नेपाली राजनीतिममा वर्षौदेखि रजगज गर्दै आएका मूलधारका पुराना राजनीतिक दलका शीर्ष नेताहरु भेटघाट गर्नु पनि अनौठो परिघटना जस्तो भइरहेको छ । यही परिवेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भयो । २०८१ असारमा कांग्रेस एमाले गठबन्धनको सरकार बनाउने बेला ओली दम्पति देउवा निवास पुगेका थिए । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि भने गत मंसिर १९ मा महाराजगञ्ज स्थित निवासमा पुगेर भेट गरे । त्यसपछि सोमवार भएको देउवा ओली भेटवार्तामा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको खबर सार्वजनिक छ । सोही दिन राति भएको अर्को एक भेटघाटको खबरले नेपाली समाज र राजनीति बढी तरंगित छ ।
पुुराना दल र नेताहरु प्रति तीव्र असन्तुष्टि र आक्रोश चुलिँदै गर्दा नयाँ वैकल्पिक शक्ति प्रति आकर्षण बढ्न थालेको छ । यसमा नयाँहरु बिच एकताको आवाज बुलन्द बन्दै गएको छ । यही अनुक्रममा सोमवार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहस बिच भेटवार्ता भयो । यसले पछिल्लो समय व्यक्त नागरिकको भावना अनुसार परिवर्तनमा लागेका र वैकल्पिक शक्तिहरूबिचको एकताका लागि संवाद सुरू भएको आँकलन छ । यसबिच बालेनलाई प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाउने र अर्को चुनावमा लामिछानेलाई अघि बढाउने गरी सहमति भएको खबर सार्वजनिक भएको छ । यसमा कति तथ्य छ ? आधिकारिक रुपमा न बालेन, न त लामिछानेले मुख खोलेका छन् । तर, आमसञ्चार माध्यम र मिडियामा अनेकन अनुमानका खबर सार्वजनिक भइरहेका छन् । दिउँसो जेनजी आन्दोलन पछि सत्ताको बागडोरबाट बहिगर्मित र चरम अपमान, कुटपिट र आलोचना खेपिरहेका ओली देउवाको भेटवार्तापछि रवि र बालेन भेट गरेर एउटै गाडीमा बाहिरिएको तस्विरले तरंगित ग¥यो ।
अहिले पुराना र नयाँ राजनीतिक दल बिच तीव्र रस्साकस्सी छ । यो आगामी फागुन २१ मा घोषित निर्वाचन सम्म पुग्दा कुन स्तरमा पुग्छ, घटनाक्रमले कुन मोड लिन्छ ? अहिले नै भन्न हतारो हुनेछ । तर, नयाँ पुराना बिच धुब्रीकरण हुने भने निश्चित प्रायः देखिन्छ । बरु आम चासो र संशय नयाँहरु बिच नै अहिले आन्दोलन पछि जेनजीहरु बिभिन्न समूहमा बिभाजित भए जस्तै विभाजित अवस्थामा पुग्छन् कि भन्ने छ । यदि यस्तो अवस्था भयो भने फेरि पुरानै राजनीतिक दल र नेताहरुको पुनरावृत्ति हुनेछ । अहिले निर्धारित मितिमा चुनाव हुनेमा संशय देखिन थालेको छ । भलै सरकारका तर्फबाट राजनीतिक दलका नेताहरु सँग वार्ता छलफललाई घनिभूत बनाउन खोजिरहेको देखिन्छ । अर्कोतर्फ जेनजीहरु नै निर्वाचनको विपक्षमा सडक प्रदर्शनमा उत्रिन थालिसकेका छन् । पुराना दल नेकपा एमाले र नेपाली काग्रेस जेनजी आन्दोलनको भावना र मर्म विपरित संसद पुनस्र्थापनाको पक्षमा अदालतमा रिट दायर गरिरहेका छन् । अहिलेका यी चार नेताको भेट, ओली देउवाको भेट रक्षात्मक र रवि बालेनको भेट क्षणिक लोकप्रियताका लागि मात्र हो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ ।