• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday

कालीगण्डकी नदीमाथिका हस्तक्षेप रोक्न व्यानर प्रदर्शन

  • २०८३ बैशाख ३, बिहीबार

बागलुङ  ।  विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ । नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ । विगत देखिको कालीगण्डकीको क्रुर दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाई दिएको छ र कालीगण्डकीजस्तो जन्मेदेखि मरेसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको क्रुर दोहनका विरुद्द आफूले व्यानर प्रदर्शन गरेको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताए । कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी (क, ख) करिडोर सडक संजाल तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कन विना खोलिएका दर्जनौं क्रसर उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेकोमा उनी चिन्ता व्यक्त गर्छ्न ।

भन्छन — ‘नदीमाथि जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्धाको चपेटामा कालीगण्डकी नदी परेको छ, यसलाई बचाउनु मानव सभ्यता बचाउनु हो । अहिले ‘बाँध र ड्राइभर्सनको कुरा उठिरहेको छ’, यो अतिका विरुध्द सबै एकजुट हुनुको विकल्प छैन ।’ नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ। सर्वोच्च अदालतको आदेशमा ठाडो अवहेलना गरिएको छ । नदी ऐन/ नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहनका कारण मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत/ मूल मुहान, जलथल सङ्कटमा परेका छन । सैयौंको संख्यामा खोलिएका यस नदी तटीय क्षेत्र (८ सय १४ किमि)का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको छ भन्दै नदीमाथिको हाल भैरहेका सम्पूर्ण हस्तक्षेप विरुध्द आवाज बुलन्द गर्न र साझा र स्वायत्त जनअधिकारको लडाइँमा जोडिन सम्पूर्ण गण्डकी/ लुम्विनीबासी नागरिकहरूमा अभियानले अपिल र अनुरोध गरेको छ ।

मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएकाको यस नदीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको हुनाले नदी गहिरो बन्दै गएको र यसको जलाधार झनै तल गएर नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या सिर्जना भइरहेको छ । शालग्राम शिला कौडीको गिटीमा परिणत भएका छ्न । नदीले ठूलो मात्रामा धार परिवर्तन गरेको छ भने जथाभावी सञ्चालित नदीजन्य पदार्थको उत्खननका कारणले गर्दा शालिग्रामको अस्तित्व (विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन् ।) सङ्कटमा पर्दै गएको छ । धर्मघाटहरू पूर्ण विस्थापित छ्न, विज्ञप्तिमा भनिएको छ । कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोर अन्तर्गत आसपासका खोल्साखोल्सी, वनजङ्गल- चउर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ ।

जताततै डाँडा पहाडहरू विरूप वनेका छन् । अधिकांश क्रसरहरू जिल्लाका नेता, पालिका प्रमुख, कर्मचारी र व्यवसायीहरूको संयुक्त लगानीमा चलेको कारण कानुन मिच्ने कुरा यहाँ सामान्य बनेको संरक्षणकर्मी आरके अदीप्त गिरी बताउँछ्न । कालीगण्डकी नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुबैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । त्यसैगरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई पनि निकै आस्थाले पुज्ने गरिन्छ । कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरी, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् ।

कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् । सप्तगण्डकी नदी प्रणालीका नामले समेत चिनेने कालीगण्डकीका सात वटा मुख्य सहायक नदीहरुमा त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौँदी पर्दछन् । सयौँ प्रकारका वनस्पति कालीगण्डकीको जलप्रवाहकै कारण जीवित छन् । कालीगण्डकी क्षेत्रको आफ्नै धार्मिक, सांस्कृतिक र पारिस्थितिक प्रणाली छ । त्यस प्रणालीलाई बिथोलियो भने पनि हाम्रो जीवन संकटमा पर्न सक्छ भन्ने बुझाइ आम नागरिकमा नहुँदा यस नदीले ठूलो संकट झेलिरहेको छ । कालीगण्डकीको जुन किसिमको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहासलाई नास हुने तरिकाले जथाभावी दोहन गर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने, बाँध बाध्नेजस्ता गतिविधिलाई राज्यले कठोरताका साथ नियन्त्रण गर्नुपर्छ ।

आज कालीगण्डकीक बहाब क्षेत्रमा वैध अवैध गरी सयभन्दा बढी क्रसरहरू चलिरहेका छन् । तिन सयभन्दा धेरै फिरफिरे उद्योगहरू छन् । दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएका छ्न । यी क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा पनि छैनन । यसले पनि देखाउँछ कालीगण्डकी दोहनको जालो कत्रो छ भनेर । प्रकृति दोहनमा नेताहरूको आशीर्वाद प्राप्त टोली जमेर लाग्दै आएको छ । अधिकांश पत्रकारहरू अवैध व्यवसायीहरूका छत्रछायामा बाँचिरहेका छन् । कालीमाथि भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि सधैं मौन छ / बस्छ । चोर पुलिसको खेल खेलिरहेको छ । एकाध मान्छेको स्वार्थ, लाभ र दादागिरीका लागि कालीगण्डकी नदीले अहिलेको संकट झेल्नु अभियानलाई कदापि स्विकार्य नभएको गिरी बताउँछ्न ।

‘अलिकति पनि विवेक र नैतिकता भइदिएको भए जनप्रतिनिधि, कर्मचारी, दलाल, तस्कर, माफिया र व्यवसायीहरूको यो कार्टेलले यसरी प्रन्ध लाख मानिसको आश्रयस्थल बस्ने / बाँच्ने सभ्यताको सूचक नदीलाई दोहन/ उत्खनन गरेर यहाँको पर्यावरण ध्वस्त पार्ने थिएनन । यत्रो अपराध भइरहँदा टुलुटुलु हेरेर बस्ने तपाईं हामी ‘मुर्दा’ नागरिकहरू पनि त्यो विनाशका लागि कम जिम्मेवार छैनौं। तसर्थ अब जुट्ने/ जाग्ने भनेको सचेत सजग नागरिकहरू नै हो’ गिरीले सार्वजनिक अपिल गर्छ्न । अभियानले विगतमा अनेक पल्ट दोहन विरुद्ध डेलिगेसन जाने, उत्खनन गर्ने डोजर कब्जा गर्ने, पर्यावरणीय र्‍याली निकालेर विरोध गर्दै आएको थियो । तर, हामीले गर्दै आएको ध्यानाकर्षण, खबरदारी र सिर्जनात्मक विरोधले राज्य तहका शासकसम्म आवाज नपुगेकाले अब अभियानले विरोधको स्वरूप परिवर्तन गर्दै छिट्टै विविध कार्यक्रम सहित ‘कालीगण्डकी मार्च’ गर्ने उद्धोष गरेको छ ।

  • २०८३ बैशाख ३, बिहीबार