पाठकले पौडेललाई रोकेको आरोप
बागलुङ । नेकपा एमालेको आसन्न एघारौ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट शुक्रवार राती सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । खुल्ला, महिला र युवातर्फबाट प्रतिनिधिका लागि ३९ जनाले दावी गरेका थिए । दावी गरेकाहरुका बीचबाट खुल्ला ३, महिला २ र युवा एक जनालाई चयन गर्नका लागि मुख्य दुइ नेतालाई केन्द्र बनाएर कार्यदल बनाइएको थियो । कार्यदलले २ दिनसम्म गरेको छलफल पछि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । कार्यदलका एक सदस्यका अनुसार प्रतिनिधिको छनोटका विषयमा रोक्ने, छेक्ने लगायतका विषय चर्चामा छन् ।
राजनीति निर्मम हुन्छ, राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुदैन भन्ने मात्रै होइन, आफ्नो प्रतिस्पर्धीलाई आफ्नैले हराएका, रोकेका छेकेका थुप्रै उदाहरणहरु छन् । एमालेको नवौ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र माधव कुमार नेपालबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा ओली र नेपालको प्रतिस्पर्धा हुदा महासचिवमा ओली समुहबाट इश्वर पोखरेल र नेपाल समुहबाट सुरेन्द्र पाण्डे उमेदवार थिए । अध्यक्षमा ओलीले जित निकाल्ने निश्चित भएसंगै महासचिवमा पाण्डे आउने आंकलन गरिएको थियो । पाण्डेले महासचिव जित्ने भएसंगै माधव नेपाल समुहकै भिम रावलले मत क्रस गरेर इश्वर पोखरेललाई जिताउन लागेको प्रसंग एमालेमा निकै चर्चित छ ।
एउटै समुह, एउटै गुट, एउटै लयमा काम गरेका नेताहरु पनि जव प्रतिस्पर्धी हुन्छन् तव सकेसम्म तलै रोक्ने, नेता लगाएर उमेदवार बन्न नदिने, उमेदवार भइसकेपछि पनि हराउन भूमिका खेल्ने प्रवृति राजनीतिमा नौलो होइन । नेपालको राजनीतिमा यस्ता खेल धेरै नै चल्ने गर्दछन् । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिका लागि वडादेखि नै निर्वाचन लड्नु पर्ने भएकाले धेरै नेता वडा, क्षेत्र र जिल्लामा नै रोकिने अवस्था देखिदै आएको छ । गत १४ औं महाधिवेशनमा बागलुङमा तत्कालिन सभापति दिपेन्द्र बहादुर थापा मगर, तत्कालिन आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल जिल्लामा पराजित भएका थिए । यद्यपी पौडेल पछि मनोनित केन्द्रीय सदस्य हुन सफल भए ।
बामपन्थी पार्टीहरुमा जनवादी केन्द्रीयताका नाममा पेल्ने, छेक्ने, रोक्ने क्रम पार्टी स्थापनाकालदेखि नै चल्दै आएको छ । बामपन्थीहरुमा चुनाव होइन, सर्वसम्मत गरेरै प्रतिस्पर्धीलाई रोक्ने, छेक्ने प्रवृति छ । बागलुङ एमालेमा २०५१ देखि नै दुइ समुहबीच एकले अर्कालाई रोक्ने प्रवृति बढेको देखिन्छ । गोविन्दराज अधिकारी र रामजी प्रसाद शर्माबीच देखिने प्रतिस्पर्धा, पछि गएर रामजी र विष्णु, रामजी र मोहनलाल, रामजी र इन्द्रलाल, इन्द्रलाल र जनक, जनक र श्रीप्रसाद हुदै यतिबेला इन्द्रलाल सापकोटा र डा.सूर्य पाठकमा केन्द्रीत भएको छ ।
महाधिवेशन प्रतिनिधि चयनमा पनि यि दुइ नेताले प्रतिनिधि बाडेको गुनासो शुरु भएको छ । दुइ जनाले प्रतिनिधि बाड्दा पनि बागलुङ नगरपालिकालाई केन्द्रीत गरेको, अन्य भुगोललाई उपेक्षा गरेको आरोप एमाले नेताहरुले नै लगाउन थालेका छन् । गुटका नेता व्यवस्थापन गर्ने नाममा भुगोललाई अपेक्षा गरेका छन्, भुगोल त चुनावमा मत माग्नका लागि मात्र हो, एक जिल्ला सदस्यले गुनासो गरे ।
प्रतिनिधि चयनकै विषयमा एमाले जिल्ला सदस्य तथा जैमिनी नगरपालिका कमिटिका पूर्व अध्यक्ष बद्री ढुंगानाले ‘बागलुङ उपत्यकाको जय होस’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीले ‘भाग्यमानी बानपा, जय होस’ भन्दै प्रतिनिधि चयनमा भुगोललाई वेवास्ता गरेको गुनासो गरेका छन् । युवा तर्फ प्रतिनिधिका दावेदार शिव शर्माले सर्वसम्मत भएका प्रतिनिधिहरुलाई वधाई दिदै, २ वटा पालिका खाली गरेर एउटै पालिका, अझै एउटै वडामा केन्द्रीत गर्नु उपयुक्त नभएको गुनासो गरेका छन् ।
६ जना प्रतिनिधि चयन हुदा अध्यक्ष हिरा बहादुर केसी बाहेक सबै बानपाका छन्, त्यसमा पनि वडा नं. ९ तित्याङ बुकेनीका २ जना र अमलाचौरका २ जना परेका छन् । प्रतिनिधि चयनका लागि निर्वाचन गर्न हुदैन भनेर सर्वसम्मतका लागि कार्यदल बनेको थियो । कार्यदलमा इन्द्रलाल सापकोटा र धन बहादुर परियार तथा डा.सूर्य पाठक र सावित्रा राना रहेका थिए, अर्थात दुइ नेताका दुइ दुइ जना सदस्य कार्यदलमा थिए । अध्यक्ष हिरा बहादुर केसी स्वत रहने नै भए ।
५ जनाको कार्यदलले बागलुङ क्षेत्र नं. १ बाट खुल्लातर्फ हिरा बहादुर केसी, गणेश बहादुर थापा मगर र लाल बहादुर थापा मगर, महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार र युवा तर्फ सिर्जना पन्तलाई प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । दलिततर्फ धन बहादुर परियार मंसिर ११ गते नै सर्वसम्मत भएका थिए, निर्वाचन क्षेत्र समन्वय कमिटिको संयोजकको जिम्मेवारीमा रहेकाले सार्वजनिक गरिएको थिएन ।
५ जना प्रतिनिधि चयन गर्दा दुइ नेताले भागवण्डा गरेरै प्रतिनिधि चयन गरेको गुनासो कार्यकर्ताहरुले गरेका छन् । सूर्य पाठकले लाल बहादुर थापालाई अगाडि बढाउदा इन्द्रलाल सापकोटाले गणेश बहादुर थापालाई अगाडि बढाए । सापकोटाले महिलातर्फ ममतादेवी शर्मालाई साथ दिदा पाठकले सरस्वती खड्कालाई साथ दिए । अध्यक्ष हिरा बहादुर केसी प्रतिनिधि जाने कुरामा इन्द्रलालको पूर्ण समर्थन रहेकै थियो, पाठक पनि सर्वसम्मतको हकमा अध्यक्षलाई नलैजादा गलत सन्देश जाने बुझाइमै थिए । अध्यक्षलाई छोडेर दुइ नेताले खुल्ला र महिलामा एक एक जना गरी २/२ जना बाडेर सहमति गरेको एमालेका नेताहरुले बताउन थालेका छन् ।
युवा प्रतिनिधिमा दुइ नेताको रस्साकस्सी भयो । सापकोटाले विद्यार्थी नेता शेखर खड्का र बुद्ध बोहरा मध्ये एक जनालाई अगाडि बढाउन खोजेका थिए, पाठकले सन्दिप कंडेल र तिलक खड्का मध्ये एकजनालाई प्रस्ताव गरेपछि सहमति हुन सकेन, कार्यदलका एक सदस्यले भने, युवामा अलि बढी रस्साकस्सी भएपछि मध्यमार्गीका रुपमा एकमात्र महिला दावेदार, पत्रकार सिर्जना पन्तलाई अगाडि बढाउदा दुवै नेतालाई सहज हुने निष्कर्षमा पुगेका थिए । युवामा जस्तै खुल्ला र महिलामा पनि रोक्ने, छेक्ने र तर्काउने विषयले चर्चा पाएको छ । खुल्लामा अध्यक्ष हिरा बहादुर केसीको बारेमा कार्यदलमा छलफल नगर्ने सहमति करिव करिव भएको थियो । त्यसपछि बाँकी रहेका २ जना प्रतिनिधिका लागि २१ जना प्रतिनिधि मध्येमा कार्यदलले ४ जनाको नाममा व्यापक छलफल गरेको स्रोतले जनाएको छ ।
एमाले बागलुङका पूर्व अध्यक्ष जनक पौडेल, गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक, संविधानसभा सदस्य नर बहादुर थापा र प्रदेश कमिटिका सचिवालय सदस्य लिला रानाका नाममा व्यापक छलफल भएको बताइन्छ । छलफलको शुरुमा जनक पौडेल र लिला रानालाई प्रतिनिधि पठाउने विषयमा कुरा भयो । त्यसमा इन्द्रलाल सहमति नजिक थिए, तर पाठकले जनक हुदैन भन्ने अड्डी कसेपछि छलफलले नया मोड लिएको वैठकका एक सहभागीले बताए । पाठकले लाल बहादुरको नाम प्रस्तुत गरेपछि सापकोटाले गणेश थापाको नाम प्रस्तुत गरे । पूर्व अध्यक्षलाई पठाउनु पर्ने विषयमा लामै छलफल भए पनि अन्तिममा पाठकले असहमति जनाएपछि जनक पौडेल महाधिवेशन प्रतिनिधिबाट बाहिरिए ।
नवौ राष्ट्रिय महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा उमेदवार बनेर पराजित भएका जनक पौडेल यस पटक महाधिवेशन प्रतिनिधि हुदा उमेदवार बन्न सक्ने आंकलन थियो । प्रतिनिधि नै नभएको मान्छे उमेदवार हुने विषयमा छलफल गर्ने कुरा भएन, प्रतिनिधि भएर गएको भए छलफल गर्न सकिन्थ्यो, क्षेत्रमै रोक्ने काम भयो, केन्द्रीय सदस्य हुने नहुने प्रसंग नै भएन, पौडेलले बताए ।
चार दशक भन्दा बढी समयदेखि पार्टीको संगठन निर्माणमा सक्रिय पौडेलको केन्द्रीय सदस्य बन्ने चाहना महाधिवेशन प्रतिनिधि नबनेसंगै सकिएको छ । यद्यपी पार्टीले चाहदा मनोनित गर्न पनि सक्छ । दशौ महाधिवेशनमा डा.सूर्य पाठक महाधिवेशन प्रतिनिधि मनोनित भएर केन्द्रीय सदस्य बनेका थिए ।
पौडेल महाधिवेशन प्रतिनिधि भएर गएपछि उमेदवार बन्छन् र त्यसको असर आफुलाई पर्छ कि ? भन्ने आशंकामा सूर्य पाठक देखिए, एउटै टिमको मान्छे प्रतिस्पर्धी हुदा आफुलाई असर पर्ने भएपछि सूर्यले नै जनकलाई रोकेको आरोप लागेको छ । आफ्नो प्रतिस्पर्धी देखेर जनक पौडेललाई क्षेत्रमै रोकेको आरोप लागेको छ त, भन्ने आदर्शसञ्चारको प्रश्नमा सूर्य पाठकले भने, जनक मेरो कसरी प्रतिस्पर्धी हुन सक्छन् ? यो बेकारको कुरा हो, केन्द्रबाट मनोनित भएर, केन्द्रीय सदस्य लड्दा भइहाल्छ । युवाहरुलाई प्रतिनिधि चयन गरौ भनेर यस्तो निर्णयमा पुगिएको पाठकले बताए ।
यस्तै महिला प्रतिनिधिमा पनि निकै रस्साकस्सी भयो । सापकोटा र पाठकले एक एक जना बाड्ने भएपछि सापकोटाले ममतादेवी शर्मालाई अगाडि बढाउने प्रष्ट बटम लाइन सुनाए । पाठक भने शुरुमा चित्रा छन्त्याल श्रीसलाई अगाडि बढाउन खोजे । मिलेसम्म चित्रा र सरस्वती खड्का दुवैलाई अगाडि बढाउने, नभए अन्तिममा चित्रा बटम लाइन भनेका पाठक सरस्वती खड्का परियारमा बनाउन सहमत भए । चित्रालाई केन्द्रबाट बनाउने गरी क्षेत्रबाट सरस्वतीलाई सहमति गरेको बताइन्छ ।
बागलुङ एमालेको जिल्ला नेतृत्व केन्द्रको वर्तमान संस्थापन इतरको हातमा छ । दशौ जिल्ला अधिवेशनमा संस्थापनका नेता सूर्य पाठकले पदाधिकारीमा उमेदवार नै पाएनन्, संस्थापनको उमेदवार नभएपछि एक्लिएका पाठकले केपी ओलीको खरो विरोध गर्दै नेकपा एसमा गएका पूर्व सचिव लाल बहादुर थापालाई पार्टी प्रवेश गराएर आफ्नो कित्तामा उभ्याएपछि यसपटक महाधिवेशन प्रतिनिधिमा सापकोटालाई टक्कर दिन सफल भएका छन् ।
आवरणमा एघारौ महाधिवेशनका प्रतिनिधि चयन भए पनि दुइ नेताको रस्साकस्सी चाही पार्टीको आगामी जिल्ला अधिवेशनमा केन्द्रीत भएको देखिन्छ । पाठकले जिल्ला अध्यक्षमा लाल बहादुर थापालाई अगाडि बढाउने गरी अभियान सञ्चालन गरेका छन्, सापकोटाले गणेश थापा स्वभाविक उमेदवार भएको बताउन थालेका छन् । पाठकले आफ्नो टिमबाट पूर्व अध्यक्ष जनक पौडेललाई छोडेर लाल बहादुर थापालाई र सापकोटाले पुराना नेता लिला रानालाई छोडेर गणेश थापालाई अगाडि बढाएपछि एमाले बागलुङमा मालिका र अमलाचौर पुनः एक पटक आमने सामने भएको अनुमान गरेका छन् । एमालेमा ‘मालिक र अमलाचौर निर्देशक र तित्याङ अभिनेता’ भन्ने चर्चा शुरु भएको छ । राष्ट्रिय महाधिवेशन पछि छिटै जिल्ला अधिवेशन पनि हुने भएकाले बागलुङ एमालेका दुइ खेलाडि सापकोटा र पाठक तयारीमा देखिन्छन् ।
पार्टी एक ढिक्का बनाउने, विगतमा योगदान गरेकाहरुलाई समेटेर अगाडि बढ्ने भन्दा पनि आफु कसरी नेतृत्वमा पुग्ने र आफु नजिककालाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचले पार्टीले गति नलिने भएकाले नेतृत्वले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने तलका कार्यकर्ताको सुझाव छ ।