• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

कांग्रेसमा सुधारको संकेत र संशय

सम्पादकीय । मूलधारको राजनीतिमा स्थापित भइरहे पनि पुराना राजनीतिक दलहरु चरम बेथितिबाट गुज्रिरहेकै थिए । यस विरुद्ध आन्तरिक र बाह्य स्तरमा असन्तुष्टि र आक्रोश व्यक्त भइरहेकै थिए । तर, उनीहरु सच्चिएनन्, बरु उल्टै नागरिकका जायज आवाज माथि धावा बोलिरहे, मनपरी शासन र दमनमा उत्रिरहे । जसको परिणाम गत भाद्र २३ र २४ को जेनजी आन्दोलनले विद्रोहको रुप लियो । जसबाट पुराना राजनीतिक दल चरम अपमान र भागाभाग सहित किनाराकृत मात्रै भएनन्, मुख्य दलहरु सकिने नै हुन् कि भन्ने अवस्था पैदा भयो । जेनजी आन्दोलनको केही दिन सम्म त कुनै पनि मूलधारका राजनीतिक दलका नेता, कार्यकर्ताहरु टाउको उठाउने हिम्मत सम्म गर्न नसक्ने परिस्थिति थियो । तर, बिस्तारै दलहरु खुल्न त थाले । र, पनि सच्चिने संकेत भने देखिएको छैन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमै महिना दिन सम्म अल्झियो । नेकपा एमाले उस्तै आन्तरिक टकराव र यथास्थितिकै मनस्थितिमा छ । अरु दलहरुमा पनि उस्तै प्रवृत्तिहरुको पुनरावृत्ति भइरहेको छ ।

नेपाली कांग्रेस पार्टी चुनावअघि वा पछि र विशेष वा नियमित महाधिवेशन भनेर दुई महिनादेखि विवादको भुमरीमा फस्यो । अन्ततः लामो विवाद र अन्यौलता पश्चात बल्ल सोमबार आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । अब कांग्रेसले पुस १६ गते वडा अधिवेशन, १७ गते गाउँ–नगर अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्नेछ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्नेछ । प्रदेश अधिवेशन भने पुस २३ र २४ गते हुनेछ । कांग्रेस केन्द्रीय समिति बैठकले लामो छलफलपछि महाधिवेशन कार्यतालिका त ल्याएको छ । यद्यपि, डेढ महिनाको अवधिमा महाधिवेशन प्रक्रिया पूरा गर्न भने त्यति सहज हुने छैन ।

कांग्रेस प्रजातन्त्र, लोकतन्त्रको सबै भन्दा बढी हकदार दाबी गर्ने पार्टी हो । यसकारण पनि यस पार्टी लोकतान्त्रिक विधि, प्रक्रिया र प्रतिस्पर्धालाई जरुर आत्मसाथ गर्न तयार हुनुपर्छ । तर, पछिल्लो समय पार्टीहरु भित्रको गुटगट स्वार्थका कारण अनिर्णयको बन्दी बन्ने र त्यसले सिंगो पार्टी मात्र होइन, मुलुकको राजनीतिक स्थिरतामा समेत खलल ल्याउने अवस्था बनिरहेको छ । यस परिस्थितिमा हालै भएको जेनजी आन्दोलन राजनीतिक दल र नेताहरुका लागि ठुलो पाठ थियो । तर, दुर्भाग्य नेताहरुले यति छिट्टै त्यसको मूल भावना र मर्म बिर्सिन थालिसकेका छन् । र, उही पुरानै रटान र प्रवृत्तिमा रमाउने दुर्भाग्यपूर्ण परिदृश्य अहिले सतहमा छ । नेपाली कांग्रेसले मुख्यतः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष जोडबलमा पार्टीलाई रुपान्तरणको दिशा तर्फ मोडेका त छन् । सुधारको संकेत त देखिएको छ, यद्यपि, कार्यतालिका तय भए पनि महाधिवेशन हुने सुनिश्चिततामा अझै संशय छ । त्यो भने पुराना नेताहरुको स्वार्थ, उल्झन र षड्यन्त्र तोड्न सहज देखिदैन । पार्टी समय सापेक्ष र विधिवत रुपान्तरण गर्ने कार्यमा विलम्ब, बाहनाबाजी नगर्दा स्वयंम् कांग्रेसका लागि फाइदाजनक छ । महाधिवेशनमार्फत नयाँ नीति, विधि र नेतृत्वसहित नवीन ऊर्जाका साथ अघि नबढ्ने हो भने जुनसुकै राजनीतिक दल र नेताहरु अब कामयावी नहुने खतरा व्याप्त छ । समयमै चेतना भया ।