• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

जेनजी आन्दोलनले तरङ्गित देश

सम्पादकीय
केही दिन यता जब नेपालमा सामाजिक सञ्जालमा नेपाल सरकारले प्रतिबन्ध लगायो । तब एकाएक जेनजीको चर्चा र उनीहरुले प्रतिबन्धित सामाजिक सञ्जाल मार्फत् नै घोषणा गरेको आन्दोलनले देशव्यापी तरंग पैदा गरिरहेको छ । जेनजी (जेनेरेसन जी) नयाँ पुस्ता हो । जुन पुस्ता दोस्रो विश्वयुद्ध (सन् १९४५) पछिको चौथो (फोर्थ जेनेरेसन) हो । जेड पुस्ता जन्म वर्ष १९९७–२०१२ भित्र जन्मिएका र हालको उमेर १२–२७ वर्ष उमेर समूहको हो । जो भर्खरै कक्षा १२ को परीक्षा दिएको पुस्ता छ, यो चाहिं जेनजीको अन्तिम तहको पुस्ता हो । यसपछि अब अल्फा पुस्ता अर्थात् सन् २०१३ देखि अहिलेसम्मको पुस्ता आउँदै छ ।

जेनजी किन र कसरी आन्दोलित हुँदैछन् त ? यसबारे सम्भवतः सरकार, सरोकारवाला निकाय पनि जानकार छैनन् । अरु आम नागरिकमा पनि यसबारे ठुलो कौतुहलता छ कि उनीहरु कसरी कति संख्यामा भौतिक रुपमा प्रदर्शनमा उत्रिनेछन् । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरे पनि यसको नेतृत्व कसले गर्छ, साँच्चिकै थाहा छैन । कसले सम्हाल्छ त्यो पनि थाहा छैन । तर, सामाजिक सञ्जाल हेर्दा उनीहरुको साझा उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ । यो आन्दोलनमा अधिकांश जेनजी पुस्ता चाहीँ सम्भवतः पहिलो पटक सरिक हुँदैछन् । टिकटक लगायतका सामाजिक सञ्जाल तिरको विरोध ट्रेण्ड देख्दा उपस्थिति बृहत हुने देखिन्छ । उनीहरुले माइतीघरको प्रदर्शनलाई नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’, भ्रष्टाचार, बेथिति र अनियमितता विरुद्धको नयाँ संघर्ष नाम दिएका छन् । अहिलेको जेनजी पुस्ता वर्तमान राजनीति, सकारहरुबाट निराश छ, आक्रोशित छ । त्यो भनेको राजनीतिले नेतृत्व गर्ने शासन प्रणालीप्रति पनि निराशा हो । राजनीतिक नेतृत्वले यो कुरालाई गम्भीरतापूर्वक लिन नसक्दा आज जेनजी चुनौती दिने बाध्यकारी अवस्थामा सडकमा उत्रिँदैछन् ।

जेनजी माथि एउटा संगीन आरोप थियो कि उनीहरु मोबाइल लगायत प्रविधिको भुलभूलैयामा सिंगो परिवार,समाज र देश बिर्सिरहेका छन् । आफ्नो जिम्मेवारी, दायित्व भुलिरहेका छन् । तर, सामाजिक सञ्जालमा देशको बेथितिको गहन एजेण्डा लिएर आवाज बुलन्दित गर्दै गर्दा जेनजीले आफूलाई सचेत तप्काको रुपमा उभ्याउन खोजेको प्रतीत हुन्छ । जसका कारण पुराना पुस्ताका नागरिकले पनि जेनजीको आन्दोलनलाई समर्थन जनाइरहेका छन् । जेनजीहरुकै शब्दमा भन्ने हो भने ‘नेताहरुले नेपालीलाई मुर्ख बनाउने उनीहरु अन्तिम पुस्ता ।’ यसको आशय अहिले सम्म हाम्रा सत्ताको बागडोर सम्हालेकाहरुले जे जति अति गरे, यही नै अन्तिम हुनेछ । भलै उनीहरुले सामाजिक सञ्जालमा गरेको चहलपहल जस्तो प्रभाव पार्छ कि पार्दैन ? आजको आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई पनि मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक दल, राज्य व्यवस्थाका पात्र, प्रवृत्तिहरुलाई कडा चुनौती हुन सक्छ । अब कस्ता नेता र नेपाल उनीहरु चाहन्छन् ? त्यो आजको प्रदर्शनले पनि देखाउनेछ । नेतृत्वको पटक पटक बागडोर सम्हालेकाहरुलाई पनि गतिशील समय अनुसार देश दायित्व पुरा गर्न नसकेको गहिरोबोध गराउने छ । यदि बदिलिँदो समयको गतिको बोध र जेनजीको अपेक्षालाई सम्बोधन नगर्ने हो भने अबका शासकलाई त्यो निकै महँगो सावित हुनेछ ।