेखि शुरु भएको लोकतान्त्रिक आन्दोलनले ७५ वर्ष पुरा गरी सकेको छ । यो बीचमा राजनीतिक दलहरुले पटक पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएका छन् । अवसर नपाउदा एकतावद्ध हुने, संयुक्त आन्दोलन गर्ने राजनीतिक दलहरु, दलहरुभित्रको समुह समेत सत्तामा हुदा सही बाटोमा नहिडेका कारण आज मुलुकको अवस्था फेरी एक पटक अन्यौलको भूमरीमा परेको छ ।

मुलुकका प्रमुख राजनीतिक दलहरुमा गुट अर्थात समुह ओपन सेक्रेट नै छन् । नेपाली कांग्रेसमा ६०/४० को भागवण्डा चल्ने गरेको धेरै समय भइसक्यो । महाधिवेशनबाट बहुमत पाउनेले ६० प्रतिशत र सभापतिमा पराजित हुनेको समुहले ४० प्रतिशत भागवण्डा लिने प्रचलन कांग्रेसमा लामै समयदेखि देखिदै आएको छ ।

एमालेमा नवौ महाधिवेशनमा केपी ओली र माधव नेपालले गुट बनाएर चुनावमा खुल्ला प्रतिस्पर्धा गरेका थिए । त्यो भन्दा पहिला पनि गुट थियो, अहिले पनि गुटगत राजनीति हावी नै छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका पुराना दलमा गुट स्वभाविक जस्तै बनि सकेको छ । नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत गुटका कुरा चर्चामा छन् ।

राजनीतिक दलका नेता कार्यकर्ता आन्तरिक चुनावमा पार्टीको पद प्राप्तिका लागि अग्रसर हुने, गुट बनाउने, अझ दुइवटै गुटको लिष्टमा आफ्नो नाम राखेर चुनाव जित्ने होडवाजी नै चल्ने, राज्यका निकायहरुको चुनावमा टिकट लिन अनेक हतकण्डा अपनाउने तर ति सबै नेता कार्यकर्ता ऐन, मौकामा, पार्टी र मुलुकको संकटमा अग्रभागमा देखिएका दृष्यहरु कमै देखिन्छन् । विगतका आन्दोलनहरुमा सक्रिय हुने कार्यकर्ता भन्दा आन्दोलनभन्दा बाहिरबाट नेतृत्वमा आएका थुप्रै उदाहरणहरु छन् ।

मुलुकमा २०८२ भदौ २३ र २४ गते नयाँ पुस्ताले एउटा विद्रोह गरे । प्रमुख दुइ दल मिलेर बनेको सरकार, जसलाई स्वयं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तोप पड्काए पनि ढल्न नसक्ने सरकार भन्थे ? त्यो सरकार मात्रै ढलेन ? ७६ जनाको ज्यान गयो, मुलुकका ऐतिहासिक संरचना ध्वस्त भए, दलका नेताहरु कुटिए, घर जलाउने काम भयो । जनधनको ठुलो क्षति भएको त्यो विषय अझै पनि केही दलका नेताहरुमा सामान्य जस्तै लागेको छ । त्यो बिद्रोह होइन, यसो केटाकेटी आए, गुलेली खेलाए, गए भन्ने जस्तो भान नेताहरुको प्रस्तुतीबाट देखिन्छ ?

पछिल्लो ३ दशकको अधिकांश समय सरकार सञ्चालन गरेका राजनीतिक दलहरुमा देखिएका कमी कमजोरीका कारण जेन जी अर्थात नवयुवाहरुको आन्दोलनले विद्रोहको रुप लियो । जेनजी आन्दोलनपछि दलका गतिविधिलाई सक्रिय बनाउन पर्ने मुख्य जिम्मेवारीमा रहेका नेताहरुको अवस्था कस्तो छ ? उनीहरुको विगत अर्थात आफ्नो वडाको राजनीतिक अवस्था कस्तो छ ? हामीले सोधी खोजी गर्न थालेका छौ ।

पार्टीको नेता हुने, तर आफ्नै वडामा आफ्नो अवस्था कति बलियो छ, नेताहरुको कार्यकर्तासंगको सम्बन्ध कस्तो छ ? जनताका बीचमा नेताको सम्बन्ध चुनावदेखि चुनावसम्म मात्रै छ कि ? अन्य समयमा पनि नेताहरु जनताकै बीचमा छन्, यस्तै विषयमा हामीले चर्चा गर्न शुरु गरेका छौ । गठबन्धनका नाममा सत्तामा पुग्ने प्रवृतिका कारण राजनीतिक रुपमा इमान्दार बनेर काम गरेका भन्दा पनि अवसरको खोजी गर्ने, पार्टी र नेताहरुलाई साथ सहयोग गर्नेहरुले बढी अवसर लिएको कुरा पनि जनताका अगाडि छर्लङ्ग नै छ ।

यसै सन्दर्भमा यसपटक हामीले बागलुङमा एमाले हाँक्ने ३६ नेताको पछिल्लो स्थानीय तह निर्वाचनको वडाको अवस्थाका बारेमा चर्चा गर्दैछौ । नेकपा एमालेमा बागलुङबाट केन्द्र, प्रदेश र जिल्लाको पदाधिकारीमा ३६ जना नेता जिम्मेवारीमा रहेका छन् । ३६ जनालाई बागलुङमा एमाले हाँक्ने शिर्ष नेतृत्वका रुपमा लिइन्छ । एमाले हाँक्ने जिम्मेवारी लिएका ३६ नेताहरु मध्ये केन्द्रीय कमिटिमा (२ जना पोलिटव्यूरो सहित) ८ जना, केन्द्रीय सल्लाहकार परिषदमा ३ जना, प्रदेश कमिटिमा (५ जना सचिवालय सदस्य सहित) २० जना र जिल्ला कमिटिको पदाधिकारीमा ५ जना रहेका छन् ।

बागलुङ एमालेलाई अगाडि बढाउने मुल नेतृत्व यही नै हो । ३६ जनाको यो नेतृत्व सक्रिय भएर मैदानमा उत्रिदा बागलुङमा रहेका एमालेका ५ हजार भन्दा बढी सक्रिय सदस्यहरुको मनोबल ह्वात्तै बढ्छ । सिंगो एमाले सक्रिय हुदा एमालेलाई माया गर्ने, मतदान गर्ने, एमालेप्रति सद्भाव राख्नेहरुमा उत्साह बढ्न सक्छ । के आज त्यो अवस्था छ त ? यस्तो अवस्थामा पनि गुटका कुरा, नेता विशेषका कुरामा अगुवाहरु अल्झिएका हुन् कि ? छलफलको विषय बन्दैन, बनोस् भन्ने कार्यकर्ताको चाहना हो ।

एमालेका नेता कार्यकर्ता सक्रिय हुदा, एमालेलाई मात्रै फाइदा हुदैन, सिंगो लोकतान्त्रिक प्रक्रियालाई प्रभाव पार्छ, अन्य दलका नेता कार्यकर्ताहरुलाई समेत सक्रिय बन्न प्रेरित गर्छ । तुलनात्मक रुपमा विगतदेखि नै जिल्लामा युवाहरुको नेतृत्व रहेको बागलुङ एमालेलाई सक्रिय बनाउने कि ? नबनाउने भन्ने जिम्मेवारी मुलत : यि ३६ जना नेतामा भर पर्दछ ।

एमालेका केन्द्रीय उप–महासचिव प्रदीप ज्ञवालीले केही समय अगाडि पार्टीका नेताहरुले आफ्नो वडा जिताइदिए मात्रै एमाले मुलुकको बलियो राष्ट्रिय शक्ति बन्ने थियो, भन्दै केन्द्रीय नेताहरुकै वडामा पराजित भएको प्रसंग कोट्याएका थिए । उप–महासचिव ज्ञवालीले एमालेको विधान महाधिवेशन भन्दा अगावै गरेको त्यो टिप्पणी अहिले पनि सान्दर्भिक हुन्छ भन्ने लागेर हामीले बागलुङका एमाले नेताहरुको वडागत अवस्थाको चर्चा गरेका हौ ।

एमाले महासचिव शंकर पोखरेलले जेनजी विद्रोह पछि बलियो राष्ट्रिय शक्ति निर्माणको औचित्य थप पुष्टी भएको बताउदै आएका छन् । बलियो राष्ट्रिय शक्ति बनाउन सबै भन्दा पहिला त केन्द्रीय कमिटि, प्रदेश कमिटि र जिल्ला कमिटिले नै अगुवाई गर्ने होला ? त्यसपछि पालिका, वडा र टोल कमिटिहरुको सक्रियता बढ्ने होला ?

तर के त्यस्तो अवस्था छ त ? पार्टीका जिम्मेवार तहमा बसेका नेताहरुको प्रस्तुती, भूमिका, नेतृत्वदायी क्षमता, जनताका बीचको सम्बन्ध लगायतका विषयमा आम कार्यकर्ताले चासो व्यक्त गर्ने, आलोचनात्मक चेत सहित खबरदारी गर्ने प्रचलन कम भएर गएको छ । आलोचना ग¥यो कि ? तार्गेटमा परिने चिन्ता पनि कार्यकर्तामा बढ्दै गएको छ । जसका कारण पार्टीका संगठनहरु कमजोर बन्दै गएका छन् ।

पार्टीका कमिटिहरुको सक्रियतासंगै आलोचनात्मक चेतमा वृद्धि हुने हो भने दलहरु बलिया, ठुला मात्रै बन्दैनन्, जनताका समस्या समाधानका पनि सारथी बन्ने थिए, दल भित्रका गुट, गुट भित्रका उपगुट, उपगुट भित्रका भित्रिया र बाहिरिया जस्ता अनेक कारणले देखिएका समस्या समाधानका लागि एमालेले अंगिकार गरेको बहुदलीय जनवाद अन्तरगतको आन्तरिक जनवाद, आन्तरिक प्रतिस्पर्धा, प्रतिस्पर्धाबाट श्रेष्ठताको विधिलाई अवलम्बन गरिन जरुरी छ । नेकपा एमाले लगायतका राजनीतिक दलहरुमा के यस्तो अवस्था छ त ?

बागलुङमा एमालेको कमाण्ड सम्हालेका यिनै ३६ जना मध्ये अधिकांश नेताहरुका वडा र पालिकामा एमालेकै शासन छैन, अर्थात वडामा एमाले पराजित भएको अवस्था छ । ३६ जना नेता मध्ये केही नेताहरु दोहोरिएका कारण २२ वटा वडाबाट नेतृत्वमा प्रतिनिधित्व भएको छ । २२ वटा वडाबाट नेतृत्वमा प्रतिनिधित्व भएका नेताहरुका वडा मध्ये एमालेले जितेका वडा ९ वटा मात्रै छन् ।

वडागत अवस्था हेर्दा ८ जना केन्द्रीय सदस्य र ३ जना केन्द्रीय सल्लाहकार परिषदका गरी ११ जना केन्द्रीय नेताको वडा मध्ये केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र केन्द्रीय सल्लाहकार परिषद सदस्य मोहनलाल शर्माको वडामा मात्र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेका उमेदवार विजयी भएका छन् । यस्तै प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने २० जना नेता मध्ये भिम प्रसाद शेरचन (सुनिल), शिवप्रसाद सापकोटा, डा. डिल्लीराज गौतम र अमर बहादुर थापा, बाबुराम नेपाली, बिर बहादुर विकको वडामा मात्र एमालेका उमेदवार विजयी भएका छन् ।

एमाले बागलुङका पदाधिकारीहरु मध्ये अध्यक्ष हिरा बहादुर केसी, उपाध्यक्ष विष्णु प्रसाद भुषाल र उपसचिव करमति पुनको वडामा एमाले विजयी भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङका १० मध्ये एमालेले ढोरपाटन नगरपालिकाको मेयर मात्र जितेको थियो । एकमात्र मेयर पनि सहकारीको रकम अपचलन मुद्दामा डेढ वर्ष भूमिगत भई पछिल्लो एक वर्षदेखि कारागारमा रहेका छन् । पैसावाला व्यक्ति भन्दै २०७४ को स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता गराउने दिन माओवादीबाट एमालेमा प्रवेश गराइ नगर प्रमुखमा उमेदवार बनाएका नेपालीले २०७४ र २०७९ मा एमालेका तर्फबाट नगर प्रमुखमा चुनाव जितेका थिए ।

वडागत अवस्था हेर्दा पोलिटव्यूरो सदस्य लिल बहादुर थापा मगर र प्रदेश कमिटि सदस्य प्रदिप थापा मगरको वडा बरेङ गाउँपालिका वडा नं. २ मा राष्ट्रिय जनमोर्चाका उमेदवार हिरा बहादुर घर्तिले ८९९ मत ल्याएर विजयी हुदा एमालेका पदमजंग श्रीसले ६७६ मत पाएका थिए । बरेङ गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट प्रदेश कमिटि सदस्य प्रदिप थापा मगर उमेदवार थिए । उनले २ हजार २३२ मत ल्याएका थिए, गठबन्धनका तर्फबाट उमेदवार बनेको राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा ३ हजार ६०१ मत प्राप्त गरी विजयी भएका थिए ।

यस्तै पोलिटव्यूरो सदस्य मन कुमारी केसी जिसी र केन्द्रीय सदस्य कृष्ण बहादुर केसी तथा गण्डकी प्रदेश कमिटिका सदस्य सञ्जय कुमार श्रेष्ठको वडा बागलुङ नगरपालिका वडा नं. २ मा गठबन्धनका तर्फबाट नेकपा एसका उमेदवार सुरज बोसेलले ४२८ मत ल्याएर विजयी हुदा एमालेका राम बहादुर जिसीले ३९८ मत प्राप्त गरेका थिए ।

केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र गण्डकी प्रदेश कमिटि सदस्य शिव प्रसाद सापकोटाको वडा बागलुङ नगरपालिका वडा नं. ५ मालिकामा एमालेका उमेदवार हरि प्रसाद शर्मा ७३८ मत प्राप्त गरेर विजयी भएका थिए । गठबन्धनका तर्फबाट कांग्रेसका फुल प्रसाद सापकोटाले ६४१ मत पाएका थिए । यो वडा २०४६ सालको परिवर्तन पछि नै निरन्तर एमालेले जित्दै आएको छ । २०४९ मा रामजी प्रसाद शर्मा र २०५४ मा इन्द्रलाल सापकोटा गाविस अध्यक्ष भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा शिव प्रसाद सापकोटा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

२०७४ मा संघीय सांसद रहेका वर्तमान केन्द्रीय सदस्य डा.सूर्य पाठक, गण्डकी प्रदेशका वर्तमान स्वास्थ्यमन्त्री तथा प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण पाठक र जिल्ला उप–सचिव धन बहादुर परियारको वडा बागलुङ नगरपालिका वडा नं. १२ मा कांग्रेसबाट विद्रोह गरेका कोपिलामणी शर्माले १३३८ मत ल्याएर विजयी हुदा एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याएका थिए । २०७४ मा वडा अध्यक्षमा विजयी पाठक २०७९ मा पराजित भएका थिए । संघीय सांसद र प्रदेश सांसद तथा मन्त्रीको वडामा गठबन्धनका बागी उमेदवारले फराकिलो मतान्तरले वडा जितेका हुन् । यहाँ गठबन्धनका तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले १७८ मत पाएका थिए ।

पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य गोविन्द बहादुर नेपाली, प्रदेश कमिटि सदस्य गिता शर्मा र प्रदेश कमिटि सदस्य ममतादेवी शर्माको मतदाता रहेको बागलुङ नगरपालिका वडा नं. १ मा पनि नेपाली कांग्रेसका जय बहादुर खत्रीले ४७४ मत ल्याउदा एमालेका दुर्गे सार्कीले ४६६ मत ल्याए । २०७४ मा वडा अध्यक्ष भएका सार्की जम्मा ८ मतले पराजित भएका थिए ।

केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सांसद सावित्रा राना, प्रदेश कमिटि सदस्य तथा जैमिनी नगरपालिकाका पूर्व उप–प्रमुख लिला राना र प्रदेश कमिटि सदस्य कृष्णराज पौडेल (सञ्जाल) को वडा जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा नेपाली कांग्रेसका केन्द्र बहादुर रसाइलीले ८२९ मत ल्याएर विजयी हुदा एमालेका जयराम शर्माले १९८ मत पाएका थिए । पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा पछिल्लो समय नेकपा एसबाट एमाले प्रवेश गरेका श्रीप्रसाद शर्मा समेत रहेको यो वडा एमालेका नेताहरुको राम्रै उपस्थिति रहेको वडाका रुपमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेकी हाल केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको वडा गलकोट नगरपालिका वडा नं. ३ मा कांग्रेसका फम बहादुर खत्रीले १०४० मत ल्याएर विजयी हुदा एमालेका हर्क बहादुर पन्तले ३४२ मत ल्याएका थिए । उक्त चुनावमा चालिसे कांग्रेसको बागी भएर नगर प्रमुखमा उमेदवार रहेकी थिइन् । २०७९ जेठमा भएको स्थानीय तह निर्वाचन ताका कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उमेदवार बनेकी चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी थिइन । गलकोटमा एमालेका उमेदवार पूर्ण बहादुर काउचा घर्तिले ३ हजार ५१९ मत ल्याउदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भरत शर्माले ५ हजार ३१४ मत ल्याएर विजयी भएका थिए ।

कांग्रेसबाट विद्रोह गरेक चालिसे मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नंं. २ मा एमालेका तर्फबाट उमेदवार बनेर २० हजार १९३ मत प्राप्त गरेकी थिइन । उक्त निर्वाचनमा कांग्रेस, माओवादी, राजमो र नेकपा एसको गठबन्धनका उमेदवार देवेन्द्र पौडेलले २४ हजार ७९४ मत प्राप्त गरी विजयी भएका थिए । गठबन्धनलाई चुनौती दिएकी चालिसे २०८० असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटि सदस्यमा निर्वाचित भएकी थिइन, उनलाई पार्टीले २०८१ मा केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको थियो । हाल उनी बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (क) मा एमालेको इन्चार्जका रुपमा रहेकी छिन् ।

यस्तै केन्द्रीय सल्लाहकार परिषदका सदस्य मोहनलाल शर्मा, जिल्ला उप–सचिव करमती पुनको वडा ढोरपाटन नगरपालिका वडा नं. ५ मा एमालेका दिपेन्द्र पुन मगरले ७९७ मत ल्याएर विजयी भएका थिए भने नेकपा माओवादी केन्द्रका भीम बहादुर गौतमले ५३३ मत ल्याएका थिए । केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेल, प्रदेश कमिटि सदस्य भिमा अधिकारीको वडा बागलुङ नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसका सनी केसीले ९८३ मत ल्याएर विजयी हुदा एमालेका कमल खड्काले ६७० मत प्राप्त गरेका थिए । यो वडामा एमालेले टिकट नदिएका कारण स्वतन्त्र उमेदवारी दिएका पुनम प्रसाद शर्माले ६१३, स्वतन्त्र उमेदवारी दिएका बाबुलाल शाक्यले २६० र नेकपा एसका पिंगलराज गौतमले ७७ मत पाएका थिए । बामपन्थी मत धेरै रहेको यो वडामा उमेदवार छनोट लगायतका विषयमा ध्यान नपुगेको बताइन्छ ।

यस्तै नेपाली कांग्रेसबाट २०७९ को निर्वाचन पछि एमाले प्रवेश गरेका हाल केन्द्रीय सल्लाहकार परिषदका सदस्य नवराज शर्माको जैमिनी नगरपालिका वडा नं. ८ मा नेपाली कांग्रेसका बिमल श्रीस मगरले १०५० मत ल्याएर विजयी हुदा एमालेका कुल बहादुर पुनले ६५१ मत ल्याएका थिए ।

संविधानसभाका सदस्य तथा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य नर बहादुर थापा मगरको वडा, बागलुङ नगरपालिका वडा नं. १० मा नेकपा एसका तिल बहादुर थापाले ८९६ मत ल्याएर विजयी हुदा एमालेका विजय थापाले ८२७ मत ल्याएका थिए । २०४६ सालको परिवर्तन पछि एमालेको गढका रुपमा रहेको भकुण्डे २०७९ को स्थानीय र प्रदेश तथा संघको निर्वाचनमा एमाले कमजोर देखिएको थियो । भकुण्डे, रेश, धम्जा, मालिका, दगातुन्डाडा लगायतका स्थान एमालेका गढका रुपमा चिनिन्छन् ।

प्रदेश कमिटि सचिवालय सदस्य तथा भूमि आयोगका निवर्तमान जिल्ला अध्यक्ष भीम प्रसाद शेरचन (सुनिल) को वडा बडिगाड गाउँपालिका वडा नं. ३ मा एमालेका खडक बहादुर पुनले ६८९ मत ल्याएर विजयी हुदा कांग्रेसका लोकन्द्र बहादुर घर्ति मगरले ५६९ मत प्राप्त गरेका थिए । प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपालीको वडा गलकोट नगरपालिका वडा नं. ११ मा एमालेका डम्मर बहादुर श्रीसले ९७३ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका थिए । सो वडामा राष्ट्रिय जनमोर्चाका दल बहादुर बुढाथोकीले ७०९ मत प्राप्त गरेका थिए ।

प्रदेश कमिटि सदस्य डा.डिल्लीराज गौतम र प्रदेश कमिटि सदस्य तथा काठेखोला गाउँपालिकाका पूर्व अध्यक्ष अमर बहादुर थापा मतदाता रहेको काठेखोला गाउँपालिका वडा न. २ भीमापोखरामा एमालेका विद्यापती शर्माले १०३० मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी हुदा कांग्रेसका गंगा कुमारी थापाले ९८१ मत प्राप्त गरेकी थिइन् ।

बागलुङ नगरपालिका वडा नं. ४ निवासी प्रदेश कमिटि सदस्य तथा सोही वडाका पूर्व वडा अध्यक्ष ध्रुव बहादुर केसीको वडामा माओवादीका कुमार विक्रम क्षेत्रीले १०३३ मत ल्याएर विजयी हुदा एमालेका कल्याण केसीले ५९४ मत प्राप्त गरेका थिए । प्रदेश कमिटि सदस्य टंक प्रसाद शर्मा पौडेलको वडा निसीखोला गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका टिकानिधी पौडेलले ६७७ मत ल्याएर विजयी हुदा एमालेका लोकेश्वर पौडेलले ४३३ मत पाएका थिए ।

नेकपा माओवादीबाट विद्रोह गरी एमाले प्रवेश गरेका हाल प्रदेश कमिटि सदस्य तिलक उप्रेतीको गलकोट नगरपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका राम प्रसाद कंडेलले ५०५ मत ल्याएर विजयी हुदा एमालेका भक्त बहादुर सार्कीले ४४९ मत प्राप्त गरेका थिए । यस्तै अल्पसंख्यक समुदायबाट एमाले गण्डकी प्रदेश कमिटि सदस्यमा निर्वाचित उदिम बहादुर छन्त्यालको वडा तमानखोला गाउँपालिका वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका छ प्रसाद सिर्पालीले ३१८ मत ल्याएर विजयी हुदा एमालेका तर्फबाट उमेदवार रहेका उदिम बहादुर छन्त्यालले १८४ मत प्राप्त गरे ।

२०७८ मा एमाले विभाजनमा नेकपा एस रोजेर २०७९ को स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनको नेता बनेर चुनाव हाकेका र हालै एमाले प्रवेश गरेर प्रदेश कमिटि सदस्य मनोनित भएका लाल बहादुर थापा र जिल्ला सचिव तथा सोही वडाका तत्कालिन वडा अध्यक्ष गणेश बहादुर थापाको वडा बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा कांग्रेसका राजु थापाले १२३३ मत ल्याएर विजयी हुदा एमालेका अगम बहादुर खड्काले ८८८ मत प्राप्त गरेका थिए ।

प्रदेश कमिटि अन्तरगत लेखा आयोगका सचिव बीर बहादुर विक ढोरपाटन नगरपालिका वडा नं. ९ का मतदाता हुन्, उनको वडामा एमालेका खीम बहादुर घर्ति मगरले ४०२ मत ल्याएर विजयी भएका थिए । त्यहा नेकपा एसका राजेन्द्र विकले ३८८ मत पाएका थिए । एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीको वडा काठेखोला गाउँपालिका वडा नं. २ धम्जामा एमालेका कुल बहादुर विकले ८९६ मत ल्याएर विजयी हुदा नेकपा एसका याम बहादुर श्रीसले ५५७ मत ल्याएका थिए । धम्जा २०४६ को परिवर्तन पछि हालसम्म नै एमालेको गढका रुपमा रहेको छ । २०४९ र २०५४ मा धम्जा गाविसको अध्यक्षमा एमालेका नेता विष्णु भण्डारी विजयी भएका थिए ।

एमाले बागलुङका उपाध्यक्ष विष्णु प्रसाद भुषालको वडा बडिगाड गाउँपालिका वडा नं २ मा एमालेका ढाल प्रसाद शेरचन ६८० मत ल्याएर विजयी हुदा कांग्रेसका डिल बहादुर रानाले ६०० मत प्राप्त गरेका थिए । साढे ३ वर्ष पहिला भएको स्थानीय निर्वाचनको यो अवस्था हेर्दा एमालेको अवस्था कमजोर नै थियो । यद्यपी अन्य दलहरुको गठबन्धन भएका कारण एमालेले पाएको मत शुद्ध मत अन्य दलहरुको भन्दा बढी भएको एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले बताए ।

२०७९ मा भएको संघीय र प्रदेशसभा निर्वाचनमा एमाले एक्लै लडेर ल्याएको मतका आधारमा प्रदेशतर्फ एमाले पहिलो दल हो । प्रदेशसभामा समानुपातिकतर्फ एमालेले ३३ हजार १७१ मत ल्याएको थियो । नेपाली कांग्रेसले ३१ हजार ५६८, नेकपा माओवादी केन्द्रले १३ हजार ५६८, राष्ट्रिय जनमोर्र्चाले ११ हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७८३ र नेकपा एकीकृत समाजवादीले ८०२ मत ल्याएका थिए । प्रदेशसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवारी दिएका थिएन ।

संघतर्फ भने नेपाली कांग्रेस नै पहिलो पार्टी बनेको थियो । संघको समानुपातिकतर्फ कांग्रेसले ३२ हजार ७७६, एमालेले ३० हजार ८९६, माओवादी केन्द्रले ११ हजार २०४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ३३, राजमोले ८ हजार ६१६, राप्रपाले १ हजार ३४३ र नेकपा एसले ६४३ मत पाएका थिए । २०७९ को निर्वाचनमा बागलुुङमा एमालेले जति मत ल्यायो त्यो एमालेको मात्रै शुद्ध मत हो, बागलुङमा विगतमा गठबन्धन गरेर चुनाव लड्नु पर्ने अवस्था थियो, तर उक्त निर्वाचनमा ५ दलीय गठबन्धनसंग एक्लै प्रतिस्पर्धा गरेको हुनाले प्राविधिक रुपमा धेरै ठाउँमा पराजित भए पनि हाम्रो एकल मत बढेको छ, अध्यक्ष केसीले भने,–‘अब हुने चुनावमा सबै दल छुट्टा छुट्टै प्रतिस्पर्धामा जाने र एमालेले २०७९ मा प्राप्त गरेको मत मात्रै संरक्षण गर्न सक्दा हामी बागलुङको पहिलो दल बन्छौ ।’

३/४ वर्ष पहिलाको जनमतलाई आधार मानेर हामी बलियो छौ भन्ने कुरा कल्पना मात्रै हो, यो बीचमा काली गण्डकीमा धेरै पानी बगिसेकेको छ, मुलुकमा नयाँ शक्तिहरु उदायका छन्, पछिल्लो समय जेन जी विद्रोहले युवाको चेनतास्तर धेरै माथि पु¥याएकोले एमालेले दावी गरेको जस्तो अवस्था नभएको एमाले समर्थक एक युवाले बताए । पुराना दलहरु एमाले, कांग्रेस र माओवादीप्रतिको वितृष्णाको एउटा सांकेतिक विद्रोह जेन जीको आन्दोलन हो, पार्टीहरुले आन्तरिक लोकतन्त्रलाई संस्थागत नगर्नेदेखि सत्तामा पुगेर गरेका मनमर्जी कामका कारण आम जनतामा दलहरुप्रति वितृष्णा छ, अब दलहरुले आफुलाई सुधार गरेर नयाँ तरिकाले अगाडि नबढ्दासम्म दलहरुको जनमत बढ्ने देखिदैन, उनले भने ।

पार्टीको आन्तरिक निर्वाचनहरुमा पद प्राप्तिका लागि चाहिने नचाहिने सबै खेलमा सहभागी हुनेहरु पार्टीलाई समस्या पर्दा अर्थात महत्वपूर्ण घडिमा मौन रहने, गुट कता बलियो हुन्छ ? त्यतै लाग्ने अवस्था विगत देखिकै हो ? अहिले पनि त्यो देखिदैछ, एमालेका एक जिल्ला सदस्यले गुनासो गरे । एमाले बागलुङ हाँक्ने ३६ जनाको सक्रियता कस्तो छ ? एमालेका कार्यकर्ताहरुले खबरदारी गर्नु पर्ने होइन र ? पद लिने, अनि पार्टीलाई संकट पर्दा गुटकै भजन गाउने, नेताको उछितो काढ्ने र गुनासो मात्र गर्नेहरुबाट पार्टी बलियो बन्ने र मुुलुकको लोकतान्त्रिक आन्दोलन सवल बन्ने संभावना छ त ?

फेरी पनि एमाले जत्तिको दलका जिल्ला नेताहरु जनताका बीचमा पुग्न सक्दा आगामी दिनमा एमाले थप बलियो बन्ने अवस्था छ, तर माथिल्लो तहका नेताहरुले लिने निर्णय र गर्ने कामले तल्लो तहलाई असर गरेको छ, मैदानमा जनताका बीचमा काम गर्नेलाई सहज हुने गरी माथि नीति बनाउने कुरामा सबैको खबरदारी आवश्यक छ, ति जिल्ला सदस्यले बताए ।

 

 

  • २०८२ आश्विन २४, शुक्रबार