• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

चैते दशैंमा ३७ लाख भेटी संकलन

बागलुङ । बागलुङमा चैते दशैंको अवधीभर कालिका भगवती मन्दिरमा रु. ३७ लाख भेटी संकलन भएको छ । नवरात्रको अवधीभर रु.३७ लाख २५ हजार ५५५ रकम संकलन भएको छ । गत वर्षको तुलनामा यस वर्षको भेटी ५ लाखले कमी आएको हो । गत वर्षको चैते दशैंमा रु. ४२ लाख भेटी संकलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाख भन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु. एक लाख १७ हजार ६६०, ६ गते रु.एक लाख ५३ हजार २५५, ७ गते चार लाख ३८ हजार ५६५, ८ गते एक लाख ७० हजार ११० संकलन भएको छ । ९ गते रु.एक लाख ७१ हजार ७८५, १० गते रु.चार लाख ९२ हजार ७०० संकलन भएको थियो । यस्तै ११ गते ३ लाख ५२५, चैते दशैंको मुख्य दिन चैत १२ गते रु.१० लाख ४४ हजार ६५५ संलकन भएको अध्यक्ष खड्काले बताउनुभयो । यस्तै नवमीको दिन रु. चार लाख ८० हजार ५६५ र दशमीको दिन रु. तीन लाख ५५ हजार ७३५ संकलन भएको छ ।

“चैते दशैंको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी संकलन भएको छ विगतका वर्षाहरूको तुलनामा पनि यो वर्ष ५ लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”खड्काले भन्नुभयो “अष्टमीमा एकै दिन चार लाख भन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा समेत हम्मे–हम्मे प¥यो ।” बागलुङ कालिका मन्दिरमा वडा दशैं र चैते दशैं अनि शनिबार र मंगलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी जोडिने गरिएको खड्काले बताउनुभयो ।

विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थान सम्म ल्याइएको थियो । राजकुमारी कालिका देवि भएको अनन्य भक्त समेत हुनुहुन्थ्यो । त्यही कालिका देविको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।