बागलुङ । प्रतिनिधिसभाका १० विषयगत समिति शुक्रवार गठन गरिएको छ । एकै पटक सबै समितिका सदस्यहरु चयन गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले शुक्रवार सबै समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्नु भएको थियो । सभामुखले प्रस्ताव गरेका समिति र सदस्यका नामहरुलाई प्रतिनिधिसभाको वैठकले स्वीकृत गरेको छ । प्रतिनिधिसभामा गठित समिति मध्ये बागलुङका ५ जना सांसदहरुले चार समितिका सदस्यको जिम्मेवारी पाएका छन् । बागलुङबाट प्रत्यक्ष निर्वाचित सांसद सुशिल खडकालाई अर्थ समिति र सोम शर्मालाई उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यको जिम्मेवारी दिइएको छ । खड्का क्षेत्र नं. १ र शर्मा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित हुनु भएको थियो ।
यस्तै समानुपातिक तर्फका सांसदहरु मध्ये गंगा छन्त्याल र रेनुका काउचाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा बलावती शर्माले कानुन, न्याय तथा मानवअधिकार समिति सदस्यको जिम्मेवारी पाउनु भएको छ । प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पु¥याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने प्रतिनिधि सभा नियमावली, २०७९ मा उल्लिखित व्यवस्थाअनुसार नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन गठन गरिने समिति अन्तरगत अर्थसमिति महत्वपूर्ण समितिका रुपमा रहेको छ ।
नेपालको संघीय संसद् (प्रतिनिधि सभा) र प्रदेश सभाहरूमा आर्थिक नीति, बजेट, र वित्तीय अनुगमनका लागि अर्थ समिति गठन गरिन्छ । यो समिति प्रतिनिधि सभा नियमावली, २०७९ र प्रदेश सभा नियमावलीहरू अनुसार सदस्यहरूमध्येबाट समानुपातिक प्रतिनिधित्वको आधारमा गठन हुन्छ । यसको मुख्य काम बजेट छलफल, राजस्व÷व्ययको अनुगमन, र सरकारलाई वित्तीय क्षेत्रमा निर्देशन दिनु हो । समितिका सदस्यहरूले आफुहरु मध्येबाट एक जनालाई समितिको सभापति÷अध्यक्ष चयन गर्छन् ।
