• २०८३ कार्तिक २, आईतवार
  • 2026 October 18, Sunday

जुट्यो सहमति : प्रतिनिधिसभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

  • २०८२ भाद्र २७, शुक्रबार

काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताएका हुन् । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो ।

राजनीति दलहरुले यही संसद्भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेनजीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन् । काठमाडौंका मेयर बालेन शाहलेसमेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद्भ विघटन भएको बताउँदै आएका थिए ।

त्यसपछि राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिएका थिए ।

  • २०८२ भाद्र २७, शुक्रबार