• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday

स्वास्थ्यमन्त्री पाठकलाई प्रश्न : को हुन् एमालेका ‘मुरलीलाल’हरु ?

बागलुङ । मुलुकको प्रमुख राजनीतिक दल मध्येको नेकपा एमाले निर्माणमा धेरैको योगदान छ । लाखौँ कार्यकर्ताको संघर्षबाट बनेको नेकपा एमाले पटक पटक सत्ताको नेतृत्वमा पुगेको छ । पहिलो पटक २०५१ सालमा ठुलो दलका रुपमा अल्पमतको सरकार चलाएको एमालेले लोकप्रिय कार्यक्रममार्फत जनताको मन जितेको थियो ।

मनमोहन अधिकारी नेतृत्वको सरकारको लोकप्रियतालाई अहिलेसम्म प्रचार गर्दै आएको एमालेले नै सत्ताको नेतृत्व गरेको समयमा जेन जी विद्रोह भयो । २०८२ भदौ २३ र २४ गतेको विद्रोहबाट नेपाली कांग्रेस सहितका दलहरुसंग मिलेर एमाले नेतृत्वमा बनेको सरकार विघटन भएको छ ।

२०८४ मा हुने भनिएको निर्वाचनसम्मै गठबन्धन कायम राख्ने, त्यसपछि पनि यही गठबन्धनको सरकार बन्ने सम्मको सपना देखेका नेताहरुलाई जेन जी आन्दोलनले झड्का दिएको छ । एमाले नेतृत्वमा भएका कारण र ओलीले अलि बढी अहमता देखाएका कारण एमालेप्रति अलि बढी प्रहार भएको छ । यद्यपी प्रहारको निसाना कांग्रेस, माओवादीका लागि पनि कम छैन, समग्रमा पुराना नेताहरुबाट मुलुक चल्दैन भन्ने निष्कर्ष जेन जी आन्दोलनको रहेको देखिन्छ ।

आन्दोलनका क्रममा ठुलो संख्यामा जनताका छोरा छोरी मारिए, सरकारी र व्यक्तिगत धेरै सम्पत्ती नष्ट भयो । स्वयं एमाले, माओवादी र कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भयो । यति बेला यो समग्र अवस्थाको जस कसले लिने र अपजस कसलाई दिने होडबाजी चलेको छ । एकले अर्कालाई दोष थुपारेर चोखिने प्रयास सबैबाट भएकै छन् ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले त २३ गते २१ जना मारिएको दोष प्रधानमन्त्री र गृहमन्त्रीलाई लगाउने हो भने ५२ जना मारिएको दोष कसलाई ? भनेर प्रश्न नै गरेका छन् । २३ गतेको आन्दोलन थियो, २४ गतेको अराजक विद्रोह थियो । आन्दोलन, सरकार विघटन, नया सरकार लगायतका विषयमा आम जनताका विचमा आ–आफ्ना तरिकाले छलफल टिप्पणीहरु भएका छन् । आजको युग सूचना प्रविधिको युग हो ? आज हामीले गरेका कुनै पनि कामका बारेमा आम मानिसले क्षणभरमै जानकारी पाउछन् र त्यस विषयमा आफ्नो धारणा बनाउछन् । यही कुरा सत्ताको नेतृत्व गरेका दलका नेताहरुले नबुझेका कारण जेन जी का नाममा ठुलो विद्रोह भएको हो ।

 

सामाजिक सञ्जालले दुर दराजमा रहेका जनतालाई सचेत बनाएको छ । त्यही सामाजिक सञ्जाल बन्द गरेको विरोधमा शुरु भएको आन्दोलनले २४ घण्टामा मुलुकका दुइ प्रमुख दलको गठबन्धनमा बनेको शक्तिशाली भनिएको सरकार विघटन मात्रै भएन, सरकारका मन्त्रीहरुलाई सेनाले सुरक्षा दिनु पर्ने, नेताहरु भागाभाग हुनु पर्ने, देशको प्रमुख दलका सभापतिले कुटाई खानु पर्ने जस्ता अत्यन्तै अकल्पनीय घटनाहरु भए ।

यति ठुलो जनधनको क्षति सहित दलहरुका लागि देखिएको चुनौतीपछि विगतमा दलहरुमा देखिएका गलत प्रवृतिहरु अब रोकिन्छन् कि ? भन्ने अपेक्षा जनताले गरेका छन् । तर प्रमुख दलका नेताहरुले सार्वजनिक गरेका धारणाहरुबाट अझै सुधारको संकेत देखिएको छैन । विपक्षीले मात्र होइन, पार्टी भित्रै ठुलो आरोप प्रत्यारोप बढेर गएको छ । नेपाली कांग्रेसमा २ जना महामन्त्रीको अगुवाईमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान शुरु भएको छ, माओवादीमा विशेष महाधिवेशनका लागि केन्द्रीय समिति सहित सबै समिति विघटन गर्ने प्रस्ताव पेश भएको छ । आजदेखि शुरु भएको केन्द्रीय कमिटि वैठकले त्यसमा निष्कर्ष निकाल्दैछ ।

नेकपा एमालेमा पनि भित्र भित्र ओलीको विकल्प चाहियो ? चाहियो, चाहियो ? भनिए पनि औपचारिक रुपमा कुनै फोरममा अझै त्यस विषयले प्रवेश पाएको छैन । घुमाएर, मिलाएर नेतृत्व पुनर्गठनको चर्चा हुन थालेको छ ।

बैंठक भएका ठाउँमा औपचारिक फोरम मार्फत र नभएका ठाउँमा सामाजिक सञ्जालमै नेता कार्यकर्ताहरुमा आरोप प्रत्यारोपले व्यापकता पाएको छ । यसै सन्दर्भमा निवर्तमान सत्तारुढ दल नेकपा एमालेको बागलुङ कार्यक्षेत्र भएका नेताहरुका पछिल्ला क्रिया प्रतिक्रियाहरुले यतिबेला सामाजिक सञ्जाल तात्तिएको छ ।

भदौ २३ र २४ पछि नेताहरु प्राय मौन थिए, करिव एक साता मौन जस्तै बसेका दलका नेताहरु संविधान दिवसपछि अलि खुल्न थालेका छन् । सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म नेताहरुले आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले दुइ दिन अगाडि फेसबुकमार्फत ‘मुरलीलाल’ को प्रसंग उठाए । उनले फेसबुकमा ‘मुरलीलालहरु कुनै एउटा व्यक्तिको विरुद्ध हात धोएर लाग्नु भन्दा आफ्नै बाझो जमिन खनी खोस्री गर्नु नि ?’ भनेर स्टाटस लेखे ।

No description available.

एमालेका तल्लो तहका धेरै कार्यकर्ताले अब मुल नेतृत्वले विकल्प दिनु पर्छ पुस्तान्तरण र रुपान्तरण आवश्यक छ भन्ने गरी स्टाटस लेख्न थाले । पार्टी केन्द्रीय सदस्यहरु, विधान महाधिवेशनमा उपस्थित भएकाहरुले नै पार्टी अध्यक्षले पद छोड्नु पर्छ भन्न थालेपछि पाठकले अध्यक्षको विरोध गर्नेहरुलाई ‘मुरलीलाल’ को उपाधी दिएका हुन सक्छन् ।

उनले एउटा व्यक्तिको विरुद्ध हात धोएर लाग्नु भन्दा आफ्नै बाझो जमिन खनी खोस्री गर्नु भन्दै व्यङ्ग्य गरेका छन् । विगत लामो समयदेखि केपी ओलीलाई धुरी मानेर अगाडि बढेका पाठक राजनीतिक जिवनको उत्तराद्र्धमा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य र स्वास्थ्यमन्त्री बन्न सफल भएका छ्न ।

एक्लै हुदा पनि ओलीको पक्षमा जमेर लाग्ने पाठक यस पटक पनि ओलीको विकल्प छैन भन्ने अडानमा स्पष्ट छन् । एघारौ महाधिवेशनबाट पनि ओली नै अध्यक्ष हुन्, विकल्प छैन भन्ने विषयमा पाठकले आफ्ना धारणा स्पष्ट साथ राख्दै आएका छन् । पाठकले राखेका धारणामा धेरैले प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिने मध्ये धेरैले अब उही पुरानो नेतृत्वबाट पार्टी र मुलुकलाई अगाडि बढाउन सकिदैन भन्ने आसय व्यक्त गरेका छन् ।

उता पार्टीका केन्द्रीय सदस्य, बागलुङ जिल्ला कमिटिका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशसभाका पूर्व सदस्य इन्द्रलाल सापकोटाले सामाजिक सञ्जालमार्फत हामीले विगतमा गरेको गल्ती सच्याउनु पर्छ, सच्चिएर अगाडि बढ्नु पर्छ भन्दै आएका छन् । उनले नेतृत्व हस्तान्तरण आवश्यक रहेको आसय सहितको स्टाटस निरन्तर लेख्दै आएका छन् । उनको स्टाटसमा धेरैले ठिक हो रुपान्तरण आवश्यक छ भनेका छन् भने केहीले ओलीको विकल्प खोज्ने बेला आएको छैन, त्यसो हो भने माथि देखि तलसम्म सबै रुपान्तरण जरुरी छ भनेका छन् ।

No description available.

खासमा कृष्ण पाठक र इन्द्रलालको चाही दोहोरी नै चलेको जस्तो देखिन्छ । कृष्ण पाठकले आज बिहान सामाजिक सञ्जालमा लामै स्टाटस लेखेर संसदीय भूमिका गइसकेकाहरुले अब पार्टी निर्माणको सहयोगी बनौ भन्दै आफुले यही अभियानमा लाग्ने निधो गरेको भन्दै अरुलाई पनि लाग्न चुनौती दिए । उनले आफु अब संसदीय भूमिका नजाने प्रतिवद्धता व्यक्त गर्दै यस्तो लेखेका छन् ।

‘हामी जहाँ छौ त्यहीबाट अभियान शुरु गरौ, बागलुङ जिल्लाबाटै शुरु गरौ । अब हिसाव किताव गरौ । बागलुङ जिल्लामा गाविस अध्यक्ष हुदै तीन तिन कार्यकाल जिल्ला पार्टी अध्यक्ष भएर प्रदेश सांसद समेत हुदै अहिले बहालवाला केन्द्रीय सदस्य खाइरहेको को हो ? हिजो संघीय सांसद भएका र अहिले बहालवाला केन्द्रीय सदस्य खाइरहेका को को हुन् ? हामी बहालवाला प्रदेश सांसदहरु को को हौ ? हिजो पटक पटक जिल्ला अध्यक्ष हुदै नगर प्रमुख भएर हाल केन्द्रीय निकायमा को को छन् ? म पनि पार्टीको प्रमुख पदमा त जान सकिन तर अहिले प्रदेश सांसद र मन्त्री छु ।

अब हामी पार्टी र संसदीय भूमिकामा रहेर काम गरिसकेकाहरुले पुन संसदीय भूमिकामा जान लोभ नगर्ने, संसदीय भूमिकामा अवसर नपाएका अरु साथीहरुलाई उक्त संसदीय भूमिकामा पठाउने साथै हामी हिजो र अहिले संसदीय भूमिकामा रहेर काम गरिसकेका इन्द्रलाल सापकोटा, कृष्ण पाठक, मन कुमारी केसी, लिल बहादुर थापा, गोविन्द नेपाली, सूर्य पाठक र जनक पौडेल पार्टी निर्माणको सहयोगी भूमिका बसौ । म यो अभियानमा लाग्ने निधो गरेको छु । यहाँ त पटक पटक पार्टीको जिल्ला अध्यक्ष भएका, गाविस अध्यक्ष देखि केन्द्रीय सदस्य र प्रदेश सांसद समेत डकारेका साथीहरुले म पेलिए, मलाई पेले, मैले कामै पाइन भनेर डाको छाडेर रोएको देखियो । के हो म पेलिए भनेको ? जिन्दगीभर डकार्न खोजेको हो ? यदी जिन्दगीभर डकार्न खोजेको हो भने त्यो पाइदैन ।’

उनको स्टाटसमा सबै भन्दा बढी इन्द्रलाल सापकोटाप्रति प्रहार गरेको प्रष्ट देखिन्छ । उनले गाविस अध्यक्ष, पटक पटक जिल्ला अध्यक्ष र प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य भएर पनि काम पाइन भन्दै डाको छोडेर रुने गरेको भनेको पात्र सापकोटा नै हुन् । २०५४ मा मालिका गाविसको अध्यक्ष भएका सापकोटा पार्टीका जिल्ला अध्यक्ष भइसकेका छन् भने हाल केन्द्रीय सदस्य र गण्डकी प्रदेशसभाका पूर्व सदस्य भएका छन् ।

No description available.

आजै इन्द्रलाल सापकोटाले स्टाटस लेख्दै भनेका छन्, ‘फेरी भन्दैछु व्यक्तिगत सबाल होइन, आन्दोलनको विषय हो, सबै जिम्मेवार बनौ, बस्तुनिष्ठ समिक्षा, नीति र नेतृत्वमा पुनर्गठन गरेनौ भने आरालो यात्रा निश्चित छ ।’ सापकोटाले नेतृत्व पुनर्गठन र पाठकले नेतृत्वको निरन्तरताको विषयले यतिबेला बागलुङ एमालेमा तरंग सिर्जना गरेको छ । उनीहरु दुवैलाई धुरी मान्नेहरुले आ–आफ्नो पक्षमा वकालत गरेकै छन् ।

सापकोटा पार्टीको जिल्ला अध्यक्ष (त्यतिबेला सचिव) हुदा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव बनेपछि जिल्ला छोडेर काठमाडौं गएका थिए । युवा संघको अध्यक्षमा महेश बस्नेतसंग पराजित भएपछि उनी पार्टीको नवौ राष्ट्रिय महाधिवेशनमा धौलागिरीबाट केन्द्रीय सदस्यमा उमेदवार बने । माधव नेपाल र केपी ओलीबीच खुल्लाम खुल्ला टिम बनाएर भएको निर्वाचनमा उनी माधव नेपालको टिमबाट केन्द्रीय सदस्यको उमेदवार बने । ओलीको टिमबाट उमेदवार बनेका गणेश तिमिल्सिनासंग पराजित भएपछि सापकोटा फेरी जिल्ला फर्किए । आठौ जिल्ला अधिवेशनमा सापकोटा अध्यक्ष र पाठक उपाध्यक्ष बनेर निर्वाचनमा गए, उनीहरु दुवै निर्वाचित भए । माथि जुन सुकै गुट भए पनि जिल्लामा गुट मूर्दावाद, गुटलाई काली गण्डकीमा बगायौ, अब गुट रहित पार्टी बनाउन हामी मिल्यौ भनेर घाटी जोडेका यि दुइ पात्रबीच त्यस यता केही समय सुमधुर सम्बन्ध देखियो ।

०७४ को निर्वाचनमा सूर्य पाठक संघमा र इन्द्रलाल सापकोटा प्रदेशमा उमेदवार भए । त्यसपछि नेकपाको विवादमा पाठक ओलीतिर र सापकोटा माधव नेपाल–प्रचण्डतिर लागे । पार्टी विभाजनको बेला भने इन्द्रलाल केन्द्रमा दश भाईसंगै एमालेमै रहे । त्यसपछि २०७८ मा भएको एमाले बागलुङको नवौ जिल्ला अधिवशेनमा हिरा बहादुर केसी र कृष्ण पाठक अध्यक्षमा उमेदवार बने । अघिल्लो पटक आफुले अध्यक्षमा सघाएको हुनाले सापकोटाले आफुलाई साथ दिन्छन् भन्ने अपेक्षा गरेका पाठकलाई सापकोटाले साथ दिएनन्, उनले हिरा बहादुर केसीलाई साथ दिए, र जिताए पनि । अध्यक्ष मात्रै जिताएनन्, पदाधिकारी सबै सापकोटा खेमाले जितेपछि यि दुइबीचमा शित युद्ध चलीरहेको छ । प्रदेशमा खगराज अधिकारी र केन्द्रमा ओलीको साथ पाएकाले पाठक पार्टीको जिल्ला अध्यक्ष पराजित भए पनि प्रदेश सांसद बने, अहिले उनी स्वास्थ्य मन्त्री छन् ।

यतिबेला इन्द्रलाल सापकोटा ओलीले नेतृत्व छोड्नु पर्छ भन्ने मत राख्छन्, २०७७ पुस ५ गते पछि नेकपाको विवादमा पनि सापकोटा प्रचण्डलाई अध्यक्ष छोडेरै भए पनि नेकपाको एकता जोगाउन पर्छ भन्ने मत राख्थे, यद्यपी प्रचण्ड–माधव नेपालको पक्षमा लागेको आरोपमा आफुलाई निरन्तर खेदिएको गुनासो सापकोटाले कार्यकर्ताहरुसंग गर्दै आइरहेका छन् । नेकपा विवादमा माधव–प्रचण्डतिर केही समय लागेका सापकोटालाई त्यतिबेला मन्त्री बन्ने अवसर आएको थियो, यदी एमाले नभएर एसमा गएको भए उनी मन्त्री बन्थे । त्यस भन्दा पहिला पृथ्वी सुव्वा गुरुङले खास विश्वास नगरेका सापकोटा यतिबेला भने गुरुङका भरपर्दा मानिन्छन् । सापकोटा पार्टी विभाजनका बेला गण्डकी प्रदेशमा एक मात्र नेकपा एसका प्रदेश सभा सदस्य थिए । उनले चाहेको भए, कांग्रेस, माओवादी र एसको गठबन्धन सरकारमा मन्त्री बन्न सक्थे तर उनले मन्त्री पद भन्दा एमाले रोजे ।

माथी ओलीले सर्वसत्तावाद चलाए भन्ने इन्द्रलालहरुले जिल्लामा कसरी चलाएका छन् ? पाठक लगायत ओली समुहको गुनासो रहदै आएको छ । माथि ओलीलाई दोष लगाउने, तल त्यो भन्दा कडा गुट बनाउने ? भन्ने आरोप सापकोटालाई ओली पक्षले लगाउदै आएका छन् ।

पाठकको प्रतिक्रियामा एमाले बागलुङका सचिव गणेश बहादुर थापा मगर, उपसचिव धन बहादुर परियार लगायतका नेताहरुले नेतृत्व पुनर्गठनका विषयमा प्रतिक्रियाहरु जनाइरहेका छन् । झट्ट हेर्दा पार्टीका नेताहरुबीचको जुहारी जस्तै देखिए पनि मुल रुपमा अब सच्चिने कि ? सक्किने ? भन्ने प्रश्नमा छलफल भएको बुझ्न सकिन्छ ।

No description available.

एमालेको केन्द्रमा ओलीको विकल्प छ कि छैन ? अस्ती भदौ २२ गतेसम्म छलफलको विषय नै थिएन, तर जेन जी आन्दोलनले बहस शुरु गरिदिएको छ । गण्डकी प्रदेशमा भने पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको गुट क्रियाशिल छ । बागलुङमा गुरुङको समर्थन इन्द्रलाल सापकोटा र अधिकारीको समर्थन कृष्ण पाठकलाई छ । प्रदेशका दुइ ठुला नेताको आडमा यि दुइ जनाले जिल्लामा निरन्तर गुट चलाएका छन् । आफुलाई फाइदा हुदा पाठक इन्द्रलालसंग मिलेर पद लिएका पनि छन र प्रतिस्पर्धा पनि निरन्तर गरी नै रहेका छन् ।

कृष्ण पाठकले भने जस्तो ओलीलाई नै अध्यक्ष बनाएर जाने कि ? होइन ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु पर्छ, विगतका कमी कमजोरीको सबैले आत्मसमिक्षा गरेर अगाडि बढ्नु पर्छ भन्ने विषयमा हुने छलफललाई सकारात्मक रुपमा लिनु पर्छ । नेताहरुले सार्वजनिक रुपमा व्यक्त गर्ने विषयहरु आम सरोकारका विषय हुन् त्यसकारण भोली संगै काम गर्नु पर्ने सहकर्मीहरुलाई अपशब्द प्रयोग गर्ने कुरामा ख्याल राख्दा नै राम्रो हुन्छ ? ‘मुरलीलाल’ भन्ने नाममा खास समस्या होइन, तर सांकेतिक रुपमा ओली विरुद्ध बोल्नेहरुलाई मुरली बजाएको अर्थमा बुझ्न सकिन्छ । त्यसको प्रतिवाद गर्दा ओलीका ‘मुरलीलाल’ हरु पनि त भन्न सकिएला नि ?

No description available.

बागलुङ एमालेमा गुटको अचम्मको विगत रहेको छ । २०४६ को परिवर्तन पछि कास्कीबाट शिव पौडेललाई ल्याएर पार्टीको नेतृत्व दिइएको थियो । यहाँका नेताहरुको अवस्था कमजोर भएकै कारण होला सायद । त्यसपछि मुस्ताङमा रहेका गणेश तिमिल्सिनालाई ल्याइयो । उनले पनि सचिव भएर काम गरे । त्यसपछि गोविन्द अधिकारी सचिव भए । गोविन्द अधिकारीले विष्णु भण्डारी, मोहनलाल शर्मा, हरि कार्की, बाणिराज कार्की, तोप बहादुर खड्का, राजेन्द्र खड्का लगायतलाई बढी साथ दिन्थे ।

गोविन्द अधिकारी २०५१ मा सांसद भएपछि रामजी शर्मा जिल्ला सचिव भए, एमालेको राजनीतिमा करिव २ दशक रामजी शर्मा नै हर्ताकर्ता भए । उनकै खटन पटनमा नेताहरु सक्रिय भए, श्रीप्रसाद शर्मादेखि जनक पौडेलसम्म, इन्द्रलाल सापकोटादेखि हिरा बहादुर केसी र गोविन्द बहादुर नेपालीसम्म रामजी शर्माकै स्कुलका माष्टरहरु हुन्् । माथि ओली भने पनि जिल्लामा भने कृष्ण पाठक पनि रामजी शर्माकै टिममा थिए । यद्यपी रामजी शर्माले २०७६ मा पार्टी विभाजन हुदा माधव नेपाल झलनाथ खनाललाई रोजे ।

रामजी शर्माले नेतृत्व लिएदेखि बागलुङमा उनकै टिमका नेताहरु जिल्ला अध्यक्ष भएका छन् । श्रीप्रसाद शर्मा, जनक पौडेल, इन्द्रलाल सापकोटा हुदै हिरा बहादुर केसीसम्म । यि चार जना मध्ये कोही २ पटक र कोही ३ पटकसम्म पार्टीको नेतृत्वमा पुगेका छन् । गोविन्द अधिकारीको निधन पछि एमाले बागलुङ रामजी शर्माको नेतृत्वमा रह्यो र अहिलेसम्म रामजीको कोर टिमकै नेताहरु अर्थात २०५४ को विभाजनका बेला एमालेमा रहेकाहरुबाटै पार्टीको नेतृत्व चयन भएको छ । नेपाली कांग्रेसमा विभाजन पछि बनेको पार्टीबाट जिल्लामा दिपेन्द्र बहादुर थापा सभापति बने, केन्द्रमा शेर बहादुर देउवा बनेको अवस्था छ । तर एमालेमा पार्टी विभाजनमा जानेहरुले नेतृत्व गरेको बिरलै इतिहास छ ।

बागलुङमा मोहनलाल शर्मा, नर बहादुर थापा लगायतहरु बामदेव खेमाका, रामजी शर्मा सहितको टिम पहिला माधव नेपाल र पछि झलनाथ खनाल खेमा थिए । विचमा कताबाट उछिट्टिएर कृष्ण पाठक केपी ओली भन्थे । पाठक युनिटी काण्डमा जेल परेपछि बागलुङमा ओली समुह करिव करिव खाली नै थियो ।

सातौ जिल्ला अधिवेशनमा एउटा समुहले रामजी शर्माको टिमसंग बार्गेनिङ गरेर उपसचिवमा मन कुमारी केसीलाई अगाडि बढाएपछि ओलीको टिम पनि बढ्दै गएको हो । युनिटी काण्डमा सफाइ पाएर आएपछि कृष्ण पाठक निरन्तर ओलीको पक्षमा अडान लिदै आएका छन् ।

नवौ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन लागेका मन कुमारी केसी, गोविन्द बहादुर नेपाली, सूर्य पाठक, कृष्ण पाठक, जनक पौडेल, मोहनलाल शर्मा, नर बहादुर थापा, सावित्री राना लगायतका नेताहरु अहिले पनि ओली खेमामा देखिन्छन् ।

आठ जना केन्द्रीय सदस्यहरु मध्ये ६ जना (मना, गोविन्द, सूर्य, कृष्ण, सावित्री र मञ्जु चालिसे) ओलीकै पक्षमा रहेका छन् । लिल बहादुर थापा मगर मौन जस्ता देखिन्छन् । तर केन्द्रीय सदस्यहरु मध्ये एक्ला देखिने इन्द्रलाल सापकोटाको टिमले जिल्लामा निरन्तर नेतृत्वमा कब्जा जमाउन सफल भएको छ ।

गुटको लडाई माथि जति भए पनि, जति किनारामा पारे मलाई भनेर सापकोटाले गुनासो गरेपनि जिल्लामा उनले चाहेका, उनले भनेका, उनले आर्शिवाद दिएकाहरु नै नेतृत्वमा आएका छन् । विगतमा चुनावसम्म हुने गरेकोमा दशौ जिल्ला अधिवेशनमा त चुनाव बिनै सर्लक्क सापकोटा प्यानल चुनिएको थियो ।

यतिबेला ओलीको विकल्प खोज्नु हुदैन भन्ने केन्द्रीय सदस्यहरु धेरै छन्, बागलुङका ८ मध्ये ६ जना एकातिर हुदा सापकोटा भने विकल्प खोज्ने भन्दै दिन प्रतिदिन सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । सापकोटाको धारणामा असहमत भएका पाठकले स्पष्ट रुपमै आफ्नो धारणा सार्वजनिक गरेका छन् भने सूर्य पाठक र गोविन्द नेपालीले सांकेतिक रुपमा त्यसको जवाफ दिइरहेका छन् । उनीहरु दुवैले धैर्य रहन आव्हान गर्दै आएका छन् ।

पार्टीको आन्तरिक जिवनमा दुइ लाइन संघर्ष जरुरी हुन्छ । एमालेमा नीति र नेतृत्वमा विमती थिएन, तर जेन जी आन्दोलनले नीतिमा सुधार र नेतृत्वमा हस्तान्तरणको माग गरेको धेरै कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गर्ने धारणाबाट बुझ्न सकिन्छ । केन्द्रीय नेताहरु मध्ये पोलिटव्यूरो सदस्य लिल बहादुर थापा मगर र मन कुमारी केसी, केन्द्रीय सदस्य कृष्ण केसी, सावित्री राना र मञ्जु चालिसेले स्पष्ट रुपमा आफ्नो धारणा राखेको पाइदैन । यद्यपी थापा बाहेकले ओलीको विकल्प अहिले खोज्न नहुनेमा सहमत देखिन्छन् । बागलुङबाट केन्द्रीय सदस्य हुने मध्येका एक इन्द्रलाल सापकोटा भने खुलेरै नेतृत्व पुनर्गठनको पक्षमा छन् ।

No description available.

पार्टी अध्यक्ष हिरा बहादुर केसी यतिबेला सामाजिक सञ्जाल मार्फत सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । संविधान दिवसका दिन पार्टी कार्यालयमा साइनबोर्ड राख्दै गर्दा उनले जेन जीको आन्दोलनले युवा पुस्तालाई राजनीति र राज्यसत्तामा अगाडि बढाउन प्रेरित गरेको बताएका थिए । आन्दोलनका क्रममा घुसपैठ भएर सार्वजनिक र निजी सम्पत्ती जलाइएकोमा आक्रोश पोखेका केसीले आन्दोलनकारीको भावना विपरित यस्ता काम गर्नेहरुलाई राज्यले कार्वाही गर्नु पर्ने बताएका थिए ।

मुलुक यतिबेला रुपान्तरणको संघारमा छ, पार्टीहरुले लामो समय शासन सत्ता चलाएकै हुन्, जनतामा आशा जगाउने, युवाहरुलाई राजनीतिमा आकर्षण गराउने भन्दा पनि शक्तिको दम्भ देखाउने, कमजोरहरुलाई हेप्ने प्रवृतिका कारण समस्या सिर्जना भएको हो । यस्तो बेलामा पार्टीहरु आपसी खिचातानी होइन, समन्वय, सहकार्य र संयमताका साथ अगाडि बढ्नु पर्छ ।