• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेलमैदान मंसिर यता व्यस्त छ । विद्यालयस्तरीय साना खेल होस या सर्वाधिक पुरस्कार राशीको मेयर कप होस यही मैदानमा हुन्छ । बागलुङ नगरपालिकाको तेस्रो मेयरकप हालै सम्पनन भयो ।

तत्कालै बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड देखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्म यही खेल मैदान आयोजना भइसकेका छन् ।
यसपटक गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही खेल यही खेल मैदानमा हुने तयारी छ तर यसरी उत्साहपूर्ण रुपमा प्रतियोगिता आयोजना भइरहेको मैदान भने खेलाडी र दर्शकमैत्री छैन । बर्खामा हिलाम्मे खेलमैदान हिउँदमा धुलाम्मे हुन्छ । न हरीयाली छ न व्यवस्थित प्याराफिट । खेलाडी धुलोमै खेल्छन्, दर्शक धुरोमै बसेर हेर्न बाध्य भएका छन् ।

खेलपूर्व छर्केको पानी क्षणभरमै सुक्ने गरेको छ भने धुलो उडेर खेल समेत प्रभावित हुने गरेको खेलाडीको गुनासो छ । खेलाडीमैत्री खेल मैदान नहुँदा धुलो उडाउदै खेल खेल्न खेलाडी बाध्य हुँदै आएका छन् । जिल्ला स्तरको खेल त यो अवस्थामा हुन्छ भने स्थानीय तहको खेल कुन अवस्थामा सञ्चालनमा छ भन्ने कुरा सहजै आकलन गर्न सकिन्छ ।

जिल्लाकै ठूलो खेल मैदानका रुपमा रहेको बाङ्गेचौर खेल मैदान पूर्वाधारको अभावका बीच खेल सञ्चालन गर्न बाध्य रहदै आएको छ । बागलुङ नगरपालिकाले रु. तीन लाख ३३ हजार पुरस्कार राशीको तेस्रो मेयरकप मंसिर १४ देखि १८ गते सम्म सम्पन्न भएको थियो । सयौं दर्शकको बीचमा सञ्चालनमा आएको खेलमा खेलाडीको उत्साह र दर्शकको हौसलामा कमि नभएको मेयरकपमा दर्शकहरु मैदानको भित्ता, रुख र चौतारीमा बसेर हेर्न बाध्य भएका थिए । लेबल नमिलेको मैदानमा धुलो उडेका कारण खेलाडीलाई खेल खेल्न सास्ती भएपनि सबैकुरा विर्सेर खेलाडी गोल गर्न मात्रै केन्द्रित हुने मेयरकपको उपाधि चुमेका टिम क्याप्टेन खेलाडी निसान थापा बताउनुहुन्छ ।

“खेलाडीका लागि समथर हरीयाली मैदान भए कति सहज हुन्थ्यो, मैदानमा धुलोको प्रपनअ हुँदैन गोल गर्न हाम्रो ध्यान केन्द्रित हुन्छ, तर खेल सकिएपछि धुलोका कारण स्वासप्रस्वासमा समस्या देखिने, आँखा पोल्ने हुन्छ” थापाले भन्नुभयो “दर्शक धुलोमै बसेर खेल हेरेका हुन्छन्, दमकलको पानीले धुलो मारेपनि केही छिनमै धुलो उडिहाल्छ, भनेको ठाउँमा बल नजादा कतिपय गोल समेत गर्न नसकिएको उदाहरण छ, कम्तिमा मैदान समथर र हरीयाली मात्रै भए खेलाडीलाई ठूलो रहात हुन्थ्यो ।” बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना समेत डिपिआरमै थन्किएको छ । थापाले खेलमैदानमा पानी नहाली खेल्ने हो भने धुलोेले खेलाडी नै नचिनिने अवस्था रहेको सुनाउनुभयो ।

धुलोमा खेलेका खेलाडीमा श्वाप्रश्वासको समस्या देखिने गरेको छ । फुटबल खेलाडीहरुले धुलोका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताउछन् । बाङ्गेचौर खेलमैदानमा पछिल्लो समय नियमित खेलका गतिविधि भइरहेका छन् । तर धुलोेका कारण खेलाडी र दर्शकले सास्ती भोग्दै आएका छन् । खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा समेत छैन । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बाङ्गेचौर खेल मैदान जिल्लाकै गहना भएको बताउदै बाङ्गेचौरलाई सिधा बनाउने सपना अझै पुरा नभएको बताउनुभयो । उहाँले खेलमैदान सामुदायिक वनसंग जोडिएकाले पूर्वाधार निर्माण गर्न समस्या भएको बताउनुभयो । यस अघि रङ्गाशाला बनाउन संघीय सरकारबाट आएको रु. ८ करोड बजेट समेत रुख काट्न नसक्दा फिर्ता भएको बताउनुभयो ।