• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

नयाँ अनुहार मध्ये केन्द्रिय सदस्यको दौडमा बागलुङका केसी

  • २०८२ मंसिर २८, आईतवार

बागलुङ । एमालेको केन्द्रीय सदस्यमा यस पटक नयाँ अनुहारहरु समेत मैदानमा छन् । एमालेबाट सुनिता ढंगोल, सुहान नेवाङ जस्ता नयाँ अनुहारको केन्द्रीय सदस्यको लाइनमा बागलुङका हिरा बहादुर केसीसमेत छन् ।

एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य दावी गर्दै आएका केसी ११ औं महाधिवेशन सम्म आउदा केन्द्रिय सदस्यकै आकाँक्षीमा हुनुहुन्छ । यस पटक बागलुङबाट नयाँ अनुहारका रुपमा केन्द्रीय सदस्यको दौडमा हुनुहुन्छ एमाले नेता केसी । नेकपा एमालेलाई संकटको बेला दुई पटक सम्म पार्टी नेतृत्व गर्नु भएको युवा नेता हिराबहादुर केसी यसपटक जसरी पनि पार्टीका केन्द्रीय सदस्य बन्ने दौडमा हुनुहुन्छ । युवा संघको उपाध्यक्षबाट बिदा भएपछि पार्टीको मूलधारको राजनीतिमा केन्द्रीय सदस्यबाट प्रवेश गर्न चाहे पनि विगतमा परिस्थिति अनुकूल नबनेको बताउदै यस पटक नयाँ अनुहार मध्यबाट केन्द्रीय सदस्यको लाईनमा आफू उभिएको केसीले बताउनुभयो ।

२०७८ मा भएको दशौँ महाधिवेशनमा गण्डकी प्रदेश हाँक्न खोजेपनि केसी जिल्ला अध्यक्षको जिम्मेबारी पाउनुभएको थियो । एक पटक चुनावबाट र अर्कोपटक सर्वसम्मत बागलुङ जिल्लाको अध्यक्ष बन्नुभएका केसी संविधानसभा निर्वाचन र २०७९ को संसदीय निर्वाचनमा प्रदेशतर्फ उम्मेदवार बनेर झिनो मतले पराजित हुनुभएको थियो ।

“दुई पटक सम्म पार्टीको निर्देशनमा चुनावी मैदानमा पुगे, जतनाले दिएको मतलाई शिरमा राखेर हिडे नागरिकले सांसद बनाउने सपना पुरा नभएपनि पार्टीको झोला भिरेर नागरिकको सेवा गरे” केसीले भन्नुभयो “यस पटक एमालेमा थुप्रै युवा नेताहरु नयाँ अनुहारका रुपमा केन्द्रीय सदस्यमा आउदैहुनुहुन्छ, बागलुङबाट नयाँ अनुहारमा केन्द्रीय सदस्य दाबी गरेको छु ।”

२०७१ सालमा चर्चामा आएको ‘बागलुङको हिरा एमालेको मोती’ भन्ने नारा २०८२ सालमा साकार हुन्छ, जनताको काममा कहिलै बार्गेनिङ गरिन यस पटक केन्द्रीय नेतृत्व र प्रतिनिधिले स्विकार्छन भन्ने लागेको उहाँको भनाई छ ।

समाजशास्त्र र अंग्रेजी विषयमा स्नातकोत्तर गरेका केसीले पार्टीको उमेर समूहबारे विश्लेषण गर्दै आफू अहिले पार्टीमा बाहुल्यता रहेको ४०–५० वर्ष उमेर समूहमा पर्ने बताउनुहुन्छ । युवाको आकर्षणमा आफू केन्द्रीय सदस्यमा दाबी पेश गरेको उहाँको भनाई छ । धौलागिरी क्याम्पसको नेतृत्व देखि जिल्लाकै दुई कार्यकाल पार्टीको नेतृत्व गरेकाले केन्द्रिय सदस्यमा दाबी राख्न पाउनु आफ्नो अधिकार भएको केसीको भनाई छ ।

  • २०८२ मंसिर २८, आईतवार