• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

गलेश्वरमा सतबिउ छर्नेको भीड

म्याग्दी । म्याग्दीको पवित्र तिर्थस्थल गलेश्वरधाममा विहानै देखि सतबिउ छर्ने दर्शनार्थीको भीड छ । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिनमा आफ्ना दिवंगत पितृहरुको मुक्तीका लागि सतबिउ छर्ने गरीने भएकाले सोही पवित्र दिनमा विहानै देखि भिड लागेको हो ।

गलेश्वर शिवालय मन्दिरमा पुजा अर्चना गर्नुका साथै सतबिउ छर्नेहरु बिहान ४ बजे देखि नै आइपुग्नु भएको मन्दिरका मुल पुजारी चन्द्रमणी आचार्यको भनाई छ । विश्वका पवित्र धामहरु मध्ये निकै फरक र आश्थाका केन्द्र रहेको गलेश्वरमा सतबिउ छर्नाले आफ्ना पितृहरुको उद्धारहुने जनविश्वास सहित दर्शन र पुजा अर्चनाका लागि आउने गरेको उहाँको भनाई छ । नाँै रोपनी क्षेत्रफलको एउटै चक्र शिलामा स्वयंउत्पन्न ज्योतिर्लिङ्ग भएको कारणले पनि गलेश्वर धाम अन्य धाम भन्दा फरक रहेको उहाँको तर्क छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले २४ वटा विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतबिउ छर्न आउने भक्तजनलाई व्यवस्थित र सहज तबरले दर्शनको लागि व्यवस्था मिलाइएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु गठन गरिएको हो । बुधबार विहानैदेखि सतबिउ छर्नका लागि भक्तजनको घुईचो लाग्ने भएकाले सम्पूर्ण तयारी यस अगाडी नै पूरा गरिएको कोषले जनाएको छ ।

गलेश्वर मन्दिरको प्रवेशद्वार अन्तरगत पार्किङस्थलदेखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरीले स्वमसेवकहरु परिचालन गरिएको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलामा आउनेलाई समेत ब्यापार गर्ने ठाउँ तोकिएको छ ।

मन्दिरस्थलमा कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुलाई सहज बनाउनुका साथै पूजाका लागि आउने भक्तजनको सहजताका लागि सिसीक्यामेराबाट समेत निगरानी गरि रहेको अध्यक्ष रेग्मीको भनाई छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले पूजाआजा गर्न आउँदा गरगहना नलगाइ आउन आग्रह गर्दै मन्दिरमा दान गर्ने र सामान्य यातायात खर्च बाहेक अनावश्यक पैसा एवम् बहुमल्य साम्रागीहरु लिएर नआउन समेत यस अगाडी नै अनुरोध गर्नुभएको थियो ।

कतिपय स्थानमा पूजाआजा गर्न आएका भक्तजनहरुले गरगहना र नगद चोरी भएको गुनासो गर्ने हुँदा कोषले बालाचतुर्दशी भन्दा अगाडी नै अपिल गरेको हो । कृष्णागण्डकी किनारमा रहेको एउटै चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वास छ । साथै मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत गलेश्वरको दर्शन गरी मुक्तीनाथ पुगेर दर्शन पछि मुक्तीनाथको जल ल्याएर गलेश्वरमा अर्पण गर्दा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहु, गुल्मी तथा रुपन्देही सम्मका दर्शनार्थीहरुले पनि हाल सम्म दर्शन गरेर फर्कि सकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । गत वर्ष झण्डै ५० हजार हाराहारी दर्शनार्थीले दर्शन गरेको मन्दिरमा यस वर्ष पनि त्यस्तै अनुमान गर्न सकिने शिवालय क्षेत्र विकास कोषको भनाई छ