• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङ बजारका दुई स्थानमा निःशुल्क इन्टरनेट

बागलुङ । बागलुङको दुई स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ ।

बागलुङ बजारका सडक खाल्टाखुटी पुर्ने र सरसफाईमा सक्रिय दुई युवाले बागलुङ बजारको तीन स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार कालिका मन्दिर र समिक्षलय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट जडान गरेका छन् । उक्त इन्टरनेट एक सय मिटर भन्दा बढी वरपरको क्षेत्रमा निःशुल्क चल्नेछ ।

सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैबेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लागतमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएका छन् ।

व्यक्तिगत रुपमा बागलुङ बजारका अव्यवस्थित रुपमा देखिएको खाल्टा–खुल्टी सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय दुई युवाले पहिलो चरणमा कालिका मन्दिर र समिक्षलय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेका हुन् ।

एक सय मिटर भन्दा टाढा सम्म वाईफाई टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैबेद्य सिग्देलले जानकारी दिनुभयो ।

कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समिक्षलय चोक सहित विरेन्द्र ऐश्वर्य पार्कमा आउने नागरिकलाई लक्षित गरी इन्टरनेट सुविधा दिइएको छ ।

द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई रु. ३७ हजार पर्ने उहाँको भनाई छ । “दुर्गम गाउँमा निःशुल्क इन्टरनेट भइसक्यो, हाम्रो ठूलो शहरमा यो व्यवस्था थिएन, तीन वटा उपकरण खरिद गरेर ल्याएका छौं, दुई वटा जडान भइसक्यो, एउटा जडान गर्ने स्थानको खोजीमा छौं” सिग्देलले भन्नुभयो “तीन वटा उपकरण मध्ये एउटा उपकरण अमेरिकाबाट साथीले खरिद गरेर पठाउनुभएको हो, दुई वटा आफै खरिद गरेका छौं ।”

उहाँले बागलुङ बजारमा सडक बत्ती समेत जडान गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

समिक्षालय चोक र कालिका मन्दिरमा निःशुल्क इन्टरनेट सुचारु भइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरुले गर्न थालेको भन्दै प्रशंसा भइरहेको छ ।