म्याग्दी । उपभोक्ताहरुले म्याद गुज्रेको सामग्रीहरु प्रयोग गर्नु बाध्य भएको भन्ने जनगुनासोका आधारमा मालिका गाउँपालिकाले दरवाङ क्षेत्रमा मंगलबार बजार अनुगमन गरेको छ । मालिका गाउँपालिकाको आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघ मालिका गाउँपालिका इकाइको समन्वयमा दरवाङ बजार क्षेत्रमा अनुगमन गरिएको हो । बजार अनुगमन गर्दा भेटिएको म्याद गुज्रेको सामग्रीहरुलाई जफत गरेर नष्ट गरीएको मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले जानकारी दिनुभयो ।
दरवाङ बजार क्षेत्रमा अनुगमन गर्दा करिब ५५ हजार रुपियाँ मूल्य पर्ने म्याद गुज्रेका सामग्रीहरु जफत गरेर नष्ट गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालाले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा भएको बजार अनुगमनमा इलाका प्रहरी कार्यालय दरबाङ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उद्योग बाणिज्य संघका अध्यक्ष लेकबहादुर पुन, स्थानीय उपभोक्ताका साथै व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । किराना तथा खाद्यन्न पसलहरुमा गरिएको अनुगमनमा पेय पदार्थका साथै जंक फुडहरु म्याद गुज्रेको पाइएको उद्योग बाणिज्य संघ मालिका इकाइका उपाध्यक्ष अमृतप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पसल दर्ता, नबिकरण नगरी सञ्चालनमा रहेका पसलहरुलाई पनि यथासिघ्र दर्ता गरी आवश्यक कागजात पुरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन गरिएको थियो ।