• २०८३ मंसिर ६, शनिबार
  • 2026 November 21, Saturday

अब पालिकाबाटै स्थायी लेखा नम्बर

  • २०८३ बैशाख १६, बुधबार

बागलुङ । आन्तरिक राजश्व कार्यालय बगालुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ ।
बागलुङको गलकोट नगरपालिकाले पालिकास्तरबाटै स्थायी लेखा नम्बर प्यान कार्ड वितरण गर्न थालेको छ भने म्याग्दी जिल्लाको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालिसकेको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले वितरण गर्दै आएको प्यान कार्ड अब पालिकास्तरबाटै वितरण गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । गलकोट नगरपालिकाले (प्यान कार्ड) वितरण थालेपछि सेवाग्राहीलाई जिल्ला सदरमुकाम बागलुङ पुग्नुपर्ने झन्झट अन्त्य भएको छ ।

आन्तरिक राजस्व कार्यालय बागलुङबाट सम्पादन हुने व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर अब गलकोट नगरपालिकाबाटै सेवा प्रवाह हुन थालेको गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिन चाहने व्यक्तिहरूले अनलाइनमार्फत फाराम भरी सबमिसन नम्बरका आधारमा प्यान लिन सक्ने छन् ।

यसैगरी व्यावसायिक स्थायी लेखा नम्बरका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा व्यावसायिक प्यान लिन सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन थालिएको बताउदै बागलुङको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाबाट प्यान कार्ड जारी गर्न थालिएको छ ।

हाल कर चुक्ता लगायतका विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै आएको अवस्थामा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बरसम्बन्धी सेवा पनि बागलुङका सबै स्थानीय तहमा विस्तार गरिने तयारी रहेको शिलवालले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्नुभएकी ताराखोला गाउँपालिका–४ की माया घर्तीले यस सेवाले बागलुङ पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताउनुभयो ।

  • २०८३ बैशाख १६, बुधबार