बागलुङ । बागलुङको निसीखोला र ढोरपाटनका १८ घरबास स्थापना र स्तरोन्नतीका लागि सहयोग गरिएको छ ।
घरबास मार्फत पर्यटक भित्राउनका लागि बागलुङको ढोरपाटन र निसीखोलाका १८ घरबास स्थापना तथा स्तरोन्नतीका लागि रु. ४५ लाख अनुदान सहयोग प्रदान गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबासलाई विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँमा बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालनमा ल्याउन प्रति घरबास दुई लाख ५० हजारका दरले सहयोग गरिएको हो ।
पर्यटन प्रवद्र्धनका लागि निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा विवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजनाले अहिले सम्म १८ घरबासलाई स्थापना र स्तरोन्नतीका सहयोग गरेको हो । युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि ३० घरबास स्थापना र विस्तार गर्ने लक्ष्य राखिएकोमा अहिले सम्म १८ घरबासलाई अनुदान प्रदान गरिएको विवाईसी बागलुङको दिगो पर्यटन प्रर्वद्धन परियोजनाका टिम लिडर अमर थापाले जानकारी दिनुभयो ।
ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजना अनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिका स्थित पाखाथर सामुदायिक घरबास स्थित १४ घरलाई घरबास सञ्चालनका लागि आवश्यक सामाग्री खरिदका लागि सहयोग प्रदान गरिएको थापाले बताउनुभयो ।
हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र नयाँ घरबास सञ्चालनमा ल्याउन उत्प्रेरणा गर्ने परियोजनाको लक्ष्य रहेको छ ।
घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास चुलो, सिलिण्डर, थाल, सरसफाई र कचौरा देखि विभिन्न ४० प्रकारका सामाग्री खरिदका लागि एक घरलाई दुई लाख ५० हजारका दरले सहयोग गरिएको हो ।
उनिहरुलाई उद्यमशिलता तथा घरबास सञ्चालनको तालिम समेत प्रदान गरिएको छ ।
घसबास स्तरोन्नतीमा आवश्यक सामाग्री खरिदका लागि प्राप्त अनुदानले स्थानीय महिलाहरु घरबास सञ्चालनका लागि अग्रसर भएको पाखाथर सामुदायिक घरबासका अध्यक्ष पुनम बुढा मगरले जानकारी दिनुभयो । घरबास पहिलै दर्ता भएपनि दिगो पर्यटन प्रर्वद्धन परियोजना मार्फत दुई घरबासबाट विस्तार भएर १४ घरमा पुगेको बुढा मगरको भनाई छ ।
घरबासका कारण घाँस दाउरा र पशु चौपायमा मात्रै सिमित यहाँका महिलाहरु घरबासमार्फत आय आर्जनमा जुट्न थालेको ढोरपाटनकै स्थानीय महिला चन्दा अदैले जानकारी दिनुभयो ।
युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने, आलु चिप्स बनाउन सहकारी मार्फत प्रशोधन केन्द्र निर्माण, ढोरपाटनमा सिकार आरक्षमा पर्यटक सूचना केन्द्र निर्माण लगायतका काम भइरहेको दिगो पर्यटन प्रर्वद्धन परियोजनाले जनाएको छ ।