बागलुङ । बजार झरेर एक दम्पतीले तरकारी खेती गरेर उदाहरण बन्नुभएको छ । बागलुङको काठेखोला गाउँपालिका –३ धम्जाबाट बागलुङ बजार झरेर भाडाको जग्गामा तरकारी खेती गरेका छन्त्याल दम्पतीले मनग्य आम्दानी गर्न सफल भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा छन्त्याल दम्पतीले ६ वर्षदेखि बेमौसमी र मौसमी तरकारी उत्पादन गरेर मनग्य आम्दानी लिनुभएको छ कला र गणेश छन्त्याल ।
पाँच रोपनी जग्गा भाडामा लिएर छन्त्याल दम्पतीले बेमौसमी तरकारी तथा तरकारीका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । जग्गाको वार्षिक ६० हजार भाडा तिरेर उनिहरुले तरकारी खेती गर्दै आउनुभएको छ । ‘छन्त्याल कृषि फर्म’मा टमाटर, काउली र बन्दा लगायतका तरकारी फलेका छन् ।
श्रीमान गणेश छन्त्याल भारतीय सेनाबाट अवकाश भएपछि श्रीमान–श्रीमती मिलेर कृषि कर्ममा लाग्नुभएको हो ।
उहाँको फर्ममा पाँच वटा प्लाष्टिक टनेलमा तरकारी उत्पादन भइरहेको छ । तरकारी बेचेरै वाषिएक नौ लाख कमाई गर्ने गरेको कला छन्त्यालले बताउनुभयो । अहिले पाँचवटा प्लास्टिक टनेलमा काउली, ब्रोकाउली, बन्दा, टमाटर लगायत बेमौसमी तरकारी उत्पादन तथा बिक्रि भइरहेको छ । अहिले ‘सरिता’ जातको टमाटरको उत्पादन भइरहेको छ ।
गणेश छन्त्यालले कृषि पेशामा खट्न सक्नेले राम्रो आम्दानी गर्ने बताउनुभयो । बजारमा कौशी खेतीका रुपमा काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरेर बिक्रि गर्दा राम्रो नाफा हुने बताउनुहुन्छ ।