राजनीति देशको मूल नीति हो । यो नीति निर्माण गर्ने राजनीतिक दल, तिनका नेता अर्थात् निर्वाचनमार्फत् जनताको अभिमतबाट निर्वाचित हुने पात्र प्रतिनिधि । ती पात्र प्रतिनिधि इमान्दार, जनउत्तरदायी, जवाफदेही, पारदर्शी हुनुपर्ने हो । तर, भाषण र आवरणमा हाम्रो देशका राजनीतिक दल, नेताहरुले जे भन्छन्, त्यो नगर्दा मुलुकमा भ्रष्टाचार, अनियमितता, बेथिति बढ्दै गयो । अर्कोतर्फ नागरिकमा निराशा र आक्रोश बढ्दै गयो । यही कारण देशमा गत भाद्र २३ र २४ मा अभूतपूर्व जेनजी आन्दोलन भयो । जसले पुस्तान्तरणका सवालमा ठुलो बदलाव त ल्यायो तर, सोही क्रममा देशव्यापी रुपमा सरकारी, सार्वजनिक र निजी क्षेत्रमा गरिएको ध्वंसबाट भएको क्षति भने भयानक छ ।
जेनजी आन्दोलनले सुशासन, सामाजिक सञ्जाल सञ्चालनको अधिकार त मागेको थियो नै, उक्त आन्दोलनले यो सँगै नैतिक मूल्यमान्यताको राजनीतिको सवाललाई पनि अग्रभागमा ल्याइदियो । जसबाट सबै भन्दा वर्षौदेखि बिभिन्न कारण, तर्क र बलमा सत्ताको शक्तिमा रजगज गर्दै आएकाहरु प्रताडित भएका छन् । उनीहरुलाई अहिले ‘नयाँ’को रुपमा उदाएकाहरुले धमाधम प्रश्न गर्दै चुनावी मैदानमा उत्रिएका पनि छन् । तर, नयाँ वैकल्पिक भनिएकाहरु पनि नैतिक कसीमा अहिलेदेखि नै उभिन तयार देखिदैनन् । यसका केही घटना र उदाहरणले उनीहरु पनि पुरानै दल र नेताहरुकै अर्को अवतारमा देखिने खतरा बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो पटक निर्वाचनमा होमिएर ह्याट्रिक गर्ने दाउमा त छन्, तर अहिले पनि देशका बिभिन्न जिल्लामा अनेकौं मुद्दाको तारिख र धरौटी खेपिरहेका छन् । चुनावी अभियानकै दौडानमा रास्वपाले प्रधानमन्त्रीको रुपमा अगाडि सारेका बालेन्द्र शाहले प्रयोग गरेको गाडीको विषयमा गम्भीर प्रश्न खडा भयो । उद्योगी कमलकिशोर मालपानीले भन्सार छली गरी नेपाल भित्राएका सवारीसाधन भएको खबरहरु सार्वजनिक छ । बालेनले जानेर वा नजानेर त्यो गाडी प्रयोग गरे । उक्त समाचार र विवाद सार्वजनिक भएपछि उक्त गाडी फिर्ता गरिसकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनअनुसार मालपानीको कम्पनी काइरोस इन्टरनेसनल प्रालिले आयात गरेका १५ वटा ल्यान्डरोभर तथा रेन्ज रोभर गाडीमा करिब दुई करोड २१ लाख रुपैयाँभन्दा बढी राजस्व छली भएको अनुमान छ । तीमध्ये बालेन्द्रले प्रयोग गरेको ल्यान्डरोभर डिफेन्डर गाडीमा मात्रै ७६ लाख ५० हजार रुपैयाँभन्दा बढी कर छली भएको देखिएको छ । उता रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा बाटोमा खेलिरहेका ४ वर्षीय बालिकाको मृत्यु भएको थियो । तर, यस घटनालाई सामसुम पार्ने दुश्प्रयास गरियो ।
यी त प्रतिनिधि उदाहरण मात्र भए । यदि यस्तै पात्र, प्रवृत्ति हाबी हुने हो भने पुराना भन्दा फरक युनिक के हो ? अहिलेको सबै भन्दा गम्भीर सवाल हो यो । पुरानाले त राजनीतिमा यही नैतिक मूल्य मान्यता गुमाएकै कारणले यतिबेला अर्ली इलेक्सन हुने अवस्था आयो । यस्तो प्रवृत्ति पुराना दलमा मात्र होइन, नयाँ र वैकल्पिक भनिने दलका नेतामा पनि देखिन थालेको संकेत अझ खतरनाक छ । राजनीतिमा नैतिकता आदर्शको कुरा होइन, यो लोकतन्त्रको आधार हो। सुशासनसहितको मुलुक निर्माण गर्न राजनीतिमा समर्पित हुने राजनीतिक नेतृत्व अनुशासित र झन् बढी जिम्मेवार हुनुपर्छ । कानुनी रूपमा दोष प्रमाणित नभएसम्म कसैलाई अन्यथा भन्न त मिल्दैन तर नैतिक जनउत्तरदायित्वका लागि कानुनी फैसला कुर्नुपर्दैन ।