सम्पादकीय
गत भाद्र २३ र २४ मा नेपालमा ठुलो विद्रोह भयो । शुरुमा देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रण विरुद्ध जेनजी (१३ वर्षदेखि २८ वर्ष उमेर समूह) प्रदर्शनमा उत्रिएका थिए । तर, उक्त शान्तिपूर्ण भनिएको प्रदर्शन माइतीघरबाट नयाँ बानेश्वर संसद भवन परिसर पुग्दा सम्म एकाएक निषेधित क्षेत्र तोड्ने अवस्थामा पुग्यो । शान्तिपूर्ण सांकेतिक विरोध भनिएको प्रदर्शन कसले र कसरी निषेधित क्षेत्र तोड्ने अवस्थामा पुग्यो ? यसको सरकारले अध्ययन अनुसन्धान गर्ला नै । यद्यपि प्रदर्शनकारीले प्रहरी घेरा तोडेर संसद भवन तोडफोड गर्ने दिशामा तर्फ केन्द्रित भए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाउन थाल्यो । जेनजीको ठुलो भिड सामु प्रहरीले अश्रुग्याँस, पानीका फोहोरा बाहेक गोली चलाएर अवस्था नियन्त्रण लियो । दुर्भाग्य भन्नुपर्छ, साँझ झमक्क पर्दै गर्दा एक पछि अर्को गोली लागेर जेनजी विद्यार्थी र युवाहरुको धमाधम मृत्युको खबर आयो । भोलिपल्ट विहानैदेखि आन्दोलन चर्कियो । नेताहरुको घर आगजनी गर्ने देखि देशभर प्रदर्शन हुन थाल्यो । प्रहरीले संसद भवनदेखि प्रहरी चौकी समेत हात उठाएर छोड्नुप¥यो । सशस्त्र प्रहरी र नेपाली सेनाको अपेक्षाकृत साथ नपाएको प्रहरी निरिह बन्दा सिहंदरबार, संसद भवन, सर्वोच्च अदालत मात्र जलेन, देशभरका कारागारबाट हजारौं कैदीबन्दीहरु भागे ।
भाद्र २४ अपरान्ह तिर प्रदर्शनकारीको भिडले नख्खु कारागार पुगेर रास्वपा सभापति समेत रहेका रवि लामिछानेलाई बाहिर निकाल्यो । लामिछाने मात्र निस्केनन्, कारागारका सबै कैदीबन्दी त्यहाँबाट भागे । त्यसपछि देशभरमा कारागारबाट कैदीबन्दीले विद्रोह गरेर भाग्ने क्रम शुरु भयो । प्रहरीले मात्र सुरक्षा दिन नसक्ने अवस्था पैदा भयो । चाडपर्वको सम्मुखमा जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडेर भागेका कैदीबन्दीका कारण अहिले समाज त्रस्त छ । कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार छन् । बुधबार सम्मको तथ्यांक अनुसार कारागारबाट भागेका मध्ये ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् । यीमध्ये केही आफैं कारागार फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो । रास्वपा सभापति लामिछाने, एमाले नेता टोपबहादुर रायमाझी लगायत कारागार फर्किएका छन् । कैदीबन्दीले बागलुङ कारागारमा पनि विद्रोह गरेर भाग्ने दुश्प्रयास त गरेका थिए । तर, नेपाली सेनाको साथका कारण कोही पनि भाग्न पाएनन् । छिमेकी जिल्ला म्याग्दी र पर्वतका कारागारबाट भने कैदीबन्दी भागेका थिए । गण्डकी प्रदेशमा यस बाहेक तनहुँ र कास्कीबाट भागे । देशभरबाट जम्मा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।
नेपालीहरुको महान पर्व बडादशैं शुरु भइसकेको छ । तर, यही बेला भागेका बिभिन्न जघन्य अपराध र आरोपमा सजाय भोगिरहेका कैदीबन्दीहरुका कारण भयभित अवस्था छ । कारागार कार्यालयहरू तोडफोड तथा जलेर नष्ट भएकाले कैदीहरूको विवरणसमेत जलेकाले अर्को समस्या थपिएको छ । केही भागेका कैदीबन्दी त फेरि बलात्कार र श्रीमती हत्या आरोपमा पक्राउ समेत परिसकेका छन् । कैदीबन्दी समाजमा खुलेआम हिँड्दा सुरक्षा चुनौती मात्रै थपिएको छैन, विदेश भाग्ने जोखिम समेत बढेको छ । युएई, मलेसिया लगायतका देशले नेपाल र नेपालीलाई आफ्नो देशमा वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइरहेका छन् । अरु देशले पनि कडाई गर्ने नीति अख्तियार स्वभाविक हिसाबले गर्नेछन् । यस परिस्थितिमा सरकारले भागेर फिर्ता नआएका कैदीबन्दीहरु कहाँ छन् ? उनीहरुको पहिचान, खोज र सजायका लागि विशेष अप्रेशन चलाउनु पर्दछ । चाडबाडको समय पनि भएकाले देशभर हुन सक्ने आपराधिक घटनाहरु रोक्नका लागि प्रहरीले आफ्नो उपस्थिति र निगरानी बढाउनु पर्दछ । र यस अभियानमा हरेक नागरिकले आफ्नो गाउँ टोल, समाजमा भागेर आएका कैदीबन्दीबारे गोप्य सूचना प्रहरी र सम्बन्धित निकायमा दिएर सहयोग गर्न आवश्यक छ ।
