• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

भकिम्लिका लालबहादुरले उत्पादन गर्नुभयो १३ क्वीन्टल खुर्सानी

म्याग्दी । वैदेशिक रोजगारी त्यागी स्वदेशमै कृषिकर्मलाई रोज्नु भएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले १३ क्वीन्टल अकबरे खुर्सानी उत्पादन गर्नुभएको छ । तीन वर्ष वैदेशिक रोजगारी सकेर फर्किनुभए पछि कृषि कर्ममा लाग्नु भएका पुनले अहिले अकबरे खुर्सानी उत्पादन गर्नुभएको हो । फलफूल तथा तरकारीबालीमा सक्रिय रहनुभएका पुनलाई पछिल्लो पटक बेलायत (युके) जाने भिसा लागेको भए पनि उहाँ विदेशीनु भएन । विदेश जानु सट्टा गाउँमै बसेर कृषि व्यवसाय सुरु गर्नुभएका पुनले फलफूल तथा तरकारी खेती नै अंगाल्दै आउनु भएको छ । युकेको भिसा लाग्दा पनि नजाने भनेर गाउँघरमा धेरैले कुरा काटेको भए पनि अहिलेको कृषि कर्म देखेर आफैलाई खुशी लाग्ने गरेको उहाँले सुनाउनुहुन्छ । तीन वर्ष विदेश बसेँ त्यस पछि का १६ वर्ष यही मेहनत गरेर बसेको छु उहाँले भन्नुभयो । बन्दागोपी बेचेर सकेँ अहिले खुर्सानीको सिजन छ, खुर्सानी पछि किबि हुन्छ उहाँले सुनाउनुभयो ।

लालबहादुरले यस वर्ष उहाँले उत्पादन गरेको अकबरे खुर्सानी १० क्वीन्टल विक्री गरी सक्नु भएको छ । प्रतिकेजी दुई सय रुपैयाँका दरले बिक्री गरेको र अझै पनि करिब तीन क्वीन्टल हाराहारी खुर्सानी टिप्नै बाँकी रहेको अनुमान उहाँको छ । बेनी नगरपालिका ३ भकिम्लि सिममा तीन रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाउनु भएको छ । उहाँले उत्पादन गरेको खुर्सानी म्याग्दी जिल्ला सदरमुकाम बेनी, बागलुङ, पोखरा र पर्वतको कुश्मा तथा बाच्छा लगायतका बजारमा पठाइएको लालबहादुरकी श्रीमती चन्द्रकली छन्त्यालले बताउनुभयो ।

हाम्रो वडामा कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्ने लालबहादुर एक मेहनती व्यक्ती हुन् बेनी नगरपालिका ३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले भन्नुभयो लालबहादुरले आफ्नै घरमा बसेरै परिवार पाल्ने मात्रै नभएर शिक्षादिक्षाका लागि पनि महत्वपूर्ण कार्य गर्दै आफ्नै ठाउँलाई खनीखोस्री गरेर राम्रा आम्दानी गर्ने गर्नुभएको छ । वडा अध्यक्ष पुनका अनुसार लालबहादुरले घरमै बसेर परिवारसहित कृषिमा गरेको मेहनतका कारण वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो, “लालबहादुरले देखाएको उदाहरणले स्वदेशमै पनि राम्रो आम्दानी र सम्मान प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिब बाँस्तोलाले लालबहादुरको खुर्सानीका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको बताउनुभयो । उच्च पहाडी क्षेत्रमा हुने अकबरे खुर्सानी उत्पादनका हिसाबले निकै राम्रो तबरले भकिम्लिमा भएको उहाँको भनाई छ । कृषिका लागि मेहनत गर्नुपर्छ र लालबहादुरले उत्कृष्ट तबरले मेहनत गरेको कारणले नै सफलता हात लागेको बाँस्तोलाको भनाई छ । उहाँले भन्नुभयो खुर्सानी उत्पादन यस वर्ष निकै राम्रो गर्नुभएका लालबहादुरले किबिको उत्पादन पनि राम्रो गर्नेगर्नुभएको बताउनुभयो ।

कृषिसँगै पुनले फलफूल तथा व्यवसायिक खेतीमा पनि रुचि देखाउनु भएको छ । उहाँको बगानमा हाल २५० वटा किवीका बोट रहेका छन् । साथै गाउँमै सञ्चालन गरिएको फर्निचर व्यवसायबाट पनि उहाँले उल्लेख्य आम्दानी गर्न सफल भएको वडा अध्यक्ष पुनको भनाई छ । पुनकी श्रीमती ४२ वर्षीया चन्द्रकली छन्त्याल कृषि तथा घरेलु काममा सक्रिय रहँदै श्रीमानलाई साथ दिँदै आउनु भएको छ । उहाँहरूको १३ वर्षका छोरा र १७ वर्षीया छन् ।

कृषिकर्मबाट आत्मनिर्भर बन्न सफल पुनले आगामी वर्ष उत्पादन विस्तार गरी २० क्विन्टलसम्म अकबरे खुर्सानी उत्पादन गर्ने लक्ष्य राखिने बताउनुभयो । पुन भन्नुहुन्छ गाउँमै बसेर इमान्दारिपूर्वक काम गर्न सके विदेशै जानु पर्छ भन्ने छैन । स्थानीयवासीले पुनजस्ता युवा अवस्थाकै नागरिकहरुले कृषिमा देखाउने सक्रियताले गाउँमा कृषि उद्यमशीलताको वातावरण विस्तार भइरहेको छ ।