पृष्ठभूमि
धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ २०१९ साल भदौ २ गते स्थापना भएको हो । यश क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा अभिभावकसँग विशेष अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रत्येक वर्ष भाद्र २ गते मनाइने स्थापना दिवस यस क्याम्पसको इतिहास, उपलब्धि, वर्तमान अवस्था र भावी यात्रालाई पुनरावलोकन गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ । यसै सन्दर्भमा आयोजित “अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस” विषयक अन्तक्र्रिया कार्यक्रमले क्याम्पस र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । विद्यार्थीको शैक्षिक तथा सामाजिक भविष्यका विषयमा अति सान्दर्भिक विमर्श गर्ने वातावरण सिर्जना गरेको छ ।
वि.सं. २०१९ साल भाद्र २ गते तत्कालीन समयका शिक्षाप्रेमी, प्रशासक, बुद्धिजीवी तथा अभिभावकहरूको सक्रिय पहलमा धवलागिरि महेन्द्र इन्टर कलेजका रूपमा स्थापना भएको थियोे । यस शैक्षिक संस्थाले लामो यात्राका क्रममा विभिन्न चरण पार गर्दै वर्तमान स्वरूप प्राप्त गरेको हो। स्थापनाकालमा माध्यमिक तथा उच्च शिक्षाको आवश्यकता पूरा गर्ने उद्देश्यबाट अघि बढेको संस्था आज धवलागिरि क्षेत्रकै प्रमुख उच्च शैक्षिक केन्द्रका रूपमा विकसित भएको छ। यस क्याम्पसको विकासमा स्थानीय समुदाय, अभिभावक, विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा विभिन्न सरोकारवालाको निरन्तर योगदान रहँदै आएको छ।
यो स्थापना दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई क्याम्पसले विगतमा गरेका उपलब्धिको समीक्षा, वर्तमान चुनौतीको पहिचान र आगामी यात्राको स्पष्ट मार्गचित्र निर्माण गर्ने अवसर पनि हो। यस वर्षको अभिभावकसँगको अन्तक्र्रिया यही आवश्यकता पूरा गर्ने उदेश्यमा केन्द्रित रहेको थियोे ।
क्याम्पसको वर्तमान अवस्था र भावी कार्ययोजना
कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले क्याम्पसको वर्तमान अवस्था तथा भावी कार्ययोजनासम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो। अवधारणापत्रमा क्याम्पसले आफ्नो स्थापनादेखि हालसम्म पार गरेका विभिन्न विकासका चरण, शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार, जनशक्ति, अध्ययन अध्यापन, अनुसन्धान, गुणस्तर सुधारका प्रयास तथा भावी योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो।
क्याम्पसले पछिल्लो समयमा विद्यार्थी भर्ना प्रक्रियामा केही सकारात्मक वृद्धि अनुभव गरे पनि देशमा विद्यमान सामाजिक–आर्थिक परिस्थितिका कारण विद्यार्थी पलायनको चुनौती खेप्नु परेकोछ । विशेषगरी उच्च शिक्षा अध्ययन गर्ने उमेर समूहका युवाहरू वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति बढ्दै जाँदा उच्च तहमा विद्यार्थी संख्या घट्ने समस्या निरन्तर रहेको छ। यसले नेपालको उच्च शिक्षा प्रणालीका लागि मात्र नभई स्थानीय तहका शैक्षिक संस्थाका लागि पनि गम्भीर चुनौती सिर्जना गरेको छ।
विद्यार्थी पलायनको प्रत्यक्ष प्रभाव क्याम्पसमा देखिन्छ। विद्यार्थीले देशभित्रै गुणस्तरीय शिक्षा, रोजगारीको अवसर र भविष्य निर्माणको विश्वास प्राप्त गर्न नसकेमा उनीहरू वैकल्पिक गन्तव्य खोज्न बाध्य हुन्छन्। त्यसैले स्थानीय क्याम्पसको भूमिका केवल पाठ्यक्रम पूरा गराउनेमा सीमित नराखी विद्यार्थीलाई सीप, उद्यमशीलता, नेतृत्व, सामाजिक उत्तरदायित्व र स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने दिशामा केन्द्रित हुनुपर्ने देखिन्छ।
भौतिक पूर्वाधार र प्रविधिमैत्री क्याम्पस
धवलागिरि बहुमुखी क्याम्पसले भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय प्रगति गरेको कार्यक्रममा जानकारी गराइएको थियो। आधुनिक उच्च शिक्षाका लागि कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि, खानेपानी, विद्युत् तथा अन्य आवश्यक पूर्वाधारको विकास अपरिहार्य हुन्छ।
विद्युत् आपूर्तिमा देखिने समस्यालाई सम्बोधन गर्न सौर्य ऊर्जाको वैकल्पिक व्यवस्था गर्ने प्रयासलाई पनि सकारात्मक कदमका रूपमा लिन सकिन्छ। यसले क्याम्पसलाई वातावरणमैत्री तथा दिगो ऊर्जाको प्रयोगतर्फ अग्रसर गराउनुका साथै नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ।
क्याम्पसको ऐतिहासिक विकास, वर्तमान अवस्था, विद्यार्थी पलायन, अभिभावकका सुझाव, शैक्षिक गुणस्तर, डिजिटल प्रविधि, स्वरोजगार तथा इन्कुबेसन, मनोविमर्श, सामाजिक उत्तरदायित्व र भावी रणनीतिलाई समेटिएको छ।
आजको उच्च शिक्षा डिजिटल प्रविधिसँग गहिरोसँग जोडिएको छ। त्यसैले डिजिटल पुस्तकालय, ई–लर्निङ, स्मार्ट कक्षा, अनुसन्धानमा डिजिटल स्रोतको प्रयोग, अनलाइन प्रशासन तथा सूचना प्रविधिमा आधारित विद्यार्थी सेवा विस्तार गर्नु क्याम्पसको भावी विकासको महत्वपूर्ण आधार बन्न सक्दछ ।
गुणस्तर प्रत्यायन र शैक्षिक उत्कृष्टता
क्याम्पसले प्राप्त गरेको गुणस्तर प्रत्यायन प्रमाणपत्रलाई सबल बनाउँदै पुनः नवीकरण गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो। गुणस्तर प्रत्यायन कुनै संस्थाको प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामात्र नभई शैक्षिक गुणस्तर, प्रशासनिक प्रभावकारिता, पूर्वाधार, अनुसन्धान, विद्यार्थी सेवा तथा संस्थागत सुशासनलाई निरन्तर सुधार गर्ने प्रक्रिया हो।
यसका लागि क्याम्पस परिवारले गुणस्तरका सूचकहरूलाई नियमित रूपमा मूल्याङ्कन गर्न आवश्यक हुन्छ। विद्यार्थीको सिकाइ उपलब्धि, अनुसन्धान उत्पादन, प्रकाशन, रोजगारयोग्यता, शिक्षकको क्षमता विकास, पुस्तकालयको प्रयोग, विद्यार्थी सन्तुष्टि तथा समुदायसँगको सम्बन्धलाई गुणस्तर सुधारका आधार बनाउन सकिन्छ।
गुणस्तर कायम गर्ने जिम्मेवारी क्याम्पस प्रमुख वा प्रशासनको मात्र नभई प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिसहित सबै सरोकारवालाको साझा दायित्व हो। कार्यक्रमका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले पनि यही सामूहिक उत्तरदायित्वमा जोड दिनुभएको थियो।
विद्यार्थी पलायन : अभिभावकको चिन्ता र क्याम्पसको चुनौती
अन्तक्र्रियामा उठेको सबैभन्दा महत्वपूर्ण विषय विद्यार्थीको बदलिँदो सोच, व्यवहार र वैदेशिक पलायनसँग सम्बन्धित देखिन्छ। नेपालमा युवाहरूमा विदेश जाने आकर्षण बढिरहेको छ। वैदेशिक शिक्षा र रोजगारी आफैंमा नकारात्मक विषय होइन; तर देशभित्र उच्च शिक्षाका अवसर र भविष्य निर्माणका सम्भावना कमजोर हुँदै जाने अवस्था दीर्घकालीन रूपमा चिन्ताको विषय बन्न सक्दछ ।
विद्यार्थीलाई देशमा नै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन शिक्षण संस्थाले नयाँ प्रकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ। परम्परागत व्याख्यानमुखी शिक्षण पद्धतिसँगै उद्यमशीलता, व्यवसाय विकास, नवप्रवर्तन, स्थानीय स्रोतमा आधारित उद्यम, अनुसन्धान, प्रविधि तथा व्यावसायिक सीपलाई शिक्षासँग जोड्नुपर्ने आवश्यकता छ।
अभिभावकहरूले विद्यार्थीको भावना, सोच र व्यवहारमा आएको परिवर्तन बुझेर अध्यापन गर्न सुझाव दिनु यसै सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ। आजको विद्यार्थी अघिल्लो पुस्ताभन्दा फरक सामाजिक तथा डिजिटल परिवेशमा हुर्किरहेको छ। उसको आकांक्षा, सूचना प्राप्त गर्ने तरिका, करिअरसम्बन्धी सोच र जीवनशैलीमा तीव्र परिवर्तन आएको छ। त्यसैले शिक्षण पद्धतिले पनि समयअनुकूल परिवर्तन आत्मसात् गर्नुपर्छ ।
इन्कुबेसन कक्ष र स्वरोजगारको सम्भावना
विद्यार्थीलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ अग्रसर गराउन क्याम्पसमा इन्कुबेसन कक्ष स्थापना गरी विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी कार्यक्रममार्फत दिइएको थियो। यो पहल वर्तमान समयमा अत्यन्त सान्दर्भिक देखिन्छ।
इन्कुबेसन कक्षलाई केवल एउटा भौतिक कक्षमा सीमित नराखी विद्यार्थीका सिर्जनात्मक विचारलाई व्यवसायिक योजनामा रूपान्तरण गर्ने केन्द्रका रूपमा विकास गर्न सकिन्छ। विद्यार्थीले आफ्नो विषयसँग सम्बन्धित अनुसन्धान, स्थानीय समस्या समाधान गर्ने प्रविधि, कृषि तथा पर्यटनमा आधारित उद्यम, डिजिटल व्यवसाय, सञ्चार, सेवा तथा अन्य नवीन व्यवसायिक अवधारणामा काम गर्न सक्ने वातावरण बनाउन सकिन्छ।
स्थानीय बजार, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, स्थानीय सरकार र पूर्वविद्यार्थीको सहयोगबाट विद्यार्थीका उद्यमलाई प्रारम्भिक लगानी, तालिम, परामर्श तथा बजारसँग जोड्न सकेमा इन्कुबेसन कार्यक्रम प्रभावकारी बन्न सक्दछ ।
डिजिटल ग्याजेट र विद्यार्थीको बदलिँदो जीवनशैली
अभिभावकहरूले विद्यार्थीमा डिजिटल ग्याजेटप्रतिको बढ्दो मोहका विषयमा पनि चिन्ता व्यक्त गरेका थिए। मोबाइल फोन, सामाजिक सञ्जाल तथा अन्य डिजिटल उपकरण आधुनिक शिक्षाका महत्वपूर्ण साधन हुन्। तर यसको अनियन्त्रित प्रयोगले विद्यार्थीको अध्ययन, सामाजिक सम्बन्ध, मानसिक एकाग्रता र समय व्यवस्थापनमा नकारात्मक प्रभाव पार्न सक्दछ
त्यसैले प्रविधिलाई निषेध गर्नेभन्दा यसको जिम्मेवार र सिर्जनात्मक प्रयोग सिकाउनु बढी प्रभावकारी हुन्छ। क्याम्पसले डिजिटल साक्षरता, साइबर सुरक्षा, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, डिजिटल अनुशासन तथा सूचना छनोटसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्दछ ।
अभिभावकले माग गरेअनुसार विद्यार्थीका लागि वैचारिक तथा मनोविमर्श कार्यक्रम सञ्चालन गर्नु पनि आवश्यक देखिन्छ। विद्यार्थीलाई केवल परीक्षा र अंकका आधारमा मूल्याङ्कन नगरी उनीहरूको भावना, तनाव, भविष्यको अन्योल, करिअरसम्बन्धी द्विविधा तथा सामाजिक सम्बन्धका विषयमा परामर्श प्रदान गर्न सकेमा शिक्षाको गुणस्तर अझ प्रभावकारी बन्न सक्दछ । विद्यार्थीमा सामाजिक उत्तरदायित्वको विकास
कार्यक्रममा विद्यार्थीलाई सामाजिक दायित्वप्रति जागरुक बनाउनुपर्ने विषय पनि उठेको थियो। उच्च शिक्षा प्राप्त गरेको व्यक्तिले व्यक्तिगत सफलता मात्र होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि बोध गर्नुपर्छ।
यसका लागि क्याम्पसले विद्यार्थीलाई समुदायमा आधारित अनुसन्धान, स्वयंसेवा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सचेतना, मानव अधिकार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्थानीय विकासका गतिविधिमा सहभागी गराउन सक्दछ ।
यसले विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य, समस्या समाधान, अनुशासन तथा नागरिक चेतनाको विकास गर्न सहयोग पु¥याउँछ। यस प्रकारको शिक्षा पुस्तक र कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सिकाइसँग सम्बन्धित हुन्छ।
अभिभावक–क्याम्पस सम्बन्धको महत्व
यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष क्याम्पस र अभिभावकबीच प्रत्यक्ष संवाद स्थापना हुनु हो। उच्च शिक्षामा प्रवेश गरेपछि पनि विद्यार्थीको शैक्षिक प्रगति र व्यवहारिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। तर धेरै अवस्थामा क्याम्पस र अभिभावकबीच नियमित संवादको अभाव देखिन्छ।
अभिभावकले क्याम्पसको अवस्था बुझ्ने र क्याम्पसले अभिभावकको अपेक्षा तथा सुझाव बुझ्ने वातावरण बनेमा विद्यार्थीको हितमा प्रभावकारी सहकार्य सम्भव हुन्छ। यस कार्यक्रमले यही सहकार्यको आधार तयार गरेको छ।
अभिभावक नारायण आचार्यले बदलिँदो परिस्थितिका कारण युवा वर्गमा परेको प्रभाव बुझेर अध्यापन तथा विद्यार्थी व्यवहार व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभएको थियो। त्यस्तै अभिभावक दीपक सापकोटाले विद्यार्थीलाई आफ्नो लक्ष्य आफैं निर्धारण गर्न प्रेरित गर्दै शैक्षिक उन्नयनमा केन्द्रित गराउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
यी सुझावहरूबाट अभिभावकहरू केवल विद्यार्थीको शुल्क वा उपस्थितिसम्बन्धी विषयमा मात्र चासो राख्ने समूह नभई क्याम्पसको शैक्षिक विकासमा सक्रिय साझेदार बन्न चाहेको स्पष्ट हुन्छ।
मानित विश्वविद्यालयको सम्भावना
कार्यक्रममा क्याम्पसलाई मानित विश्वविद्यालयका रूपमा विकास गरी यस क्षेत्रको समग्र शैक्षिक विकासमा योगदान पु¥याउनुपर्ने विचार पनि प्रस्तुत भएको थियो। यो दीर्घकालीन तथा महत्वाकांक्षी लक्ष्य हो। यसका लागि शैक्षिक कार्यक्रमको विविधीकरण, अनुसन्धानको विस्तार, गुणस्तरीय जनशक्ति, पर्याप्त भौतिक पूर्वाधार, संस्थागत स्वायत्तता, आर्थिक स्रोत तथा राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठा आवश्यक हुन्छ।
धवलागिरि क्षेत्रमा लामो इतिहास बोकेको संस्थाका लागि यस्तो दीर्घकालीन लक्ष्यले नयाँ ऊर्जा प्रदान गर्न सक्छ। तर लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न चरणबद्ध रणनीति, स्पष्ट कार्ययोजना, सरोकारवालाको सहकार्य र आवश्यक कानुनी तथा संस्थागत तयारी अपरिहार्य हुनेछ।
आगामी यात्राका लागि केही प्राथमिकता
अब धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो भावी यात्रामा केही रणनीतिक प्राथमिकता निर्धारण गर्नुपर्ने देखिन्छ। पहिलो, विद्यार्थी आकर्षण र टिकाइका लागि बजारमुखी तथा रोजगारमुखी शैक्षिक कार्यक्रम विकास गर्नुपर्छ। दोस्रो, अनुसन्धान तथा प्रकाशनलाई संस्थागत प्राथमिकता दिनुपर्छ। तेस्रो, डिजिटल प्रविधि र आधुनिक शिक्षण विधिको विस्तार गर्नुपर्छ।
चौथो, इन्कुबेसन तथा उद्यमशीलता केन्द्रलाई प्रभावकारी बनाएर विद्यार्थीलाई स्वरोजगारसँग जोड्नुपर्छ। पाँचौँ, विद्यार्थीको मनोसामाजिक अवस्था र करिअर विकासका लागि नियमित परामर्श सेवा सञ्चालन गर्नुपर्छ। छैटौँ, अभिभावकसँग नियमित अन्तक्र्रिया गर्ने प्रणाली विकास गर्नुपर्छ।
त्यस्तै पूर्वविद्यार्थीलाई क्याम्पसको विकासमा जोड्ने, स्थानीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्ने, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सम्बन्ध विस्तार गर्ने तथा समुदायमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने रणनीति पनि उपयोगी हुन सक्दछ।
निष्कर्ष
धवलागिरि बहुमुखी क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित अभिभावकसँगको अन्तक्र्रिया कार्यक्रम केवल औपचारिक कार्यक्रम नभई क्याम्पसको वर्तमान अवस्था, विद्यार्थीको बदलिँदो मनोविज्ञान, वैदेशिक पलायन, डिजिटल प्रविधिको प्रभाव, स्वरोजगार, सामाजिक उत्तरदायित्व तथा शैक्षिक गुणस्तरका विषयमा गम्भीर विमर्श गर्ने महत्वपूर्ण अवसर बनेको छ।
क्याम्पसले लामो ऐतिहासिक यात्रा पार गर्दै प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्दै नयाँ पुस्ताको आवश्यकता र अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने समय आएको छ। आजको विद्यार्थीलाई केवल डिग्री प्रदान गरेर मात्र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउन सकिँदैन। उसलाई ज्ञानसँगै सीप, सिर्जनशीलता, उद्यमशीलता, नैतिकता, असल आचरण, सामाजिक चेतना, नेतृत्व र आत्मविश्वास आवश्यक छ।
यस दृष्टिले अभिभावक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, क्याम्पस सञ्चालन समिति, स्थानीय समुदाय, स्थानीय सरकार, उद्योग–व्यवसाय क्षेत्र तथा पूर्वविद्यार्थीबीचको सहकार्य अझ बलियो बनाउनुपर्छ। अभिभावकले कार्यक्रममा प्रस्तुत गरेका सुझावलाई संस्थागत नीति तथा कार्ययोजनासँग जोड्न सकेमा अन्तक्र्रिया कार्यक्रमको वास्तविक उपलब्धि प्राप्त हुनेछ।
क्याम्पस प्रमुखले प्रस्तुत गर्नुभएको भावी कार्ययोजना, अभिभावकका रचनात्मक सुझाव, स्ववियुको विद्यार्थीकेन्द्रित पहल तथा क्याम्पस सञ्चालन समितिको प्रतिबद्धता एक ठाउँमा जोडिन सकेमा धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो ऐतिहासिक विरासतलाई अझ उचाइमा पु¥याउन सक्दछ ।
धवलागिरि क्षेत्रको शैक्षिक घरोहरका रूपमा स्थापित यस क्याम्पसको भविष्य केवल एउटा संस्थाको भविष्य होइन; यो समग्र धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र आर्थिक भविष्यसँग जोडिएको विषय हो। त्यसैले “क्याम्पस हाम्रो हो” भन्ने साझा भावनाका साथ अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी र समुदाय एकजुट भएर अघि बढ्नु नै यसको दीर्घकालीन सफलताको आधार हो ।
स्थापना दिवसको अवसरमा गरिएको यस प्रकारको अन्तक्र्रियालाई अब नियमित संवाद, सुझाव कार्यान्वयन र परिणाम मूल्याङ्कनको संस्थागत प्रक्रियामा रूपान्तरण गर्न सकिएमा धवलागिरि बहुमुखी क्याम्पसले वर्तमान चुनौतीलाई अवसरमा बदल्दै गुणस्तरीय, प्रविधिमैत्री, अनुसन्धानमुखी, उद्यमशील र समाजउत्तरदायी उच्च शिक्षाको केन्द्रका रूपमा आफूलाई थप स्थापित गर्न सक्नेछ।