बागलुङ । नेकपा (एमाले) बागलुङको जिल्ला अधिवेशन आगामी माघ ९ र १० गते हुने भएको छ । पार्टीको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनसँगै वडा र पालिका अधिवेशनको मिति तय गरेको हो ।
गलकोट नगरपालिकाको हटिया बजारमा सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले आगामी मंसिर २८ गते जिल्लाका ८५ वटै वडामा एकैदिन वडा अधिवेशन गर्ने र पुस ६ गते जिल्लाका १० वटै पालिकामा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
जिल्ला कमिटीको नियमित कार्यकाल बाँकी रहे पनि अध्यक्ष हिराबहादुर केसी केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि अध्यक्ष पद रिक्त भएको थियो । अध्यक्ष पद रिक्त रहेका जिल्लामा छ महिनाभित्र अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले दिएको निर्देशनअनुसार बागलुङमा अधिवेशनको मिति तय भएको एमालेले जनाएको छ ।
बैठकले वर्तमान जिल्ला कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गर्दै उपाध्यक्ष विष्णुप्रसाद भुषालको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । सोही कमिटीले आगामी वडा, पालिका र जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापन गर्नेछ ।
बैठकमा जिल्लाको समग्र संगठनात्मक अवस्था, पार्टीका गतिविधि र आगामी राजनीतिक तथा सांगठनिक योजनाका विषयमा छलफल भएको थियो । वडा तथा पालिकाका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको सांगठनिक अवस्था र पार्टी गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।
बैठकले जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, स्थानीय तहसम्म पार्टीका गतिविधि विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्दै आवश्यक निर्णय गरेको कार्यालय सचिव चन्द्रमणि उपाध्यायले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष विष्णुप्रसाद भुषाल र सञ्चालन गणेशबहादुर थापामगरले गर्नु भएको थियो ।