बागलुङ । बागलुङ बजार भित्रका सडक खल्डाखुल्डी हुँदा जोखिम पूर्ण बनेका छन् । जोखिमपूर्ण बनेका सडक नगरपालिकाले मर्मत गर्नु पर्ने हो । तर नगरपालिकाका जनप्रतिनिधि मूकदर्शक बनेर बस्दा यहाँका दुई युवा व्यवसायीले सडकका खाल्डाखुल्डी पुर्ने काम गर्न थालेका छन् । बागलुङ नगरपालिका–३ स्थित सिर्जना फर्निचरका संचालक विराट हरिजन र वडा नम्बर २ स्थित सगरमाथा कम्प्युटर पसलका संचालक नैबेद्य सिग्देलले व्यक्तिगत लगानीमा सडकका खल्डाखुल्डी पुर्न थाल्नु भएको छ ।
हरिजन र सिक्देलले समिक्षालयकबाट सुरु गरेर अहिले एटिएमचोक, बालमन्दिररोड, गोदामघरचोक, जीपपार्क लगायतका ठाउँका सडकमा परेका खाल्डाखुल्डी पुर्नु भएको छ । हरिजनले सुरुमा एक्लै खाल्डाखुल्डी पुर्न थालेपछि आफु सहभागी बनेर अहिले काम गरि रहेको सिग्देलले बताउनुभयो । बागलुङ बजार क्षेत्रका सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटना जोखिम बढ्दासमेत नगरपालिकाले मर्मत नगरेपछि युवा व्यवसायीले गर्नु परेको हो ।
आफूहरुले व्यक्तिगत लगानीमा खाल्डाखुल्डी टाल्न सुरु गरेपछि अहिले स्थानीयलेसमेत सिमेन्ट र बालुवा सहयोग गर्न थालेको सिग्देलले बताउनुभयो । काम गर्दै जाँदा सहयोग गर्छु भन्ने धेरै भेटिएको उहाँ बताउनुहुन्छ । बजारको विभिन्न चोकमा ५० वटा गमला राख्ने योजना रहेको सिग्देलले सुनाउनुभयो । पुरानो ट्राफिकचोकमा फुलको गमला डस्टविन राखेको भन्दै लाइटसमेत राख्ने योजना रहेको उहाँको भनाइ छ ।
सिग्देलले भन्नुभयो – “सडकमा खाल्डा परेर दुर्घटना हुन थालेपछि हामीहरुले खाल्डाखुल्डी टाल्नु पर्छ भनेर लागेका हौँ, पछिल्लो समय धेरै पर्यटक आउन थालेका छन्, यहाँ फोहोर फाल्ने ठाउँ पनि छैन्, हामीहरुले डस्टविन पनि राखेका छौँ, अब बजार क्षेत्रमा खाल्डाखुल्डी परेको सबै ठाउँमा टाल्छौँ ।”
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगरपालिकाको विकासमा सबैको सहभागीता जरुरी रहेको भन्दै युवा व्यवसायीले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । सडक मर्मतका लागि नगरपालिकामा बजेट रहेको सुनाउँदै तिहार पछाडि सबै खाल्डाखुल्डी पुरि व्यवस्थित गराउने योजना रहेको बताउनुभयो ।
बजार क्षेत्रका सडक व्यवस्थित गर्न सडक बोर्डको र नगरपालिकाको बजेट रहेको भन्दै रातो किताब आउँन ढिला हुँदा काम नभएको उहाँको भनाइ छ । चाडपर्व तथा आन्दोलनका कारण पनि काम ढिला हुन गएको खड्काले बताउनुभयो ।
