सम्पादकीय
नेपाली समाज सामाजिक, सांस्कृतिक, धार्मिक हिसाबले निकै सुन्दर र विविधतायुक्त छ । यहाँ हरेक दिनजसो कुनै न कुनै जाती,समुदायको चाडपर्व आउँछ । यसमध्ये नेपाली हिन्दु धर्मालम्बीहरुको दशैं पछिको दोस्रो ठुलो चाड तिहार यतिबेला सुरु भइसकेको छ । यमपञ्चकको सुरुवात सँगै तिहार सुरु हुन्छ । सूर्य पुत्र यम आफ्नी बहिनी यमुनाको घरमा बसी दैनिक कार्यबाट छुट्टी लिएकाले यो पाँच दिन यमराजसँग सम्बन्धित छ । त्यसैले काग, कुकुर, गाई, गोरु र भाइ तिहार गरी पाँच दिन धूमधामसँग मनाइने गरिन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नेदेखि देउसी–भैली खेल्नेसम्मको परम्पराले तिहारको रौनकता र महत्व बढाइरहेको छ । यो पर्व देश भित्र मात्र नभई विदेशका नेपाली बिच पनि उत्तिकै महत्वका साथ मनाइन्छ ।
तिहार उज्याला पर्वको रुपमा स्थापित छ । यो पर्व मनाउनुका विशेष अर्थ छन्, जसरी अन्य पर्वका छन् । मानिसलाई शुभ, अशुभ शकुन बताउने र वरिपरिको वातावरण सफा गरिदिने कागलाई सम्मान स्वरुप यमपञ्चकको पहिलो दिन काग तिहार मनाइने गरिन्छ । पृथ्वीका अन्य प्राणीको समेत अस्तित्व स्वीकार गर्ने र जैविक विविधताका हिसावले सबै जीवजन्तुको संरक्षण र सम्मानका हिसावले पनि कागको सम्मान उचित मान्न सकिन्छ । मालिक र घरको सुरक्षा गर्ने, चोरीका सामान पत्ता लगाउने जस्ता काममा निपूर्ण कुकुरको महत्वलाई बोध गर्दै पूजा गर्ने प्रचलन छ । खेतिपातीका लागि ठूलो सहयोगी बन्दै आएका गोरुको सम्मान स्वरुप मनाइने तिहारले नेपालीको कर्मप्रतिको विश्वास उजागर गर्छ । यही दिन गाईको गोबर जम्मा गरी गोबद्र्धन पहाड बनाई गोबद्र्धन पूजासमेत गरिन्छ । गोरु सँगै दूधमार्फत् भान्सा रमाइलो तुल्याइदिने, खेतिपातीका लागि मल उपलब्ध गराउने राष्ट्रिय जनावर गाई पनि नेपाली समाजमा परापूर्वकालदेखि नै पुज्य छ । अतः यमपञ्चकको तेस्रो दिन गाई तिहारका रुपमा गाईको पुजा गरिन्छ । तिहारकै बिचमा विशेष दीपावली गर्ने र धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । यस अवसरमा खेलिने देउसी भैलोले तिहारलाई उत्सवमय बनाउँछ । धनकी प्रतीक लक्ष्मीको पूजाले भरिपूर्ण तुल्याइदिने विश्वास एकातिर छ भने अर्कोतिर भैली खेल्न आउनेलाई दिइने दान–दक्षिणाका कारण प्राप्त आशिषले सुख, शान्ति र धन सम्पत्ति वृद्धि हुने विश्वास छ । तिहारको अर्को महत्वपूर्ण दिन भनेको भाइटीका हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, सयपत्री मखमली फूलको माला लगाइदिएर सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्छन् ।
तिहार र यस्तै सामाजिक, सांस्कृतिक पर्वहरुले नेपाली समाजको आपसी सद्भाव, भाइचारा र एकतालाई जिवन्त राखिरहेको छ । तिहार पर्वले धेरै अर्थमा नेपाली जनजीवन, संस्कृति र पहिचानसँग सामीप्यता राख्छ । तर, पर्वका नाममा हुने विकृति, विसंगति, भड्किला तथा असान्दर्भिक पक्षमा भने सुधारको जरुरी छ । पश्चिमी, पाश्चात्य संस्कृति या अरु कसैको देखासिकी भन्दा पनि आफ्नै क्षमता, हैसियत, परम्परा र संस्कृति अनुसार चाडपर्व मनाउनु पर्दछ । बरु समय सापेक्ष हिजोका परम्परा संस्कृतिहरु आजको समयमा अस्वभाविक छन् या लाग्छन् भने त्यसमा परिष्कृत, परिमार्जन र सुधार आवश्यक हुन सक्छ । नेपाली समाजको मौलिक चाडपर्व, संस्कार संस्कृतिलाई सबै नेपालीले हार्दिकताका साथ मनाऔं । तिहार पर्वको तपाईँ सम्पूर्णमा हार्दिक शुभकामना !
