• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

पश्चिम बागलुङवासीको आवाज : ‘सहज सेवाका लागि जनशक्ति र भवन अभाव’

  • २०८३ बैशाख १८, शुक्रबार

बागलुङ । बागलुङको सुदुर पश्चिमका रुपमा रहेको बुर्तिबाङ क्षेत्रका जनताको सेवा सुविधालाई प्रभावकारी रुपमा सञ्चालन गर्न भवन र जनशक्तिको अभाव रहेको सरोकारवालाहरुले बताएका छन् ।

बागलुङ क्षेत्र नं। २ का संघीय सांसदसंगको अन्तरक्रियामा बुर्तिबाङस्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतितिधिहरुले जनशक्तिको अभावमा प्रभावकारी सेवा उपलब्ध गराउन नसकिएको बताएका थिए ।

साना तिना सरकारी कामका लागि पनि घण्टौ लगाएर सदरमुकाम पुग्नुपर्ने वाध्यता त कम भएको छ, तर सेवाग्राहीहरुको काम समयमा गर्न सकिएको छैन, सेवा लिन आउने जनताले धेरै समय कुर्नु पर्ने वाध्यता भएको छ, सरोकारवालाहरुले भने,–‘सेवा सुविधालाई प्रभावकारी बनाउनका लागि सबै भन्दा पहिला जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।’
जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिवद्धता क्षेत्र नं. २ का सांसद सोम शर्माले गर्नु भयो । जनताले सेवा सुविधा प्रभावकारी रुपमा पाउनु पर्छ, सरकारको सेवा प्रवाहको गति र जनताको चाहना अनुसार कुनै पनि गुनासो नआउने गरी काम गर्न उहाँले आग्रह गर्नु भयो ।

समस्या छन्, समस्याको समाधानका लागि सरकारका तर्फबाट सक्दो काम हुन्छ, सेवा दिने कार्यमा जनतालाई अल्मलाउने, दुख दिने काम गर्नु हुदैन, सांसद शर्माको भनाइ थियो ।
विगतमा नागरिक बनाउन, जग्गा रजिष्ट्रेशन लगायतका काम गर्न सदरमुकाम आउनु पर्ने वाध्यता थियो, त्यो त हटेको छ, तर बुर्तिबाङमा रहेका कार्यालयमा भएको जनशक्ति, प्रविधि लगायतका कारण अझै सेवा प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।