• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुुङ कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा दुई तिहाई

बागलुङ । जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको छलफललाई जवरजस्त रुपमा अगाडि बढाएको छ । २०८१ असारमा गठबन्धन गरेर २०८४ सम्मका लागि गठबन्धन सरकार सञ्चालन गर्ने सपना बुनेका दलहरुलाई जेन जी आन्दोलनले असफल बनाइदिएको छ ।

प्रमुख पार्टीका २ जना प्रमुखहरुले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका दलका शिर्ष नेताहरुले प्रधानमन्त्री, मन्त्रीबाट त तत्काल हट्नु पर्ने अवस्था आयो, पार्टीको जिम्मेवारीबाट समेत तत्काल छोड्नु पर्ने दवाव तलैदेखि जवरजस्त रुपमा उठ्न थालेको छ । एमालेको जारी सचिवालय वैठकमा लिखित रुपमै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नु पर्ने आवाज उठेको छ ।

नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल विशेष महाधिवेशन गर्नु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेपछि देशव्यापी रुपमा नेतृत्व परिवर्तनको पक्षमा आकर्षण बढेको छ । नेपाली कांग्रेस १५ औं महाधिवेशनको संघारमा छ । मंसिरभित्र महाधिवेशन सक्नु पर्ने दवावमा रहेको कांग्रेस संस्थापन सहज अवस्थामा एक वर्ष महाधिवेशनको मिति सार्ने सुरसारमा थियो ।

तर यतिबेला कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशनको विषय जोडतोडले उठेको छ । एकाथरी कांग्रेसीहरु नियमित महाधिवेशनको चर्चा गरीरहेका छन् भने अर्काथरी नियमित हुन सक्दैन भने विशेष महाधिवेशन गर्ने भन्दै हस्ताक्षर अभियान संकलनमा लागेको छ ।

केही दिनदेखि जारी पदाधिकारी वैठकमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषय प्राथमिकताका साथ उठेको छ । महामन्त्री गगन थापाले नियमित महाधिवेशनमै सहमति हुन सकिने संकेत गरेका छन् । नियमित नभए, विशेष महाधिवेशन बटमलाईन हो भन्ने सन्देश महामन्त्रीहरुले दिएका छन् ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले शुरु गरेको विशेष महाधिवेशन गर्ने पक्षमा बागलुङका महाधिवेशन प्रतिनिधिहरुमा दुइ तिहाई बहुमत देखिएको छ । १४ औं महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरु मध्ये २ तिहाइ महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।

क्षेत्र नम्बर १ बाट २० जना र क्षेत्र नं. २ बाट १४ जना गरी ३४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् । जम्मा ५२ जना महाधिवेशन प्रतिनिधिमा ३४ जनाले हस्ताक्षर गरेकाले दुइ तिहाइ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा बागलुङ क्षेत्र नं. १ बाट २५ जना रहेका छन् । २६ जना प्रतिनिधि रहेकोमा नवराज शर्मा पौडेल एमाले प्रवेश गरेपछि २५ जना रहेका हुन् । ति मध्ये १८ जनाले विशेष महाधिवेशनको पक्षमा मतदान गरेका छन् । प्रजातान्त्रिक सेनानी संघबाट महाधिवेशन प्रतिनिधि बनेका पूर्व सांसद टंक प्रसाद शर्मा कंडेल र प्रवासबाट महाधिवेशन प्रतिनिधि बनेका काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पनि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कंडेल र थापा सहित बागलुङ क्षेत्र नंं. १ बाट विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्नेको संख्या २० जना पुगेको नेपाली कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा पौडेल (बाबु) ले जानकारी दिनुभयो ।

क्षेत्र नं. १ सेनानी संघ र प्रवास समेत २६ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्, नगर सभापति शर्माले भन्नुभयो,–‘नेपाली कांग्रेसमा अब छिटो भन्दा छिटो नेतृत्व परिवर्तन गरेर जानु पर्छ भन्नेमा जिल्लाको मत बढी देखियो ।’

बागलुङ क्षेत्र नं. २ मा २६ जना महाधिवेशन प्रतिनिधिमा देवी प्रसाद भट्टचन र मञ्जु शर्मा चालिसे एमालेमा प्रवेश गरेपछि २४ जना रहेका थिए । २४ जनामा १३ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । भूपू सैनिक संघबाट महाधिवेशन प्रतिनिधि बनेका टोप बहादुर मल्लले पनि हस्ताक्षर गरेपछि क्षेत्र नम्बर २ बाट हस्ताक्षर गर्नेको सख्या १४ पुगेका छन् ।

बागलुङमा नेपाली कांग्रेसको संस्थापन पक्ष यतिबेला कमजोर देखिएको छ । संस्थापन पक्षका चम्पादेवी खड्का र किरणराज पौडेल नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका छन् । उनीहरुकै कार्यक्षेत्र रहेको क्षेत्र नम्बर १ मा संस्थापन पक्ष निकै कमजोर देखिएको छ । पूर्व सभापति तथा गण्डकी प्रदेशका पूर्वमन्त्री मणिभन्द्र शर्मा कंडेल, पूर्व सभापति तथा गण्डकी प्रदेशका पूर्व मन्त्री दिपेन्द्र बहादुर थापा सहितका नेताहरुको क्षेत्र र जिल्लामा संस्थापन कमजोर देखिएको हो ।

महामन्त्रीहरुले शुरु गरेको हस्ताक्षर अभियानमा पूर्व सभापति तथा संविधानसभाका सदस्य प्रकाश पौडेलले पनि हस्ताक्षर गर्नु भएको छैन । २ जना बहालवाला केन्द्रीय सदस्य, ३ जना जिल्लाका पूर्व पार्टी सभापतिहरु, वर्तमान सभापति तथा प्रदेशसभा सदस्य जीत बहादुर शेरचन, प्रदेशसभा सदस्य द्रोण कुँवर, प्रदेशसभा सदस्य दिलमाया पौवी, प्रदेश समितिका कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, जिल्ला सचिव तथा बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे लगायत १८ जना महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि शुरु भएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छैनन् ।

पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, पूर्व सांसद टंक प्रसाद शर्मा कंडेल, पूर्व सांसद नर बहादुर पुन (निरज) पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, जिल्ला सचिव तथा जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा लगायतका ३४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।

झट्ट हेर्दा कांग्रेस विधान महाधिवेशनको पक्ष र विपक्ष देखिए पनि पार्टी भित्रका विचार समुहहरुबीचको कडा प्रतिस्पर्धा नेपाली कांग्रेसमा विगतदेखि नै देखिदै आएको छ । हालको नेतृत्वलाई कति समय नेतृत्व गर्न दिने ? यो विषय मुख्य राजनीतिक दलहरुमा जमेर छलफल हुन थालेको छ । नेपाली कांग्रेसमा शेर बहादुर देउवा र एमालेमा केपी शर्मा ओलीलाई छिटो भन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न चर्को दवाव छ । कांग्रेस सभापतिले १५ औं महाधिवेशनबाट सभापति नदोहोरिने घोषणा गर्नु भएको छ । एमालेमा ओलीले अझै त्यसरी बोल्ने आँट गर्नु भएको छैन । यद्यपी दुवै दलमा मुल नेतृत्वको विपक्षमा माहोल बन्दै गएको छ ।